ससाना विद्यार्थीले रोपे धान

भक्तपुर । भक्तपुरका ससाना विद्यार्थीले आइतबार धान रोपेका छन् । सक्रिय मनसुनको अभाबमा खेतमा पानी नभई किसानले धान रोप्न नसकिरहेको बेला भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इंगलिश स्कुलका विद्यार्थी नियमितको पढाई छाडेर आइतबार दिनभर रोपाईमा व्यस्त भएका हुन् ।

राष्टिय धान दिवसको अवसरमा स्कुलको कक्षा कक्षा ४ का एक सय ८ जना छात्रछात्रा धान रोपाईमा सहभागी भएका हुन् । उनीहरुले स्कुल नजिकैको खेतमा बिहानदेखि दिनभर रोपाई गरेका हुन् । मेशिनबाट पानी तानेर उनीहरुले शिक्षकशिक्षिकाहरुको सहयोगमा धान रोपेका थिए ।

यसअघि ती विद्यार्थीले नै रोपाईका लागि आवश्यक धानको विउ राखेका थिए । उनीहरुले धानको विउ राख्नेदेखि धान भित्राउनेसम्मको सम्पूर्ण काम गर्ने जानकारी स्कुलले दिएको छ । विउ छर्ने, धान गोडने, काटने, झार्नेदेखि भित्राउने सवै उनीहरुले नै गर्ने स्कुलले जनाएको छ ।

स्कुलकी शिक्षिका एवं धान रोपाई कार्यक्रमकी संयोजक कविता पौडेलले धान रोप्ने कार्यक्रमको दिन अघि नै उनीहरुलाई पहिला नै कक्षाकोठामा जानकारी गराइएको जानकारी दिइन् । धान रोप्ने प्रक्रिया, तरिका, त्यसमा प्रयोग हुने सामानलगायतका विषयमा कक्षामा यसअघिका दिनहरुमा नै जानकारी गराइएको उनले सुनाइन् । धान रोप्न विद्यार्थी कोदालो, डाँंटेलगायतका सामाग्री लिएर खेतमा गएका थिए ।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुले जीवनमै जीवनका विविध पक्षकाबारेमा व्यवहारिक ज्ञान दिन प्रत्येक वर्ष असार १५ का दिन रोपाई कार्यक्रम गर्दै आएको जानकारी गराए । खेती किसानबारे वुझ्ने उमेर सुरु हुने भएकाले प्रत्येक वर्ष कक्षा चारका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँंदै आएको उनले जनाए ।

:372 Views

Leave a Reply