संविधान दिवसको उपलक्ष्यमा जिल्ला ब्यापी वक्तृत्वकला प्रतियोगिता, भक्तपुर निस्ट प्रथम

भक्तपुर, २ असोज । संविधान दिवस २०७५ को उपलक्ष्यमा मोडर्न बोर्डिङ स्कुलले भक्तपुर जिल्ला व्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ‘संविधान देशको मूल कानुन तथा संविधान कार्यान्वयन आजको आवश्यकता’ भन्ने शीर्षकमा गरिएको उक्त प्रतियोगिता सुर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाज्यूको प्रमुख आतिथ्यता र मोडर्न स्कुल तथा कलेजका संस्थापक अध्यक्ष बाबुकाजि कसपालको सभापतित्वमा सम्पन्न भएको थियो । प्रतियोगितामा भक्तपुर निस्ट स्कुलका मोहित कुवर प्रथम भएका थिए । प्रतियोगितामा वागेश्वरी स्कुलका अस्मिता लोक्चन तामाङ र सुवर्ण के.सी क्रमश द्वितीय र तृतीय र काठमाडौं वर्ड स्कुलका ऐन दर्शन श्री रियालले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि थापाले बिद्यार्थीहरूको वक्तव्य सुन्दा हाम्रा विद्यार्थीहरूले संविधानबारे राम्रोसँग बुझेको अनुभुति गर्न पाउँदा साह्रै हर्षित भएको बताएका थिए । संविधान राम्रोसँग कार्यान्वयन भएको देश समृद्धि तिर लागेकोले हामीले पनि समृद्ध नेपाल, समृद्ध जिल्ला, समृद्ध नगरपालिका बनाउन संविधान पालना गर्नुपर्ने र संविधानको मर्म अनुसार हामी लाग्नुपर्ने बताए ।
यस्तै मोडर्न स्कुल तथा कलेजका संस्थापक अध्यक्ष र प्रतियोगिताका सभापति बाबुकाजि कसपालले जसरी आमा बुबाले आफ्ना सन्तति सबैको संधै सुख, शान्ति र समृद्धि चाहन्छ त्यस्तै यो संविधानले पनि सबै नेपालीको यस्तै चाहेको बताए । संविधान नेपालीको फुलबारी हो । सबैमा बैरभाव नराखी, मेलमिलाप गरेर यसमा छाती फुलाउँदै, आत्मसाथ गर्दै, छातीमा ढुङ्गाको शिलाको अक्षर जस्तै लेखेर, सुन्दर बगैंचाको फूल जस्तो कोमल हृदय लिएर, यसलाई सबैमा बाढ्न सकौं, सबैलाई फलाउन, फुलाउन सकौं, राष्ट्रको उन्नति गर्न सकौं र यो संविधान साँच्चै जीउँदो संविधान भनेर संसारलाई देखाउन सकौं यही शुभकामना छ भनी शुभकामना व्यक्त गरे ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्नेलाई आयोजक मोडर्न स्कुल र कलेजले शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । प्रतियोगिताको निर्णायक भुमिका काठमाडौं स्कुल अफ ल का उप प्रध्यापक लक्ष्मी सापकोटा र लक्ष्मी बखाड्योले निभाएका थिए ।

:652 Views

Leave a Reply