सप्तरंगी टीका सीधा नभए दिदीबहिनीसँग रिसाउँथे

भक्तपुर जिल्लाको कटुन्जे मेरो जन्मथलो हो । बाल्यावस्था यहीँ बित्यो । म अत्यन्त सोझो, अरूसँग डराउने, अग्रजहरूले भनेको मान्ने खालको थिएँ । माग्नेहरू आउँदा सबैले एक मुठी चामलको पीठो दिएको देख्दा दुःखी हुन्थेँ । त्यसले कति नै खान पुग्छ होला र भने जस्तो लाग्थ्यो । घरमा कोही नभएको बेला माग्ने आए ठूलो कचौराभरि दिएर पठाउँथेँ । यसबापत मैले धेरैपटक गाली खानुपरेको थियो । सानो बेलामा चाडपर्व भन्नेबित्तिकै मन यत्तिकै फुरुंग भएर आउँथ्यो । दसैँ–तिहारको बेलामा त झन् विद्यालयमा लामो बिदा पाइन्थ्यो । नयाँ लुगा लाउन, मासु–चिउरा खान, मामाघर जान पाउने कुराले निकै हर्षित हुन्थेँ ।

मलाई तिहार भने खासै मन परेन, कहिल्यै पनि । दसैँ कहिले आउला भन्ने खुल्दुली सधैँ भइरहन्थ्यो । तर, तिहार कहिले आउला भन्नेचाहिँ हुँदै भएन । आउँथ्यो, जान्थ्यो । तापनि, देउसी भने खेल्न गइन्थ्यो । देउसीसम्बन्धी एउटा घटना अझै पनि दिमागमा घुमिरहन्छ । त्यो बेलामा म सायद आठ–नौ वर्षको थिएँ होला । म र मेरो साथी गोपाल मिलेर देउसी खेल्न गएका थियौँ । देउसीबाट हामीले ४२ पैसा कमायौँ । गाउँको सुशीला भैरव मन्दिरपछाडि बसेर २०–२० पैसा बाँडेको अझै सम्झना छ । त्यसमा दुई पैसाको एउटा ढ्याक बाँकी रह्यो । त्यो दुई पैसाको के गर्ने भनेर अलमलमा थियौं। पछि, त्यो दुई पैसा मैले नै लिएँ । राति देउसी खेल्न मैले घरबाट सानो लालटिन लगेको थिएँ । त्यसबापत दुई पैसा मैले लिने सहमति भएको थियो । ‘मलाई २२ पैसा, गोपाललाई २० पैसा’ को घटनाले तिहारको देउसी खेल्ने दिन अझै पनि याद आउँछ ।

भाइटीकाका दिन बहिनीहरू, फुपुहरू सबैजना जम्मा भएर टीका लगाइन्थ्यो । तिहारमा लगाइने सप्तरंगी टीका बांगो भयो भने बहिनीहरूसँग खुबै रिसाउँथेँ । त्यसैले उनीहरू सीधा लगाइदिने कोसिस गर्थे । चाडपर्वका सामाजिक, धार्मिक, सांस्कृतिक, आर्थिक पक्षहरू हुन्छन् । परम्परादेखि चलिआएका प्रथाको जगेर्ना, आफन्तसँगको भेटघाट, तयारी र व्यवस्थापनले जीवनशैलीमा ठूलो प्रभाव पार्छ ।

चाडपर्वमा सबै उमेरका मानिस रमाउँछन् । रमाउने कारण एउटै पनि हुन सक्छ, फरक पनि । विद्यार्थी, युवा र जागिरे सबैलाई बिदा हुन्छ । त्यस्तै, उद्यमी, व्यापारी र कृषकहरू पनि चाडपर्वको अवधिभर कामबाट छुटकारा लिने गर्छन् । बालबालिकाहरू पनि चाडपर्वमा खान, लुगा लगाउन, पिङ, देउसीभैलो खेल्न, घुम्न जान पाउँदा मख्ख पर्छन् । तर, सबैलाई चाडपर्वले उही स्तरको खुसी दिन्छ जस्तो लाग्दैन । चाडपर्वको रमाइलोभित्रका दुःख, सुस्केरा र आँसु अरूले देख्दैनन् । चाडपर्व मान्न र धान्न कति गाह्रो हुन्छ, त्यो मान्ने र धान्नेलाई मात्र अनुभव हुन्छ । चाडपर्व प्रतिष्ठा तथा प्रतिस्पर्धा पनि बनेको छ ।

हामी सानो छँदा कसको घरमा ठूलो खसी छ भनेर हेर्न जान्थ्यौँ । सानो खसी हुने वा खसी नै नहुने घरको परिवारमा भने आघात परेको अनुभव गर्न सकिन्थ्यो । त्यस्तै, कुनचाहिँ दिदी वा बहिनीले दाजुभाइलाई कति मसला हालिन् भनी मूल्यांकन गरिँदा त्यो कम मसला ल्याउने दिदीबहिनीले गर्ने दुःखद् महसुसले चाडपर्वमा खुसी देला र ? तिहारमा सेल पाक्ने र नपाक्ने घर पनि छन् यहाँ । पुरोहित ल्याएर तामझामका साथ ठूलो कोठामा जमरा राख्ने पनि छौं। कतिपय भने जमरा उमार्न एउटा अँध्यारो कुना नहुनेसमेत छन् । त्यसैले वरदान बन्नुपर्ने चाड कसैलाई अभिशाप बनिदिएको पनि छ ।

दिवाकर ढुंगेल, पूर्व निर्देशक, अनौपचारिक शिक्षा केन्द्र, सानोठिमी, भक्तपुर

:591 Views

Leave a Reply