सरस्वती पूजा मनाउने अलग अलग काइदा

सबिना बानियाँ/

सेतो पहिरन, उज्यालो रुप, पहिलो हातमा वीणा, दोस्रो हातमा पुस्तक, तेस्रो हातमा माला र चौथो हात अभय मुद्रा । यो दृश्य हो विद्याकी देवी सरस्वतीको रुपको । मुर्तिको वरिपरि विद्यार्थीहरुका हातमा फुलका गुच्छाहरु । केही विद्यार्थी अविर, अक्षताले सरस्वतीलाई पूजा गर्दैछन् । केही भने प्रसाद फलफुल र चकलेट र साथमा मिठाई खाएर मख्ख छन् ।
प्रत्यक वर्षको श्रीपञ्चमीका दिनमा स्कुलमा प्राय ः देखिने दृश्य हो यो । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीका दिन बसन्त पञ्चमी, श्रीपञ्चमी, सरस्वतीपूजा नामबाट चर्चित पर्वमा सरस्वती वन्दना जप्दै पुजा गरिन्छ । श्रीपञ्चमीका दिन सरस्वतीको विधिपुर्वक पुजा आरधना गरी केही लेखेमा र पाठ गरेमा पढ्न र लेख्न आउँछ भन्ने धार्मिक विश्वास छ ।
संगीत, कला, साहित्य एवम् विद्याकी देवी सरस्वतीलाई श्रीपञ्चमीका दिनमा विद्यालयले आ–आफ्नो तरिकाले साधना गर्छन् ।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृत्ता
या वीणावरदण्डमण्डितकरा या श्वेतपदमासना ।
या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवै : सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निश्शेषजाड्यापहा ।।

भक्तपुर सुडालको सरस्वतीस्थानस्थित सरस्वती माध्यमिक विद्यालयले पनि प्रत्येक वर्षको श्रीपञ्चमीमा सरस्वतीको पूजा गर्ने गरेको बताउँदै प्रधानाध्यापक इन्द्रमणि गिरी भन्छन्, ‘म यो स्कुलमा प्रअ भएर आउँदा बैशाख, जेठतिर एकदिन समय मिलाएर बच्चाहरुलाई सरस्वती मन्दिर लगेर दर्शन गराएर प्रसाद दिएर श्री पञ्चमीका दिन बिदा दिने चलन थियो । मैले विद्यार्थीलाई त्यही दिनमै पूजा गर्न लगाउने व्यवस्था गरेँ ।’

श्रीपञ्चमीका दिन विद्यार्थीलाई सरस्वतीको फोटोमा पूजा गर्न लगाई स्कुलसँगै रहेको सरस्वती मन्दिरमा विद्यार्थीहरुले दर्शन गर्न लिएर जाने गरेको उनी बताउँछन् ।

झापा घर भएका प्रअ गिरी बाल्यकालमा आफ्नो स्कलमा सरस्वती पूजाको दिनमा नै सरस्वती मन्दिरमा वा स्कुलमा सरस्वतीको मुर्ति राखेर सबैलाई बोलाएर नाचगान गरेर प्रसाद बाँडेर खाएको सम्झन्छन् । ‘बाहुन नै बोलाएर पुजा गरिन्थ्यो र हामी मिलेर सरस्वतीको मुर्तिलाई खोलामा लगेर सेलाउथ्याँै’ उनले मुस्कार छर्दै भने, ‘त्यहाँ हिउँदे बिदा नहुने हुदाँ प्रत्यक वर्र्ष श्रीपञ्चमी मनाइन्थ्यो ।’

तर जब उनी आफ्नो ठाउँबाट काठमाडौं छिरे उनलाई अलग्गै अनुभव भयो । स्कुलमा काम गर्दा त धेरै स्कुलले सरस्वती पुजाका दिन बिदा गरेर कुनै स्कुलले त्यसको साटो भन्दै श्रीपञ्चमी अगाडि, कुनै स्कुलले पछाडि र कुनैले त सरस्वती पुजा नै नमनाएको देखेर आश्चर्य परे उनी ।

त्यो दिन पूजा गर्यो भने शुभ साइतमा गर्दा सबै शुभ हुन्छ र बच्चाहरुलाई कुनै अक्षर पढ्न लगाइयो र केही सिकाइयो भने त्यो दिन सिक्छन् भन्ने समाजमा मान्यता रहेको छ । ‘त्यहि दिन पढेर मात्र जान्ने भन्ने त होइन तर बसन्त पञ्चमी पनि त्यत्तिकै राखेको त पक्कै होइन । पढ्दा शुभ साइत मानिन्छ र त्यो दिन पढेपछि मलाई पढ्न आउँछ भन्ने सकरात्मक किसिमको धारणा आउँछ र भोली म यो पढछु, पर्सि यो भनेर पढाइको शुरुवात गर्न सक्छन् । मानिसमा केही सकरात्मक कुराको विकास हुन्छ ।’ उनले भने, ‘सबैभन्दा पहिला यो मन नै मन्दिर हो र हामी हाम्रो सकरात्मक आखाले हेर्दा सबै कुरा मन्दिर हो । मुर्ति पनि भग्वान नै हुन् । त्यसकारण किताब पनि भगवान नै हुन् । ज्ञान बढाउने भगवान ।’
श्रीपञ्चमीका दिन सरस्वती पूजा स्कुलमा पढ्ने विद्यार्थीले मात्र गर्नुपर्छ भन्ने नहुने उनको सोच छ । उनका अनुसार मानिसले जन्मेदखि बाचुन्जेलसम्म सरस्वती पुजा गर्नुपर्छ । उनले थपे, ‘मानिस जस्तो भएपनि उ कुनै न कुनै तहको विद्यार्थी हो । स्नातकोत्तर सक्ने बित्तिकै उ विद्यार्थी होइन भन्न मिल्दैन । चरण र अवस्था फरक भएपनि जीवनको हरेक पलमा मानिस विद्यार्थी हो । सिक्ने र गर्ने काम निरन्तर हुन्छ । औपचारिक पढाई सकिएपनि उसको सिक्ने क्रम कहिले रोकिन्छ र? मानिस कुनै न कुनै अवस्थाको विद्यार्थी नै हो ।’

स्कुलले विद्यार्थीलाई सरस्वती पूजाको महत्वको बारेमा बताउने गरेको छ । बिदाको दिन परेमा घरमै बसेर पनि सरस्वतीको पुजा गरी, केही कुरा भएपनि पढ्नको लागि शिक्षकहरुले आग्रह गर्ने गरका छन् ।

स्कुलमा हिन्दु, क्रिस्चियन र बौद्ध धर्म मान्ने विद्यार्थीहरु भएता पनि इच्छुक क्रिस्चियन विद्यार्थीले पुजा नगरे पनि केही भने साथीको साथमा सहभागी मात्र हुन्छन् भने बौद्ध धर्म मान्नेहरुले चाहि पूजा नै गर्ने गरेको गिरीले जानकारी दिए ।

सरस्वती माविमा कक्षा ९ मा पढ्ने अंकिता तिमल्सिना श्रीपञ्चमीका दिन बिहान उठेर सफा लुगा लगाइ घरमा किताब र सरस्वतीको तस्विरलाई पूजा गरेर पूजा सामान हालेर स्कुल आउने गर्छिन् । त्यो दिन आत्मशान्तिको लागि भन्दै भोको पेट बसेर सरस्वतीको आरधाना गर्ने गर्छिन् । स्कुलमा पुगेपछि भने उनी स्कुलमा भएको सरस्वतीको तस्विरलाई पूजा गरेर मन्दिरमा गई पूजा आरधना गर्ने गर्दछिन् । स्कुलले नै पुजापछि प्रतिभा प्रदर्शनका विभिन्न कार्यक्रम गरेकोमा उनी खुसी भई सहभागी हुन्छिन् । कुनै वर्ष भने पूजापछि स्कुलबाटै बनभोज लाने गरेको उनले बताइन् । उनकी साथी गंगा परियार भने इसाई धर्ममा लागेपछि पूजा नगरेपनि स्कुल आएर साथीहरुसँग घुम्न जाने, चौरमा गएर खेल खेल्ने गर्छिन् । तर यदि श्रीपञ्चमी हिउँदको लामो बिदामा परेमा भने विद्यार्थीले घरमै बसेर सरस्वती पुजा गर्छन् ।

सरस्वती पूजालाई हिन्दुको धर्मको लेप लाग्यो
त्यस्तै जोरपाटीस्थित जोेरपाटी माध्यमिक विद्यालयले पनि श्रीपञ्चमीमा बिदा नपरेमा सोही दिन र बिदा परेमा पछि आइतबार वा बिहिबारका दिन सरस्वती पूजा मनाउने गरेको छ । स्कुलमा बिहान सबै भेला भई पूजा गरेर विद्यार्थीलाई घर फर्काइ शिक्षकले शैक्षिक कार्यक्रम, समिक्षा, योजना बनाउने गरेका छन् ।

प्रधानाध्यापक हरिप्रसाद ढकाल भने विद्याकी देवी सरस्वतीलाई धार्मिक चिजले पाखा लगाएकोमा दुखी छन् ‘श्रीपञ्चमी मान्ने भनेपछि यो हिन्दुको हो भनेर धर्मको लेप लाग्यो ।’

सो दिन कक्षाको गतिविधि बन्द गरेर पूजा र अतिरिक्त क्रियाकलाप गर्दा श्रीपञ्चमी भन्दै नितान्त हिन्दु मात्र उपस्थित भएकोमा उनको गुनासो छ । सरस्वती शिक्षा, विद्याकी देवी भनेको सन्दर्भका विद्यालाई कुनै जात र धर्मको मात्र सन्दर्भमा हेर्न नहुने उनको सुझाव छ ।

विद्या र शिक्षाको सबैभन्दा बढि आवश्यकता नै शिक्षक र अभिभावकलाई रहेकाले विद्यालयले अहिलेसम्म विद्यार्थीका साथ अभिभावक, शिक्षक र व्यवस्थापन समिति बसेर श्रीपञ्चमी मनाउने गरेको छ । तर विद्यार्थीको उपस्थिति र चासो पनि न्युन हँुदा यसलाई निरन्तरता दिन समस्या आइरहेको उन बताउँछन् ।

‘मुर्ति पूजाले नै विद्यामा अध्ययनमा सुधार हुन्छ र सरस्वती पुजा गर्दैमा भोलीबाटै विद्धान नै बनिहाल्ने पनि होइन । यसका आध्यात्मीक पक्ष र विवेकको कुरा हुन्छ । हाम्रो संस्कार, संस्कृतिलाई विद्यालयमा अभ्यास नगर्ने हो भने यो लोप भई जान्छ ।’ सरस्वती पुजाको महत्व दर्शाउँदै उनले थपे, ‘अर्कातिर वैज्ञानिक हिसाबले पनि यसमा सुधार्नुपर्ने कुरा छ ।सरस्वती पुजा गरेर के नाफा र नोक्सान हुन्छ भन्ने छैन । तर विद्याका देवीलाई मानवले पुज्नुपर्छ ।’
त्यो दिनलाई पनि सरकारले शैक्षिक संस्थालाई बिदा गरेकाले यसको औचित्य केन्द्रियदेखि स्थानिय व्यक्ति व्यक्तिमा रहेको उनले बताए ।

श्रीपञ्चमीमा प्ले गुप्र भर्ना छुट
चित्तपोलस्थित बिमल मेमोरियल विद्यापिठले विद्याको देवीको चाड श्रीपञ्चमीका दिनमा केही लेखियो भने लेख्न, पढ्न आउँछ भन्ने मान्यता रहेकाले स्कुलले पनि सरस्वती पूजा गराएर बच्चाहरुलाई केही शब्द लेख्न लगाउने गरेको प्रिन्सिपल कुमार थापामगरले बताए । स्कुलले विद्यालय परिवार शिक्षक र विद्यार्थी मिलेर सरस्वती पुजा मनाउने गरेको छ ।

‘हाम्रोमा सरस्वती पुजाका दिन भर्ना गर्दा छुट भने छैन । तर अभिभावक आफैले अरु स्कुलमा सरस्वती पुजाका दिन भर्ना गर्दा छुट रहेछ भनेर खोजिएकोले गर्दा मात्र प्ले गुप्रमा आइरहेका बच्चालाई श्रीपञ्चमीका दिन नाम दर्ता गर्नुस् र बैशाखमा भर्ना गर्दा केही छुट दिनेछौं भनेको छु ।’ उनले भने । तर श्रीपञ्चमीमा भर्ना गर्नु उनलाई गलत लाग्छ किनकि उनका बिचारमा त्यो भर्ना गर्ने समय नै होइन । पहिला फागुनबाट शैक्षिक सत्र हुने समयमा सरस्वती पूजामा भर्ना गरिने ठिक तर अहिले शैक्षिक सत्रको समय फरक भएको उनले जानकारी दिए ।

कागेश्वरी मनोहरा नगरपालिकाको गोठ्ठाटारस्थित तेज विनायक माध्यमिक विद्यालयले श्रीपञ्चमीमा बच्चाको पढाई सुरु गर्न भन्दै विशेषगरी इसिडिको नयाँ विद्यार्थीको लागि भर्ना आवान गरी निशुल्क भर्ना गर्ने गरेको छ ।
प्रधानाध्यापक मधु प्रसाद तिमल्सिना प्रत्यक वर्ष श्रीपञ्चमीमा विद्यार्थीहरुलाई सरस्वतीको तस्विरलाई पूजा गराई वक्तित्वकला प्रतियोगिता गर्ने गरेको बताउँछन् । र त्यहाँ सरस्वतीपुजाको महत्वका विषयमा पनि चर्चा गरिन्छ ।
नेपाल समाजको संस्कारको रुपामा रहेको सरस्वतीपुजा सिकाईसँग सम्बन्धित देवीको आरधाना भएकोले यो पूजा विद्यार्थीलाई आवश्यक रहेको उनले बताए ।

देश धर्म निरिपेक्षता घोषणासँगैे स्कुलमा सरस्वती पुजा नमनाइएको
देशका अधिकाशं विद्यालयले श्रीपञ्चमीलाई विद्याकी देवीको पुजा भन्दै मनाइरहँदा भने मुलपानीस्थित नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयले सरस्वती पुजा गर्दैन । प्रिन्सिपल पुरुषोत्तम पहाडीले नै स्कुलमा सरस्वती पुजा गर्न लगाउँदैनन् । सरस्वती पुजा नमनाउनुको कारणमा उनी भन्छन्, ‘देश लोकतन्त्र आएलगतै धर्म निरिपेक्षता मुलुक भयो । सरकारको मुलुकलाई धर्म निरिपेक्षता घोषणासँगै हामीले स्कुलमा सरस्वती पुजा मनाएका छैनौं । श्री पञ्चमी हिन्दुहरुको चार्ड हो । श्रीपञ्चमी मनाउने हो भने हामीले अरु धर्मका चाडहरु जस्तै ल्होसार, क्रिसमस इत्दायी पनि मनाउनुपर्यो ।’ उनल भने, ‘विद्यार्थीले आफ्नो खुसीले आफ्ना घरमा चाडपर्व मनाउन स्वतन्त्र हुनुहुन्छ तर स्कुलले कुनै पनि विद्यार्थीमा दबाब र कर गर्नुहुदैन ।’

सरस्वती पूजाको आफ्नै आध्यात्मिक र धार्मिक महत्व रहेको छ । ज्योतिष विज्ञान अनुसार कुनै पनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत मानिन्छ भने यसलाई नयाँ सिकाई शुरु गर्ने दिनको रुपमा पनि लिइन्छ । स्मरण शक्ति तेज होस् भनेर सरस्वती पूजामा प्रयोग गरिएका अक्षताका सात दानालाई दाँतले नछुने गरी बालबालिकाहरुलाई निल्न लगाउने प्रचलन पनि रहेको पाइन्छ ।

सरस्वतीलाई नैवेधको रुपमा नौनी, दही, दुध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, बयर, बेल, अदुवा, सेतो रङको फुल, चन्दन, फलफुल आदि अर्पण गरिन्छ ।

श्री पञ्चमीमा पुस्तक, कलम, कापी, शिल्पकलाका औजारहरु र वाद्ययन्त्रहरुको पूजाआजा गरिन्छ । हिन्दुधर्मालम्बीले मात्र नभई बौद्ध धर्मालम्बीहरुले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीको रुपमा ज्ञानको प्रतिक मानेर पुजा गर्छन् ।

:597 Views

Leave a Reply