‘साइकल सर’ भन्दा झनै उत्साहित हुन्थेँ

सिक्ने रहर भएमा जुनै उमेरमा पनि सिक्न वा पढ्न सम्भव हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ललितपुरस्थित हरिसिद्धि उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक धर्मगोविन्द महर्जनले । जीवनको महत्वपूर्ण तीन दशकभन्दा लामो समय प्रधानाध्यापक भइ हरिसिद्धि विद्यालयलाई ललिपुर जिल्लाकै एउटा अब्बल विद्यालय बनाउन सफल उनी ६८ वर्षको उमेरमा फेरि आफै विद्यार्थी बनेका छन् । उनी त्रिभुवन विश्वविद्यालय किर्तिपूरमा विद्यावारिधी दोस्रो सेमेष्टरमा पढिरहेका छन् । आफूलाई अँग्रेजीमा कमजोर अनि कम्प्युटर सम्बन्धी ज्ञान नभएको बताउने महर्जन तिनको ज्ञान हासिल गर्न संघर्षरत छन् । सबै कुराबाट अवकाश पाउने उमेरमा हरि सिद्धि भगवानबारे विद्यावारिधि गरिरहेका उनी हरेक दिन दुई घण्टा साइकल चढेर विश्वविद्यालय जान्छन् र फर्कन्छन् । उनीसँग गरिएको कुराकानीमा आधारितः

एसएलसीपछि म आइएस्सी पढ्न पाटनमा गएँ । आईएस्सी पढ्दा मात्र ३५ रुपियाँ तिरेको थिएँ । पढ्दै गर्दा केही महिनापछि नै मैले छात्रवृत्ति पाएँ ।

आईएस्सी पढिसकेपछि २०२७ सालमा म शिक्षक भएर हरिसिद्धि माविमा प्रवेश गरेँ । त्यो बेला शैक्षिक सत्रको अन्तिमतिर स्वयम् शिक्षक भएर स्कुलमा छिरेको थिएँ । सरहरूले मलाई बोलाउनुको कारण चाहिँ मलाई यहाँको शिक्षक बनाएँ भने यो स्कुल राम्रो हुन्छ भन्ने रहेछ । त्यही कारण सरहरूले मलाई बोलाउनु भयो, म पनि ठीकै छ, म गर्छु भनेर गएँ । त्यो बेला भनेको २०२८ सालमा मैले महिनामा ५५ रुपियाँ पाएको थिएँ । २०२९ सालमा भने शिक्षक कोटा आयो र म कोटामा अस्थायी नियुक्त भएँ, मैले महिनामा ८५ रुपियाँ पाएँ ।

यता बिए पनि पढ्दै गएँ । मेरो खासमा इच्छा चाहिँ डाक्टर नै बन्छु भन्ने थियो, तर वातावरणले म माष्टर बनेँ । माष्टर भएपछि सबै कुरामा राम्रो हुँदै पनि गयो । स्कुल राम्रो बनाउने कुराहरू पनि अघि बढ्यो । माष्टर भएपछि देशको सेवा गर्नु भनेको आफ्नो गाउँको पनि सेवा गर्नु हो । आफ्ना गाउँ बनाउन सकियो भने पनि देशकै सेवा हुने हो भन्ने लाग्यो । त्यही कुराले पनि राम्रो गर्न सघायो । त्यसपछि मैले अन्त मनै दिइनँ ।

बिए पढ्दा पढ्दै अर्को एउटा अवसर आयो, बीएड साइन्स पढ्ने । मैले स्कुलबाट त्यो अवसर पाएँ । २०४२÷४३ सालमा मैले अध्ययन बिदा पनि पाएँ, त्यो अवसर पनि पाएँ । म २०३९ सालदेखि २०६८ सालसम्म यो स्कुलको प्रअ बनेँ ।

म पढाउन जाँदा स्कुलको वातावरण अहिलेको जस्तो थिएन, पर्खाल थिएन । खुला थियो । शिक्षा नपाएकाहरूको बाहुल्यता थियो । खुला ठाउँमा परालको कुन्यु राख्ने, जाडो बेलामा गाई, भैंसी घाम तपाउन लस्करै बाँध्न ल्याउने गर्थे । त्यो दृष्य देख्दा र सम्झँदा पनि स्कुल हो कि गाई गोठ ? भन्ने अवस्था थियो । भवनको नाममा एउटा टहरा थियो । त्यही ठाउँमा फेरि स्थानीयहरू विहान सबेरै दिशा बस्न आउँथेँ । त्यो क्रम २०४४ सालसम्म चल्यो ।

त्यो अवस्था भएपछि पनि हामी कक्षा लिन्थ्यौँ । अगाडि दिशा हुन्थ्यो, हामी भित्र पढाउन जान्थ्याँैं । गन्हाउँथ्यो । हामी नाक छोपेर पनि पढाउँथ्यौँ । कहिलेकाहिँ केही उच्छृङ्खल व्यक्तिहरूले कक्षाको ढोकामा लगाइरहेको ताल्चामै दिशा लगाइदिने गर्थे । हामी पुछपाछ गर्ने, पखाल्ने गथ्र्यौँ ।

म हेडसर नै नभएको बेलामा शिक्षा मन्त्रालयबाट भौतिक सुधारका लागि भन्दै त्यस्तै १० हजार जति आएको थियो । त्यही बेला मैले स्कुलको भवन बनाउनुपर्छ भनी अन्य सरमिसहरूलाई उत्साह दिएको थिएँ । धेरै शिक्षकहले आँट गर्नु भएको थिएन । त्यो बेला मैले हामी श्रमदान पनि गरौँ, केही संस्थाहरूसँग पनि सहयोग लिउँ भन्ने किसिमको कुरा गरेँ । त्यसरी एक तल्लाको एउटा भवन बन्यो । समस्या त एउटा मात्र थिएन । धान काट्ने बेलामा पनि धानको थुप्रो ल्याएर सुकाउने, बत्ताउने गर्दथे । त्यसले पनि समस्या आयो । त्यो भएपछि कम्पाउण्ड वाल बनाउनका लागि पहल गरेँ ।

धेरै सरहरूले पनि ‘साइकल सर’ भन्थे । त्यो भन्दा पनि मलाई रिस उठ्दैन । कहिल्यै पनि मलाई हेपेर भनेको भन्ने लागेन । मलाई खुसी नै लाग्थ्यो । साइकल चढ्दै, स्कुल बनाएँ । स्कुल बन्नुमा यो साइकलले पनि ठूलो सहयोग भयो । मेरो बारेमा थाहा दिन पनि यही साइकलले मद्दत गर्यो ।

फ्रान्सको लेटाप भन्ने संस्थाको महेन्द्र श्रेष्ठ भन्ने व्यक्तिले सहयोग ल्याएर दुई तल्ला उठाउने काम गरेका थियौँ । त्यो भवनको काम नसकिँदै केयर एण्ड फेयरसँग सम्पर्क भयो । त्यो संस्थाको प्रोजेक्ट ल्याउनका लागि, मैले रिझाउनका लागि पटकपटक भेटेँ । म साइकल चढेर हरिसिद्धिदेखि कपनसम्म गएँ ।

कपनको हाइस्कुलमा साइकल लाँदा पन्ध्र मिनेट लागेको थियो । त्यहीँसम्म मैले साइकल घिसारेर लगेको थिएँ । त्यो देखेपछि त्यो संस्थाका मान्छेले मप्रति सद्भाव देखाए । त्यसपछि उनीहरूले सहयोग गर्ने भयो । उनीहरूले शिक्षक, विद्यालयको भौतिक वातावरण सुधारका लागि सहयोग गर्ने निर्णय गरेका थिए । त्यो निर्णय गरिसकेपछि त्यही टीमको एक अधवैसे स्कुलमा आए । स्कुल आउँदा उनी भर्याङबाट ओर्लन सकिनन्, उनी लड्न लड्न खोजिन् । त्यो अनुभवबाट उनैले स्कूलको भर्याङ पनि बनाउने, कम्पाउण्ड वाल पनि लगाउने, शौचालय पनि बनाउने योजना थपिन् ।

त्यो योजना आएपछि केही स्थानीयहरू मेरो कामदेखि रुष्ट बने, मलाई स्कुलमै घेर्न पनि आए, पिट्छु पनि भने । मैले सम्झाउँदै गएँ । गाली गरे, सबै पचाएँ । मैले हिम्मत हारिनँ । मैले स्थानीयलाई त्यो बेला भनेको थिएँ, ‘यो स्कुल भनेको हामी सबैको हो, यसलाई जति राम्रो बनाउन सकियो, त्यति हामीलाई पनि राम्रो हुन्छ, त्यही भएर यो स्कुलको कम्पाउन्ड बनाउन नदिनु भनेको स्कुल राम्रो नबनाऊ भनेको हुन्छ, त्यही कारणले स्कुल नबनाउँदा हामी सबैलाई घाटा हुन्छ । त्यही भएर पनि कम्पाउड बनाउनुपर्छ’ भनेर मैले भने । मैले यदि यो पटक कोही आएर रोक्न आउँछ भने म पनि चुप लागेर बस्दिनँ, म कम्पाउण्ड बनाउँछु भनेर अडान लिएँ । त्यो अडानले स्कुल बनेको अहिले सम्झन्छु ।

त्यो बेलामा मैले तीनचारवटा विषयमा भिड्नुपर्ने अवस्था आयो । त्यही भएर मैले आफ्नो घर, छोराछोरी भन्न पाइनँ, घर त हेर्नै पाइनँ । मात्र असारको बेला र धान काट्ने बेला घरमा समय दिन पाएँ ।

साइकल चढ्न थालेको लगभग म ३० वर्षको छँदादेखि हो । त्यो बेला मैले पहिला १२ सयमा किनेँ । पछि बिग्रियो । अर्को २२ सयमा किनेँ । त्यही २२ सय परेको साइकल चढेरै मैले स्कुल बनाएँ । त्यो साइकलको मलाई धेरै माया लाग्छ । त्यो स्कुल बनेकै त्यही साइकलले भन्छु म । मसँग खासै पैसा नहुने । आफ्नो तलबको पैसा पनि घर खर्चमा जाने भयो । म अन्त जाँदा वा स्कुलकै काममा अन्त जाँदा स्कुलको पैसा खर्च गरेर कहिल्यै खाइनँ । त्यो बानी मेरो छैन । कुनै सरहरूलाई कार्यक्रममा जानुपर्यो भने खर्च दिएर पठाउँथे । सरहरूलाई त्यो खर्च दिएर पठाउने तर आफू चाहिँ त्यहीँ जानु परे पनि त्यही साइकल लिएर जाने गरेको थिएँ ।

त्यसले गर्दा धेरै सरहरूले पनि ‘साइकल सर’ भन्थे । त्यो भन्दा पनि मलाई रिस उठ्दैन । कहिल्यै पनि मलाई हेपेर भनेको भन्ने लागेन । मलाई खुसी नै लाग्थ्यो । साइकल चढ्दै, स्कुल बनाएँ । स्कुल बन्नुमा यो साइकलले पनि ठूलो सहयोग भयो । मेरो बारेमा थाहा दिन पनि यही साइकलले मद्दत गर्यो । स्कुल बनाउने भनेको मात्र भवन बनाउनु हैन, पढाइको कुरा आउँछ, तालिमको कुरा आउँछ । अरुले के सम्झे भने हरिसिद्धि स्कुलमा गयो भने हाम्रो कार्यक्रम फेल हुँदैन । मैले त्यस्तो छाप बनाएँ । त्यही अनुसारको वातावरण पनि बनाएँ ।

म साइलक चढेर जाँदा धेरैको मन पग्लेको अनुभव पनि गरेको छु । काम गर्दै जाँदा थुप्रै चुनौतीहरू पार गरियो । एकातिर विद्यार्थी संख्या बढाउनु पर्ने, अर्कोतिर पढाइलाई राम्रो बनाउनुपर्ने, फेरि अर्कोतिर भौतिक संरचना पनि राम्रो गर्नुपर्ने थियो । अझ अर्कोतिर अन्य स्कुलहरूसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने थियो । यी चारवटा कुराहरूलाई मैले एकैसाथ पार गर्नु थियो । अनि फेरि नजिकको स्कुलले त्यति सहयोग नगरेको अवस्था थियो । मैले कोहीसँग रिसइबी नगरी राम्रो गर्छु भन्ने इख लिएर काम गरेँ ।

वास्तवमा साँच्चिकै स्कुल बनाउने भनेको सरकार पनि हैन, जनसमुदाय पनि हैन, स्कुलका शिक्षकहरू नै हुन् । एक नम्बरमा स्कुलका सरहरू, त्यसमा पनि स्कुलको हेडमाष्टर नै हुन् ।

खासमा विद्यालयमा विद्यार्थी संख्या बढाउनका लागि पढाइलाई नै राम्रो गर्नुपर्यो । पढाइलाई राम्रो गर्न शिक्षकहरूलाई राम्रो गर्नुपर्यो । त्यसका लागि शिक्षकहरूलाई सम्झाउने, अर्कोतिर टेढो टेढो कुरा गर्ने शिक्षकहरूलाई सतर्क गराउने काम गरेँ । कोही शिक्षकहरू समयमा आउनु हुन्न, कहिलेकाहिँ शिक्षकहरू अनुपस्थित हुन्छन्, त्यो बेलामा सरहरू मलाई हाजिर मिलाउनका लागि भन्नुहुन्थ्यो । ‘तपाईं राम्रो काम गर्नुस्, यो हाजिर भनेको ठूलो कुरा हैन’ म भन्थेँ । बच्चाको पढाइ राम्रो भयो भने तपाईं हामी बसेको स्कुल राम्रो हुन्छ । हरिसिद्धिका शिक्षकहरू राम्रा छन् भन्छन् । शिक्षकहरूको योग्यता बढाउने काममा, क्षमता विकासमा सहयोग हुने काममा म सहयोगी नै बनेँ । यतिसम्म पनि गरेँ कि मैले, विद्यार्थीबाट सरहरूको हाजिरी गराउने । त्यो अवस्था पनि आउँदो रहेछ ।

सरकारले अहिलेसम्म गर्न नसकेको काम हामी स्कुलले गरेका छौँ । त्यो निक्कै गर्वको विषय भएको म अनुभूत गर्छु । सरकारले अहिलेसम्म पनि शिक्षालाई निःशुल्क गर्न सकेको छैन । हाम्रो स्कूलमा परीक्षा शुल्कबाहेक अन्य शुल्क लिँदैनौँ । हामी भर्नाको समयमा पनि परीक्षा लिन्छौँ । त्यसले पनि विद्यालयमा आकर्षण बढाएको छ । त्यो परीक्षाले राम्रा राम्रा विद्यार्थी छान्न पाएका छौँ ।

जहाँ जाँदा पनि आफूले पढाएका विद्यार्थी भेटिँदा मलाई खुसी लाग्छ । म अहिले पनि आफूले पढाएका बच्चाहरू म भन्दा ठूला होऊन्, राम्रो काममा, पदमा पुगून् भन्ने चाहन्छु । अहिले कोही कहाँ, कोही कहाँ छन्, त्यहाँ पुगेको सम्झँदा मलाई गौरब लाग्छ ।

शिक्षक भनेको भर्याङ हो । शिक्षकले अरुलाई माथि जान भूमिका खेल्छ । ओहोर दोहोरलाई सहज बनाइदिन्छ । गोठजस्तो ठाउँलाई सविधा सम्पन्न स्कुल बनाएँ, १२० बाट ८ सय ४९ जना विद्यार्थी पढ्ने स्कुल बनाएँ, त्यही नै मेरो सफलता र सन्तुष्टि लिने काम हो ।

यहाँ हामीकहाँ फुलचोकी मावि, किटनी माविजस्ता ठूला स्कूलहरू थिए, तिनीहरूले लामो समयदेखि एसएलसी दिलाए पनि यो ठाउँमा सेन्टर ल्याउन सकेका थिएनन् । मैले त्यो काम गरेँ । एसएलसी सेन्टर नै हरि सिद्धिमा ल्याएँ । त्यसले पनि स्कुल बनाउन सहयोग मिल्यो । छवि बनाउन, स्कुलमा आकर्षण बढाउन पनि सहयोग मिल्यो ।

शिक्षा क्षेत्रमा काम गरेपछि धेरैले मलाई यो साइकल हेडसर, कहाँ कहाँ जान्छ, के के गर्छ ? भनेर पनि भने । तर म साइकल चढेरै अघि बढेँ । मेरो नाम नचिने पनि साइकल चढ्ने, कमिज सुरुवाल लाउने त्यो हेडसर छ नि, भनेर मलाई धेरैले हरिसिद्धिको हेडसर भनेर चिन्छन् ।

२०५४ सालतिरको कुरा हो । त्यो बेला माध्यमिक शिक्षा परियोजना चलिरहेको थियो । त्यो परियोजनाले विज्ञानसम्बन्धी सामग्रीहरू दिने रहेछ । मैले पनि स्कुलको तर्फबाट निवेदन दिएँ । सानोठिमीमा रहेको त्यो परियोजनामा मैले चिठ्ठी त दिएँ तर पर्ने नपर्ने थाहा थिएन । मैले स्कुलको बारेमा सबै बताएँ । त्यो परियोजनाको सामग्री पाउन म निरन्तर धाएँ, म महिनौँ धाएँ । त्योबीचको हिसाब गर्ने हो भने म लगातार एक महिना गएको रहेछु, त्यो पनि साइकल चढेर । त्यो बेला महानिर्देशकले मेरो मिहिनेत हेरी विज्ञान सामग्री दिने निर्णय गर्यौँ भन्ने निर्णय गरेँ भन्नुभयो । त्यसको मुख्य कारण रहेछ, मेरो साइकल चढाइ र त्यहाँ जाने निरन्तरता ।

‘साइकल चढेर पटकपटक हामीलाई घच्घच्याउनु भयो तपाइँले, अरुलाई चाहिँ यो पर्यो भनेर भन्दा पनि कोही तीन महिना पछि आउने, कोही वास्तै नगर्ने, तर तपाईं त नियमित आउनुभयो, त्यो जाँगरलाई मर्न नदिन पनि हामीले दिने निर्णय गर्यौँ’ भन्दा म खुसी भएँ । त्यो खुसी पनि साइकलले नै दिएको हो ।

वास्तवमा साँच्चिकै स्कुल बनाउने भनेको सरकार पनि हैन, जनसमुदाय पनि हैन, स्कुलका शिक्षकहरू नै हुन् । एक नम्बरमा स्कुलका सरहरू, त्यसमा पनि स्कुलको हेडमाष्टर नै हुन् । स्कुलका शिक्षकहरू त्यतिकै परिचालित हुँदैनन्, उनीहरूलाई परिचालित गर्न हेडसर नै लाग्नुपर्छ, हेडसरले अगुवाई गर्नुपर्छ । हेडसर हुनेसँग रिसाउने बानी र स्वभाव हुनुहुन्न । हेडसरमा एकछिन अघि करायो, एकैछिनपछि हरायो भन्ने भावना हुनुपर्छ ।

हेडसरले पनि शिक्षकहरूको मूल्यांकन गर्नुपर्छ । मूल्यांकन गर्दा हेडसरलाई मानेको आधारमा नभई, काम राम्रो गरेको आधारमा नम्बर दिने, कार्य सम्पादन मूल्यांकन फारममा नम्बर दिने गर्नुपर्छ । मैले त्यही नीति अपनाएँ र स्कुल बनाउन सजिलो भयो ।

:1510 Views

Leave a Reply