सिकाइका लागि क्रियाकलाप आवश्यक

बालबालिकाले राम्रो र सहज वातावरण पाएमा उनीहरू सिक्न सक्छन् । शिक्षक र अभिभावकले बालबालिकालाई सिक्नलाई उत्प्रेरित गर्दै सिक्ने उत्सुकता जगाउने खालको पठन–पाठन र क्रियाकलापलाई अघि बढाउन सकेमात्र बालबालिकाहरू सिक्न तयार हुन्छन् ।

सिकाइलाई एउटा कक्षाकोठामा मात्रै सीमित नगरी जताततै जोड्न सकिन्छ । बालबालिका चुनौतीपूर्ण काम गर्न मन पराउँछन् । उनीहरू आफ्नो जीवनमा नयाँनयाँ अनुभव लिन मन पराउने भएकाले सुरुको अवस्थामा प्रशस्तै गल्ती गर्छन् । गल्तीबाट नै उनीहरूले सिक्ने भएकाले शिक्षक र अभिभावकले उनीहरूलाई विश्वास र मार्गदर्शन प्रदान गर्नुपर्छ । अनिमात्र उनीहरूको क्षमता वृद्घि हुन्छ । व्यक्तित्व पनि विकास हुन्छ । जसका लागि अभिभावक, शिक्षक र बालबालिकाबीचको त्रिकोणात्मक सम्बन्ध धेरै नै महत्वपूर्ण हुन्छ ।

दार्शनिक जिन पियाजेका अनुसार बालबालिकाले क्रियाकलाप, गतिविधि र सामग्रीसँग जति खेल्न पाउँछन् त्यति नै धेरै उनीहरूको दिगो र बौद्घिक विकास हुन्छ । आज यो दर्शनबाट धेरै नै बालबालिका लाभान्वित भएका छन् ।

२१औं शताब्दीको शिक्षाको मान्यतालाई स्वीकार गरी वातावरणको सिर्जना गर्न सक्नु हामी सरोकारवालाहरूको प्रमुख दायित्व हुन आउँछ । उमेरअनुसार उनीहरूको सिक्न सक्ने क्षमता फरक फरक हुन्छ । उमेर सँगसँगै बालबालिकाको चाहना, इच्छा र शैलीमा पनि हामीले परिवर्तन महसुस गर्न सक्छौँ । हामीले बालबालिकाको उमेर समूहलाई विचार गरी त्यसबेलाको बानीव्यहोरामा हुने विशेषतालाई बुझ्न सक्नुपर्छ । जसको लागि हामी आफू बाल्यकालमा झरेर सोच्न थाल्नुपर्छ । हामीलाई हाम्रा छोराछोरीको उमेरमा के–के गर्न मन पथ्र्यो, के–के गर्दा हामी खुसी हुन्थ्यौँ, के गर्दा हाम्रो मन दुख्थ्यो, यी कुराहरूलाई बुझेर हाम्रा छोराछोरीसँग व्यवहार गर्दा सहज वातावरणको सिर्जना हुन्छ ।

हामी आमाबुबाले आफ्ना छोराछोरीसँग काम गर्दा धैर्यको विकास गर्न सक्नुपर्छ । परिवर्तन र नतिजा चाँडै हात लाग्दैन । त्यसका लागि निरन्तर प्रयास आवश्यक हुन्छ । हामीले हाम्रा अर्तिउपदेश, नीति र संस्कार घरबाट दिन सक्नु महत्वपूर्ण शिक्षा हो । जसको लागि अभिभावक र शिक्षकले एउटा बगैंचाजस्तै निरन्तर पानी हाल्ने र गोड्ने गरिरहनुपर्छ ।

हामीलाई लाग्छ, हाम्रा छोराछोरीले हाम्रा कुरा सुनेका छैनन्, तर उनीहरूले सुनेका हुन्छन् । कुरा यति मात्र हो कि उनीहरू यो उमेर समूहमा आफ्ना कुरा र भावनालाई व्यक्त गर्न जान्दैनन् । किनकि १२ वर्षभन्दा मुनिका बालबालिकाको भावनात्मक विकास प्रबल हुन्छ । ती बालबालिकाहरू वयस्क भएपछि हामीले सिकाएका कुराहरू अवश्य पनि व्यवहारमा ल्याउँछन् । जसरी हामीले हाम्रा आमाबुबाले दिएका अर्ति, उपदेशलाई अहिले व्यवहारमा ल्याइरहेका छौँ ।

हामीलाई हाम्रा छोराछोरीको उमेरमा के–के गर्न मन पथ्र्यो, के–के गर्दा हामी खुसी हुन्थ्यौँ, के गर्दा हाम्रो मन दुख्थ्यो, यी कुराहरूलाई बुझेर हाम्रा छोराछोरीसँग व्यवहार गर्दा सहज वातावरणको सिर्जना हुन्छ ।

हामीेले हाम्रो छोराछोरीसँग प्रत्येक दिन गुणात्मक समय बिताउन सक्नुपर्छ । जसबाट अभिभावक र छोराछोरीबीचको सम्बन्ध प्रगाढ हुन्छ । यसरी अभिभावकले छोराछोरीसँग साना हँुदा आफू किशोरावस्था हुदाँको व्यवहार सम्झेर छोराछोरीसँग साथीजस्तै व्यवहार गरी उनीहरूको मन जित्न सक्नुपर्छ ।

आजको प्रतिस्पर्धा र चुनौतीपूर्ण वातावरणमा अभिभावकले छोराछोरीको साथी जस्तै भएर उनीहरूलाई सही मार्गदर्शन दिन सक्नु पहिलो दायित्व हुन्छ । यसरी छोराछोरीले अभिभावकसँग समय बिताउँदा हामीले उनीहरूको कलिलो दिमागमा सकारात्मक कुराहरू र प्रोत्साहन, समर्थनका वचनहरूले भर्न सक्नुपर्छ । जसले गर्दा पछि गएर हाम्रा छोराछोरीको जीवन सार्थक हुने कुरामा विश्वास गर्न सकिन्छ ।

हरेक राम्रा कुरा पाउन मिहिनेत र प्रतीक्षा गर्न सक्नुपर्छ । आजका ज्ञान र शिक्षा लिन सक्ने बालबालिका भोलिका नेतृत्व शक्ति हुन् भन्ने कुरा बुझ्नुपर्छ । जसको लागि अभिभावक, शिक्षक र सरोकारवालाहरूले तुरुन्तै नतिजाको अपेक्षा गर्न’भन्दा पनि, धैर्यको विकास गरी उनीहरूको चौतर्फी विकासमा सहयोग गर्ने कुरामा निरन्तरता दिन सक्नुपर्छ ।

काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराइसँगको कुराकानीमा आधारित विचार ।

:671 Views

Leave a Reply