संगीतले विद्यार्थीलाई अब्बल बनाउँछ

कुन्ती मोक्तान, गायिका

‘माथि–माथि सैलुंगेमा चौँरी डुलाउनेलाई’, ‘निष्ठुरी मायालु’, ‘खुट्टा तान्दै गर’, ‘सुनकै भाउ छ सुन्तला भारीको’…। सूची बनाउने हो भने निकै लामो हुन्छ यस्ता गीतको, जो कुन्ती मोक्तानको मनमोहक स्वरमा रेकर्ड भएका छन् । भावुक भन्दै गाउनेदेखि छमछमी नाच्नेसम्मका शास्त्रीय, लोक र आधुनिक गीतमा उनले स्वर दिएकी छिन् । उनी गाउने मात्रै होइन, गायन शिक्षणमा पनि उत्तिकै सक्रिय छिन् । काठमाडौं उपत्यकाका झन्डै एक दर्जन विद्यालयमा संगीत शिक्षण गर्ने उनकोे संगीत र शिक्षाबारे आफ्नो धारणाः

गायिका हुँ, त्यसैले सधैँ गाइरहन्छु । पुराना गीत पनि गाउँछु र नयाँ सिर्जना गरिएका पनि । कति गीत मलाई मन पर्छन्, कति स्रोता दर्शकलाई । तीन दशकदेखि गाइरहेकी छु, बाचुन्जेल गाउँछु ।

नाम चलेकादेखि चल्ने क्रममा रहेका धेरै कलाकार नेपालबाट पलायन भइसके । कोही नेपालमै भए पनि नभएजस्तै छन् । तर, मलाई चाहिँ नेपालबाहेक अर्को भूमि रोज्नुपर्ला जस्तो लागेको छैन । तथापि नेपालमा टिकिरहन सक्नु भनेको पनि ठूलो चुनौती बनिसकेको छ ।

मैले गायनलाई स्टेज कार्यक्रम, टिभी, रेडियोमा मात्र सीमित राखेकी छैन । म जहाँ पनि गाउँछु, कहिले गाएर पैसा पाउँछु, कहिले धन्यवाद र स्याबासी । कलाकार भनेपछि सबैका हुन्छन् । म पनि सबैकी हुँ । म आफैँभित्र मात्र सीमित हुन सक्दिनँ । सबैले आफ्ना ठानेका हुन्छन् कलाकारलाई । त्यस्तोमा म पनि पर्छु । त्यसैले म बच्चा, बूढा, युवा सबैकी हुँ । मैले गाउने गीत पनि सबैकै लागि हुन्छन् । त्यसैले पनि होला, मलाई मानिसले भनेजस्तो नेपालमा टिक्न गाह्रो छ भन्ने लाग्दैन । किनकि म आफू मात्रै गाउँदिनँ, अरूलाई पनि गाउन सिकाउँछु । विशेषगरी विद्यार्थी भाइबहिनीहरूलाई ।

काठमाडांै उपत्यकाका करिब एक दर्जन विद्यालयका विद्यार्थीलाई संगीत चिनाउँछु, गायन सिकाउँछु । मैले सिकेको जानेको पनि यही हो । यसले मलाई असाध्यै खुसी पनि दिएको छ । एउटा गायिकाले गाएरै कमाउन पाउनु भनेको हाम्रो जस्तो देशमा ठूलो सफलता हो भन्ने लाग्छ । नभए पैसाका लागि अन्य काम गरेर गायनलाई अघि बढाइरहेका संघर्षशील कलाकार धेरै छन् यहाँ । कोही संघर्ष गर्दै गाउन बिर्सन्छन्, कोही त विचलित नै हुन्छन् । त्यस्तोमा म भने विद्यार्थी भाइबहिनीसँग हरेक दिन रमाइरहेकी हुन्छु ।

विद्यार्थीको भविष्य निर्माणका लागि शिक्षक नै गतिलो हुनुपर्छ
संगीतको कक्षा अरू विषयको भन्दा फरक हुन्छ । नेपाली, सामाजिक शिक्षा, विज्ञान, अंग्रेजी आदि विषय कक्षाका सबै विद्यार्थीले उत्तिकै मन पराउँछन् भन्ने हुँदैन । हरेक दिन सबैको ध्यान खिच्न सधैँ हम्मेहम्मे पर्छ शिक्षकलाई । सबैको ध्यान खिच्ने प्रयासमा पैँतालीस मिनेटको समय चिप्लिहाल्छ । त्यसो हुँदा पढाउनुपर्ने कुरा छुट्ने डर शिक्षकलाई सधैँ भइरहन्छ । त्यसैले कोर्सका कुराहरू पढाउने ध्याउन्नमै हुन्छन् शिक्षक । कतिले बुझे, कतिले बुझेनन् जान्ने बेला भनेको परीक्षा हो । धेरै पास भए धेरैले बुझे, नभए थोरैले । अनि एउटा विद्यार्थीको मूल्यांकन त्यही परीक्षाले गर्छ । र, त्यही परीक्षाले शिक्षकको पनि मूल्यांकन गर्छ ।

यस्तोमा व्यावहारिक गुणस्तरीय पढाइ कसरी सम्भव हुन्छ ? गणित विषयका शिक्षक सूत्रैसूत्र र क्यालकुलेसनका कुरा गर्छन्, विज्ञान विषयका शिक्षक पनि उही विज्ञानकै कुरा रटाउँछन् । यस्तोमा विद्यार्थीलाई उनीहरूका बारेमा बुझाउने, उनीहरूलाई सुझाउने कसले, कहिले ? कसरी उभिनुपर्छ, सानासँगको व्यवहार कस्तो हुनुपर्छ, ठूलालाई मान गर्ने कसरी ?
घरको टेबलमा खाना खाँदा के के ख्याल गर्नुपर्छ भन्नेजस्ता कुरा उनीहरूलाई कसले र कहिले सिकाउने ? अभिभावक भन्ठान्छन्– सबै कुरा स्कुलले सिकाइहाल्छ नि । स्कुलले भन्ठान्छ– त्यस्ता कुरा त अभिभावकले सिकाइहाल्छन् नि, हामीले त पढाउने मात्र हो । भनिठान्ने यो क्रममा विद्यार्थी कोराको कोरै रहन्छन् ।

हाम्रा सबै अभिभावक पढेलेखेका हुँदैनन्, उनीहरू आफ्ना सन्तानको पढाइलेखाइमा सहयोग गर्न सक्ने खालका पनि हुँदैनन् । तर, शिक्षक त पढाउने सिकाउने क्षमता राख्छन् । त्यसैले विद्यार्थीको भविष्य निर्माणका लागि शिक्षक नै गतिलो हुनुपर्छ जस्तो लाग्छ । विद्यार्थीहरू त फरक फरक क्षमतास्तरका हुन्छन् । क्षमता पहिचान गरेर उनीहरूको विकासमा सहयोग गर्ने मुख्य भूमिका शिक्षककै हो । त्यसैले शिक्षकमा धैर्य हुनु जरुरी छ ।

संगीतले विद्यार्थीलाई अनुशासित बनाउछ
जब संगीत सिकाउन कक्षामा पस्छु, विद्यार्थीहरू ज्यादै उत्साहित भएको पाउँछु । सबैजना गीत गाउन हात उठाउँछन् । उनीहरूले मेरो उपस्थितिको कदर गरेको महसुस गर्छु । मलाई मन पराएको भन्ने मीठो अनुभूति गर्छु । संगीतमा सुर, ताल मिल्नुपर्छ । म हरेक कक्षामा स्वर अभ्यास गराउँछु । विद्यार्थीसँग अनुशासनको विषयमा कुरा गर्छु । संगीतमा अनुशासनको महइभ्वबारे चर्चा पनि गर्छु । एउटा गीत गाउन सुरु गरेपछि त्यसको अन्त्य गर्नैपर्छ । यही अनुशासन र आचरण संगीतकर्मीमा हुनुपर्छ । संगीत सिकेका विद्यार्थी अनुशासित हुन्छन् भनेर विद्यार्थीलाई अनुशासनबारे सम्झाउँछु ।

अनुशासनहीनले राम्रो गाउनै सक्दैन, राम्रो संगीत सिर्जना गर्नै सक्दैन । त्यसैले संगीतले विद्यार्थीलाई अनुशासित बनाउँछ । संगीतले विद्यार्थीमा एकताको भाव पनि जगाइदिन्छ । समूहमा गाउँदा सबैले मिलाएर गाउनुपर्छ । त्यसैले नआउनेलाई राम्रो गाउनेले सिकाइदिन्छन् । आफू र आफ्नो देशप्रति सदाचारी बन्न पनि संगीतबाट सिक्छन् विद्यार्थीले । राष्ट्रिय गीतहरू सिकाउँछु, अर्थ बताउने गर्छु, कमसेकम मेरो कक्षामा विद्यार्थीलाई देशको कुरा गर्ने मौका मिलोस् भन्ने कोसिस गर्छु ।

चुनिएका विद्यार्थीलाई मात्र सिकाउने कुरामा मेरो खासै सहमति रहँदैन । किनकि जहाँ पनि छानिएका भनेपछि टाठाबाठा विद्यार्थी नै पर्छन् । संगीत सबैको लागि हो । यसले जसलाई पनि प्रभाव पार्न सक्छ ।

म सपना देख्छु कि मैले सिकाएका विद्यार्थीहरू नेपाली गीत मन पराऊन् । नेपाली कलाकार चिनून्, राम्रा गीत र नराम्रा गीतहरू छुट्याउन सकून् । उनीहरू राम्रा स्रोता बनून् अनि उनीहरूबाटै भविष्यमा राम्रा कलाकार पनि जन्मियून् । पहिले–पहिले त म आफ्ना गीत मात्रै सिकाउँथे । तर, अचेल बच्चु कैलाश, नातिकाजी, नारायण गोपाल, तारादेवीजस्ता पुराना पुराना कलाकारका गीत पनि सिकाउँछु ताकि उनीहरूले पुराना कलाकार चिनून् । मलाई यसो गरिरहँदा ज्यादै गर्व लाग्छ । म अनुशासित नागरिक निर्माणको प्रयासमा छु । नेपालको सांगीतिक संसार अझ विराट् बनाउने अभियानमा छु ।

संगीतले नै हाम्रो परिवारलाई एकसूत्रमा बाँधेको छ
म दार्जलिङमा जन्मेँ, १२ सम्मको पढाइ उतै गरेँ । सानैदेखि संगीतमा रुचि राख्थेँ । १५ वर्षकी हुँदा पहिलोपटक अल इन्डिया रेडियोमा गाएकी थिएँ । १८ वर्षकी हुँदा रेडियो नेपालमा गाएँ । त्यसपछि मेरो सांगीतिक यात्रा निरन्तर अगाडि बढ्यो । आजको दिनमा म, श्रीमान् शिलाबहादुर मोक्तानलगायत मेरा दुवै छोरीहरू शीतल र सुवानी नेपाली सांगीतिक क्षेत्रमा छौ“ ।

दुवै छोरीले एमबिए सके । दुवैजना काम पनि गर्छन्, गीत गाउँछन्, नयाँ–नयाँ सिर्जना गर्छन् । हाम्रो सांगीतिक परिवार भएकोमा गर्व पनि गर्छौं । संगीतले नै हाम्रो परिवारलाई एकसूत्रमा बाँधेको छ, अनुशासित र लगनशील पनि बनाएको छ ।

ध्यान गर्ने विद्यार्थी अब्बल
विद्यार्थीलाई राम्रो बनाउन पहिला आफैँ राम्रो बन्नुपर्छ भन्ने लाग्छ । मबाट मेरा विद्यार्थीले राम्रा कुराहरू सिकून् भन्ने चाहन्छु । त्यसका लागि मैले पनि सिकेको हुनुपर्छ र त्यसलाई व्यवस्थित रूपमा ‘ट्रान्सफर’ गर्न जान्नु पनि पर्छ । कुनै पनि विद्यालयको स्तर मापन त्यहाँका शिक्षकहरूको शिक्षणमा निर्भर हुने हुँदा शिक्षक क्षमतावान्, असल भए भने कुनै पनि विद्यालय नराम्रो, कोही विद्यार्थी खराब हु“दैनन् । त्यसैले शिक्षकको भूमिका अहं रहने कुरामा दुईमत छैन ।

संगीत एउटा साधना हो, योग अनि ध्यान हो । जुन विद्यार्थीहरू यो ध्यान गर्छन् निःसन्देह उनीहरू अध्ययनमा पनि अब्बल भएका उदाहरण थुप्रै छन् । विद्यालयमा संगीत कक्षाको व्यवस्थाले विद्यार्थीको मानसिक, चारित्रिक विकास हुने कुरामा विश्वास गर्छु ।

:407 Views

Leave a Reply