सत्ययुगीन गुरुप्रति हार्दिक श्रद्धासुमन: गुरु हुनु त गम्भीरमान मास्केजस्ता

डा. सुशील ताम्राकार / इमानको अर्को नाम हो गम्भीरमान । पैसाको कहिले लोभ गर्नु भएन । बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी ७ बजे देखि १० बजेसम्म घरमा पढाउनु हुन्थ्यो । ३ महिना चानचुन उहाँकोमा पढ्न जाँदा कसैसित पैसा माग्नु भएन । महिना कट्यो कहिल्यै भन्नु भएन । दिएको पैसा नि गन्नु हुन्नथ्यो । एक एक पैसा गरि स्कूलको जीर्ण भवन बनाउन पुग्दो पैसा जम्मा गर्नु भयो । एक बिराट व्यक्तित्व, जसले जिन्दगीको ६० वर्ष निरन्तर पढाउनु भयो ।
समादरणीय गम्भीरमान सरबारे केही भन्नअघि म आफ्नोबारेमा केही खोल्न आवश्यक ठान्दछु । म जन्मेको हुर्केको थातथलो राजधानीकै केन्द्र थियो । शैक्षिक, सांस्कृतिक र व्यापारिक क्षेत्रको केन्द्र बिन्दू थियो । मल्लकालीन युगमा त राजपरिसर संधियार । ३–४ सय मिटरको दूरीमा दुई दुईवटा हाइस्कूल थिए र अद्यापि छन् पनि । र पनि आफ्नो सन्तानलाई पढाउनुपर्छ भन्ने चेतना सतही मात्र थियो । स्कूल पठाउनु भनेको ‘नव फेशन हो, पढे पढ्छन्, नपढे आ–आफ्नो व्यवसाय गरिखान्छन्’ भन्ने धारणा ब्याप्त थियो । म त्यही माहौलमा हुर्केँ बढेँ, स्कूल गएँ । पास भएँ । म किन विद्यालय गएँ ? न मलाई थाहा थियो न मेरा अभिभावकहरूलाई । घरायसी कलहपछि  एकबाट दुई कक्षा पढ्दै मा ‘ड्रप आउट’ भएँ । पढ्न पाएन भनेर कुनै बिस्मात थिएन, मात्र ‘हाफ टाइम’मा खेल्न नपाइएला भन्ने बालसुलभ चिन्ता थियो ।
घरको आन्तरिक महाभारतको युद्ध बिराम, हाम्रो परिवार मात्र संयुक्त परिवारबाट छुट्टिने शर्तमा भयो । त्यसै बखत किन हो कुन्नी मेरी आमालाई लाग्यो – यी भुराभुरीहरूलाई स्कूल भर्ना गरिदिनु पर्छ । अहिले आमा हुनुहुन्न तर सोच्छु – आमालाई यो दिव्य ज्ञान कहाँबाट आयो ? आमाले सँग्लो अक्षर पनि चिन्नु हुन्न, न त मामा खलकमा नै कोही स्कूल गएका थिए । एकदुई पैसाले भरिएको दुई माटोको खुत्रुके फोडेर प्राप्य जायजेथा खर्चेर हामी ५ दाजुभाइ र दिदीहरूमध्ये दिदी, म र भाइ स्कूल भर्ना भयौँ ।
हामी किन स्कूल गैराख्या थियौँ शायद हामीमध्ये कसैलाई थाहा थियो । न उद्देश्य थियो न त गन्तब्य । बस, आयो गयो, सक्यो । मात्र ट्यामपास । पिताजी अस्वस्थ हुनु अनि आम्दानीको स्रोत केही नहुनुले दाइ र मेरो काँधमा अजंगको कमाइको पहाड थियो । दिदीले पनि स्कूल छोड्नु भयो, लथालिङ्ग घर सम्हाल्न । बिहान बेलुकी हातमुख जोड्न नङ्ग्रा खियाउनु अनि स्कूल को ६ घन्टा बिश्राम, मेरो लागि जिन्दगी त्यति थियो ।
जसोतसो ७ कक्षा पास भएपछि हाइस्कूल जानु पर्यो । ७ सम्म पढाइ हुने स्कूलबाट अन्त भर्ना हुनु थियो । अनेक जुक्ती लाएर कमाउ काम गर्न अल्छी म, साथीभाइ भर्ना हुन जाने स्कूल विश्व निकेतन हाइस्कूल, त्रिपुरेश्वरमा फाराम भरेँ । पहिलो पल्ट भीडभाडलाई ‘फिल्टर’ गर्न प्रबेश परीक्षा लिने भयो । सात पास गरेकोलाई केको डर भन्दै जाँच दिन गएँ । एकै दिन १–१ घन्टाको ३ परीक्षा । गणित, अंग्रेजी र नेपाली । गणित अलि सजिलो लाग्थ्यो, सबै गरियो । अंग्रेजीमा नेगेटिभ सेन्टेन्स के हो भन्ने थाहा नपाएर ट््वाँ परियो । नेवारी र नेपाली त दाजुभाइ हो भन्दै कनिकुथी नेपालीमा विद्वता छाँटियो ।
त्यही ३ घन्टा जाँचको दौरान एक जना टाई सुट लाएको चिल्लो अनुहार भएको सर बेला बेलामा जाँच हलमा आउनु हुन्थ्यो । मनमनै कल्पेँ (गम्भीरमान हेड सर भन्ने उहाँ नै होला ।) हो मैले गम्भीरमान सरको पहिलो दर्शन त्यैबेला गरेँ । मलाई न पढ्नुको मतलब न सरहरूको । कथा कहानीको कुनै अर्थ थिएन । आउँदा हरफहरूमा तिनै गम्भीर स्वभावका गुरु गम्भीरमान मास्के सरको कथा कहन गैराख्याछु ।
भनिहालेँ, त्यति बेला मेरो लागि न गुरुको अर्थ थाहा थियो न त गोरुको । आठ पढ्न थालेपछि हाम्रो धरातल थाहा भो । न अंग्रेजीमा कुनै आधार थियो न त नेपालीमा । भाषामा पकड नभैकन कुनै पनि विषयमा राम्रो गर्न नसकिने रैछ । आफ्नो नामको समेत शुद्ध हिज्जे थाहा थिएन । सामान्य व्याकरणसमेत आफ्नो बसको विषय भएन । हाम्रो सौभाग्य भन्नु पर्छ, नेपाली र अंग्रेजीमा राम्रा गुरु गुरुमाहरूको गुरुकुलमा पढ्न सिक्न पाइयो । अब भने पढाइ रुचिको विषय भयो । ‘होमवर्क’ सुरुचि भयो । कारणबस कुनै क्लास खाली भएको सुइँको पाउनासाथ टाई सुट लाएका शालीन व्यक्तित्व क्लासमा आउनुहुन्थ्यो र जिन्दगीको प्रारम्भिक ज्ञानको आख्यान भन्नुहुन्थ्यो । साह्रै नरम, बोलाईमा गरम गरम कुरा गर्नुहुन्थ्यो । शरीर र मनभित्र आगो बल्थ्यो । सार हुन्थ्यो ‘जिन्दगीमा केही गर्नु पर्छ, केही गर्नको लागि पढाइ राम्रो गर्नु पर्छ’ ।
तिमीहरूमा क्षमता छ, प्रतिभा छ, अलिकति मेहेनत गर्नु पर्छ । महाकवि देवकोटाको ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ वाक्यांश दोहर्याउँदै ‘गर्ने भनेको अहिले हो । डु अर डाइ’ भन्नु हुन्थ्यो । हामी एकतमासले कहानी सुनिरहन्थ्यौँ । लाग्थ्यो, जीवन नभएको शरीरमा जीवन संचार भो, बाँच्नुको अर्थ बल्ल बुझेँ जस्तो, नाच्नुको ताल बल्ल सिकेँ जस्तो । यसरी १ वर्ष वित्यो । जिन्दगीमा कहिल्यै तेस्रोसमेत नभएको ‘म’, अप्रत्याशित, अचानक, अद्भूत ढंगले परीक्षामा प्रथम भएँ । चारवटा सेक्सनका चार सय चानचुन विद्यार्थीहरूमध्ये सर्वप्रथम भएँ । ढङ्ग नभए नि दङ्ग थिएँ । ९ कक्षाको मौसम सुरु के भएको थियो, गम्भीरमान सर आउनु भयो कक्षामा । क्लासको फस्ट, सेकेन्ड र थर्ड कोको भनेर सोधनी भयो । घोसेमुन्टो लाएर उभियौँ । ‘तिनैजना स्कूल छुट्टी भएपछि मेरो रुममा आउने, कुरा गर्नु छ’ भनेर निम्ता दिएर जानु भयो । निम्ता हो कि चिन्ताको चिम्टा, मुटु बेसमारी धकधक गर्यो ।
पालैपालो हेड सरको कोठामा बोलाइयो । पाले दाइलाई बोलाएर सबैलाई चिया ल्याइदिन भन्नुभयो ।
उहाँले सबैभन्दा पहिला घर परिवार, पढ्ने वातावरणबारे बुझ्न खोज्नु भयो । सबैले बताएपछि उहाँले अर्ति उपदेश दिनु भएन वातावारण सहज बनाउनु भयो । मेरो काकाको दांैतरी, सँगै गुच्चा खेलेको संस्मरण सुनाउनु भयो र भन्नु भयो ‘तिमीमा देशकै उत्कृष्ट विद्यार्थी हुने क्षमता छ, तिमीलाई थाहा नहुन सक्छ । कस्तुरी मृगलाई नाभीको कस्तुरीको सुगन्ध थाहा नपाए जस्तै । आफैले आफूलाई चिन्नु, आफूलाई दबावमा नराख्नु, चन्द्र छुने सपना लिनु, म हर सम्भव सहयोग गर्छु ।’ उहाँ भावुक हुँदै भन्नुभयो ‘मेरो सपना हो तिमीहरू कोही पनि फेल नहोऊन्, तिमीहरूमध्ये कसैले एसएलसीमा बोर्ड फस्ट ल्याएको हेर्न चाहन्छु । मलाई सहयोग गर ।’ १३– १४ वर्षको केटो, जिन्दगीको अर्थ, लक्ष्य अनि सपना केही नभएको । लाग्यो म पनि क्रमशः सपना देखूँ ।
एक नाम कहलिएको स्कूलको हेड मास्टर, आफ्नो विद्यार्थीसँग याचना गर्दै गरेको दृश्य शायद दुनियाँमा अर्को कुनै क्यामेरामा कैद भएन होला । सपना त हाम्रो हुनु पर्ने, राम्रो डिभिजनमा पास होऔँ भन्ने । जिन्दगीमा पहिलो पल्ट बाँच्ने, अरुको सपनामा नाच्ने गम्भीर मान्छे देख्दै थिएँ । हेड सरहरू कडा हुन्छन्, अजङ्गका हुन्छन्, थुरुथुरु काँप्ने खालका हुन्छन् आदि रौद्ररूप विगतको अनुभव र कथा कहानीको थियो । यो भेटघाटपछि नजर बद्लियो, नजरिया बद्लियो ।
यति धरातलीय गुरु पनि यो कलियुगमा हुन सक्दछ भन्ने विश्वास गर्न गाह्रो हुने, तर हामीले प्रत्यक्ष देखिरहेका थियौँ ।
पढाउने तौरतरिका बेग्लै, व्याकरणसँगसँगै जीवनजगतका व्याकरणहरू सिकाउनु हुन्थ्यो । मान्छे भएर मान्छे भएरै मर्न सक्नु पर्छ भन्नुहुन्थ्यो । मेहेनत गर्न दिनदिनै खुराक दिनु हुन्थ्यो । एसएलसीको रिजल्ट भयो, विश्व निकेतनको रिजल्ट फेरि शान्दार निस्क्यो । अग्रज दाजु पारसनाथ शर्मा, बोर्डको चौथौं हुनु भयो । एक नम्बरले तेस्रो हुन सक्नु भएन । सदा झैँ खाली क्लासमा सर आउनुहुन्थ्यो – पारसले जस्तै रिजल्ट निकाल्न तिमीहरू सक्षम छौ, बिन्ती मेहेनत गर भनेर हात जोड्नु हुन्थ्यो । यति धरातलीय गुरु पनि यो कलियुगमा हुन सक्दछ भन्ने विश्वास गर्न गाह्रो हुने, तर हामीले प्रत्यक्ष देखिरहेका थियौँ ।
कक्षा पनि सकियो । फेरी एक पल्ट सर्वप्रथम भएँ । त्यतिन्जेल हाम्रो पढाइमा आशातीत प्रगति भैसकेको थियो नै । ९ मा हुँदै नै त्यति बेला आयोजना हुने सबै जस्तो निबन्ध प्रतियोगितामा अग्रज बद्री मानन्धरसँग जान थालेको थिएँ । बद्रि दाजुले सबै जस्तोमा गोल्ड मेडल जित्नु भयो । कक्षा १० को सुरुवातमै कमला पुरस्कार निबन्ध जानु पर्यो । बद्रि दाजुको बिरासतलाई कायम गर्दै स्वर्ण पदक मेरो भागमा पर्यो । अंग्रेजीको व्याकरण विषय चाहिँ गम्भीर सरकै भागमा पर्यो । पढाउने तौरतरिका बेग्लै, व्याकरणसँगसँगै जीवनजगतका व्याकरणहरू सिकाउनु हुन्थ्यो । मान्छे भएर मान्छे भएरै मर्न सक्नु पर्छ भन्नुहुन्थ्यो । मेहेनत गर्न दिनदिनै खुराक दिनु हुन्थ्यो । त्यतिबेला ऐश्वर्य शील्ड हिज्जे प्रतियोगिता हुन्थ्यो । विश्व निकेतन एक मात्र सरकारी स्कूल हो जसले २ पल्ट ऐश्वर्य शील्ड जितेको छ ।
त्यतिबेला बोर्डिङ स्कूलहरूको दबदबा थियो । त्यो साल पनि भाग लिने भयो स्कूलले । विद्यार्थी छनौटको लागि सूचना जारी भयो, मैले आफ्नो नाम लेखाइनँ । हाफ टाइमपछि सरको क्लास थियो, ‘तिमीले किन नाम नलेखाएको ?’ भनी सोध्नु भयो । मलाई खासमा इच्छा नै थिएन, अरु विषयमा नि ध्यान दिनु थियो, सपना त मेरो पनि बोर्डमा उडान हाल्ने भइसकेको थियो । मैले, खास कारण केही छैन भनेर टालें । सरले ‘हैन छनौटमा सामेल हुनु, केही नभए पनि दुईचार शब्दको ज्ञान हुन्छ, जिन्दगी भर काम लाग्छ’ भन्नु भयो र लुरुलुरु खुरुखुरु नाम लेखाउन गएँ ।
हेड सरको आग्रह टाल्न सकिनँ । छनौटमा भाग लिएँ । अनेक चरणको छनौट पार गर्दै भाग लिने अन्तिम ४ मा पुगेछु । युद्धमा होमिएपछि हार मान्नु हुन्न भन्ने भावनाले शायद काम गरेको हुनु पर्छ । हैन भने ममा कुनै रुचि थिएन स्पेलिङ्ग घोक्ने कुरामा । त्यो बेलामा नामुद बोर्डिङ् स्कूलहरू (बुढानिलकण्ठ, सेन्ट जेभियर्स, सेन्टमेरिज, ल्याबोरेटरी स्कूल, आनन्दकुटी, मेहन्द्र भवन, महेन्द्र आदर्श विद्याश्रम, कन्या स्कूल लैनचौर आदिबीच एउटा बागमती घाटको सरकारी स्कूल प्रतिस्पर्धामा उत्रियो । सेन्ट मेरिजबाहेक सबलाई हराउँदै हामी फाइनलमा पुग्यौँ । फाइनलमा सेन्ट मेरिज, जेभियर्स, भानुभक्त मेमोरियल र हामी थियौँ । निश्चित रूपमा हाम्रो अंग्रेजीको पृष्ठभूमि  बोर्डिङ् स्कूलमै दिग्गज कहलिएकाहरू सामुन्ने बौना नै थियो । तर हामीसँग गम्भीर सर हुनुहुन्थ्यो, उहाँको विश्वास थियो र हाम्रो मेहेनत थियो । शील्ड उचाल्न सकेनौँ भने पनि दोस्रो त हुन्छौँ भन्ने विश्वास थियो, अठोट थियो । मञ्चमा उभिन अघि हामीले हेड सरलाई भन्यौँ ‘हामी चुत्था हुनलाई यहाँ उभिने छैनाँै’ र हामी दोस्रो भयौँ, रानी ऐश्वर्यको हातबाट सिल्भर मेडल पायौँ । गम्भीर सर निकै गम्भीर देखिनुहुन्थ्यो सुरुमा, अन्तिम चरण पुग्दा हामीले देखिरहेका थियौँ –सरको चेहरामा ज्योति प्रकट भैराखेको ।
टेस्ट परीक्षा सुरु हुन लाग्दा मभन्दा बढी हेड सर चिन्तित देखेँें । एक दिन क्लास सकेपछि अफिस आउनु भन्नु भो । ‘तिम्रो तयारी कस्तो छ, स्कूलले धेरै ठूलो आशा गरेको छ तिमीबाट, केही समस्या छ भने भन्नु, सक्दो सहयोग गर्नेछु ।’
‘तयारी गर्दैछु, विस्तारै आत्मविश्वास जगाउँदैछु, आशा छ ३ महिना मैले निरन्तर मौका पाएँ भने मैले देखेको सपनालाई सदृश्य हेर्नेछु ।’
‘३ महिना ? किन ?’
‘हुन त अहिले पनि तयारी गर्दैछु तर घरको चुलो दाइ र मेरो पसिनाबाट  बल्छ । ३ महिना मैले घरकोबारे सोच्नु नपरे मेरा सपनाहरू दिनमै देख्न थाल्नेछु । तर म आफै भन्न सक्दिनँ । सरले यसो साउती गर्दिने हो भने घरमा कसैले नाइँनास्ती गर्दैनन्’ मैले आफ्नो समस्या निसंकोच भनिदिएँ ।
त्यसको भोलिपल्ट सर साँझको सात बज्दो हो साइकिल गुडाउँदै आउनु भयो । हजुरबाको ज्यासलमा सबै भेला भए ।
‘यो केटोले कुलको इज्जत राख्ने छ । योसँग प्रतिभा छ क्षमता छ । अलिकति तयारी गर्ने मौका दिनु पर्छ । ३ महिना यसलाई पढाइमा स्वतन्त्र छोडीदिनु । गोरखापत्रमा नाम निकाल्छ यसले ।’
एकजना विद्यार्थीको समस्या समाधान गर्न घरघर चहार्दै हिँड्ने हेड मास्टर यो युगमा कहाँ भेटिएला र ? सरको आगमनको असर, त्यसको भोलिपल्टदेखि मलाई दाइले तैले काम गर्नु पर्दैन, तैले मात्र गर्न सक्ने केही काम गर्दे, बाँकी पुरै टाइम पढ्नमा लगाउनु भन्नु भयो । के खोज्छस् कानो ? चस्मा भने जस्तै भो । टेस्ट सकियो, फेरी पनि प्रथम भएँ ।
अब भने पूर्ण तयारीमा लागेँ । अंग्रेजीमा तयारी गर्न हेड सरकै शरणमा गएँ । पहिलो दिनको ट्युशनमै सरले भोलिदेखि विहान हैन बेलुकी ९ बजे आउनु भन्नु भयो । बेलुकी ९ बजेको समुह त्यो बेलाका दिग्गज बोर्डिङ स्कूलका होनहार छात्रहरू मात्र थिए । एक से एक बोर्ड आउन लायक र नायक जस्ता ।
एस एल सी सकियो । आफूलाई राम्रो गरेँ जस्तो लाग्यो नै । तर देशभरिका विद्यार्थीहरू मभन्दा राम्रा धेरै हुन सक्दछन् । कति छन् त्यो मलाई थाहा छैन तर पनि आशा जिउँदो राखिराखेँ । एसएलसीको रिजल्ट भयो । गोरखापत्रमा नाम निस्कियो । एउटा साझा सपना जो मैले देखेको थिएँ, जो गम्भीरमान सरले देख्नु भएको थियो, जो अरु मेरा आदरणीय सर मिसहरूले देख्नु भएको थियो– त्यो साकार भएको दिन थियो ।
यी माथिका राम कहानी त्यसै लेखेको हैन । सत्ययुगको किम्बदन्ती थाहा छैन तर द्वापर युग र तेत्रायुगमा पनि गुरुहरू स्वार्थी थिए ्र द्रोणाचार्य जस्ता विख्यात गुरुले पनि आफ्नो शिष्य एकलब्यको औंला मागे । आफूभन्दा अघि बढ्ला भनेर इष्र्यामा कुण्ठित भए । तर यो घोर कलियुगमा, यो द्वापयुगमा गम्भीरमान सर भेटेँ जसले कसैसित केही माग्नु भएन । दिनु मात्र भयो । मजस्ता हजारौं विद्यार्थीहरूलाई जिन्दगी दिनु भयो । जन्मिनु, हुर्किनु, बाँच्नु मात्र जिन्दगी हैन । जाँचमा लेख्नु पर्ने ज्ञान त पुस्तकहरूमा पनि हुन्छन्, जिन्दगी बुझ्ने ज्ञान त्यसले मात्र दिन सक्छ जोसँग कुनै स्वार्थ हुन्न ।
इमानको अर्को नाम हो गम्भीरमान । पैसाको कहिले लोभ गर्नु भएन । बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी ७ बजे देखि १० बजेसम्म घरमा पढाउनु हुन्थ्यो । ३ महिना चानचुन उहाँकोमा पढ्न जाँदा कसैसित पैसा माग्नु भएन । महिना कट्यो कहिल्यै भन्नु भएन । दिएको पैसा नि गन्नु हुन्नथ्यो । एक एक पैसा गरि स्कूलको जीर्ण भवन बनाउन पुग्दो पैसा जम्मा गर्नु भयो । एक बिराट व्यक्तित्व, जसले जिन्दगीको ६० वर्ष निरन्तर पढाउनु भयो । यहाँ निर प्रसङ्ग सान्दर्भिक होला नै– शायद इतिहासमा पहिलो पल्ट होला, अवकाशको उमेर हुँदा मन्त्रिपरिषदको विशेष निर्णयद्वारा पुनः २ वर्ष म्याद थप भयो । सरसँगसँगै सरका दौंतरी नेपाल आदर्श हाइस्कूलमा हेड सर हरिशंकर श्रेष्ठको पनि योगदानलाई कदर गर्दै म्याद थप भयो । हामी ९ पढ्दा पढदै गम्भीर सर अमेरिकाको अबलोकन भ्रमणमा जानु भएको थियो । पछि थाहा पाइयो – तत्कालीन शिक्षा मन्त्री केशरबहादुर बिष्टको विशेष आग्रहमा अमेरिका जाने टोलीमा सामेल हुनु भएको रहेछ । मन्त्री बिष्टले ‘सरलाई प्रत्यक्ष मैले भटेको छैन, तर उहाँको बारेमा धेरै सुनेको छु । त्यसैले मेरो व्यक्तिगत आग्रह छ तपार्इँको नाम अमेरिका भ्रमण टोलीमा राखेकोछु नाइँ नभन्नु होला’ भनेर आग्रह गरेपछि सामेल हुनु भएको रहेछ । चाकडी, चुक्ली र दरबारको इशाराबिना नचल्ने तत्कालिन पंचायत शासनमा कहिल्यै कसैसित चाकडी नगर्ने स्वाभिमानका धनी गम्भीरमान सर टोलीमा पर्नु जोकोहीलाई आश्चर्यको विषय थियो ।
२० वर्षको कलिलो उमेरदेखि पढाउनु थाल्नु भएको गम्भीरमान सरले शारीरिक रूपमा अस्वस्थ हुनु भएदेखि मात्र पढाउनु छोड्नु भयो । यो निरन्तर साधना थियो, बिना कुनै लोभको विशुद्ध मानव धर्मको आराधना थियो ।  हजारौं डाक्टर, इन्जिनियर, शिक्षक, प्रशासक, व्यापारी, सेना तथा प्रहरीहरू छन् उहाँका शिष्यहरू जो देश विदेशमा जीवन जगत हाक्दैछन् । उनीहरू सदा ऋणी छन् ।
मलाई यी संस्कृतमा पंक्तीहरू याद आइरहेको छ ।
‘गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरुवे नमः’
अर्थात् गुरु ब्रम्हा हुन्, गुरु नै बिष्णु, गुरु नै महादेव हुन् तर गम्भीर सर ब्रम्हा बिष्णु महेश्वर मात्र हैन बुद्ध पनि हुनुहुन्छ । जोसँग रीस छैन राग छैन, कुनै अवान्छित माग छैन । प्रहारहरू हाँसी हाँसी सहने, अनुहार र व्यवहार छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश वा ज्ञान । अर्थात् अन्धकारबाट उज्यालोको बाटो देखाउने नै गुरु हुन् । साँच्चै नै गुरु अर्थ खोज्ने हो भने, भेट्ने हो भने गम्भीरमान सरकोमा गए पुग्छ । त्यसो त अरु पनि गुरु गम्भीरमानहरू भेटिएलान् तर सत्ययुगीन गुरु गम्भीरमान यो जुनीमा शायदै कतै भेटिएला । अस्तु !!
विश्व निकेतन माविका पूर्व प्रधानाध्यापक गम्भीरमान मास्केको ८६ वर्षको उमेरमा गत आइतबार(मंसीर ९ गते) निधन भएको छ। लामो समय अल्जाइमर ग्रसीत मास्केलाई विसन्चो भएपछि अघिल्लो साता घर नजिकैको मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको थियो। मास्केलाई अन्तिम समयमा निमोनिया भएको परिवार स्रोतले बताएको छ।वि.सं.२०४० सालमा एसएलसीमा बोर्डमा आएका पूर्व विद्यार्थी सुशील ताम्राकारले पूर्व प्रअ मास्केलाई यसरी सम्झेका छन् ।
नुवागी परिवार मृतकप्रति हार्दिक श्रद्धासुमनका साथ शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

:2709 Views

One thought on "सत्ययुगीन गुरुप्रति हार्दिक श्रद्धासुमन: गुरु हुनु त गम्भीरमान मास्केजस्ता"

  1. pawanrajpaudel says:

    Tamrakar ji,tapaiko yo sasmaranlaai maile preranaako rupamaa lieko chhu.

Leave a Reply