स्कुलको भित्तामा हैन, शिक्षक/ विद्यार्थीको मुखमा ‘यु आर नट एलाउड टु स्पिक इन नेपाली’

दिनानाथ श्रेष्ठ, शिक्षक/ यो अँग्रेजी माध्यम आवश्यकता पनि हैन, बाध्यता पनि हैन, यसमा मेरो बुझाई अलिकति फरक छ । विद्यार्थी त बालक हो, बच्चा हो, उसलाई विचरा केही थाहा छैन । अभिभावकले यसलाई आवश्यकताको रुपमा बुझिदियो, अभिभावकको यो बुझाइ शिक्षकलाई बाध्यता भयो । अभिभावकको बुझाई र शिक्षकको बाध्यताको सिकार ती नाबालक बालबालिका भएका छन् ।

कहिलेकाहिँ आफूलाई कक्षा १, २, ३ कक्षामा पढ्ने बच्चाको ठाउँमा राखेर सोच्छु । बच्चा भएको हिसाबले स्वभाविक रुपमा नाच्न मन लाग्छ, खेल्न मन लाग्छ, उफ्रिन मन लाग्छ, बोल्न मन लाग्छ । स्कूलमा लेखिएको छ, ‘यु आर नट एलाउड टु स्पिक इन नेपाली’ । त्यो भनेको भित्तामा टाँसिएको हैन, त्यो मेरो मुखमा टेप टाँसिएको हो । तँ बोल्न पाउँदिनस्, म त्यो स्कुल समयभर कबति उकुसमुकुस भएर बस्छु होला, एउटा बच्चाको रुपमा म कल्पना गर्छु ।

लण्डनमा एउटा माग्नेले अँग्रेजी बोल्छ, उसले सबै जान्यो त ? सीप विकास भयो त ? आखिर हैन रहेछ त । तर, म आफूलाई स्कुलमा एउटा बन्दीको रुपमा पाउँछु, बोल्न पनि नपाइने एउटा झ्यालखानाको रुपमा राख्छु ।

म पेशाले शिक्षक हुँ, तर म अँग्रेजी जान्दिनँ । अँग्रेजी राम्रो छैन । तर स्कुलले निर्णय गरेको छ, अँगेजीबाट पढाऊ, नगरपालिकाले निर्णय गरेको छ, अँगे्रजीमा पढाऊ, म सक्दिँन, म कनिकुथि अँग्रेजी पढाउँछु, मलाई थाहा छ, बच्चाले केही जानेन भन्ने । मलाई थाहा छ, बच्चाले केही सिकेकै छैन । म आफूले आफूलाई ढाँट्दैछु । आफू, आफूले एकदम पीडित महसुस गर्दैछु कि मैले बच्चालाई अँग्रेजी सिकाउन सकेको छैन । मैले यति धेरै बच्चाहरुलाई बर्बाद गर्दैछु भन्ने सोच्दैछु । तर मसँग कुनै उपाय छैन ।

मैले यही सन्दर्भमा मैले एकजना नगरपालिकाको एक शिक्षकसँग मोबाइलबाटै अन्तरवार्ता लिएँ । म भक्तपुरमा बस्छु । एउटा नगरपालिकाले क्रान्तिकारी निर्णय नै गर्यो कि अब यो नगरपालिकाभित्रका कक्षा ३ सम्मका सम्पूर्ण विद्यार्थीहरु अँग्रेजीबाट पढ्नेछन् । अथवा कक्षा ३ सम्म अँग्रेजी माध्यम हुनेछ ।

मैले एउटा विद्यालयको शिक्षकलाई सोँधे – तपाईको नगरपालिकाले त यस्तो निर्णय गरेछ ! लागू गर्नु भएको छ ?
उहाँले भन्नुभयो – हामीले त पाँच बर्ष अघिदेखि गर्दै आएका छौं सर ।
अनि मैले सोधेँ – तपार्इंहरुले त गर्दै आउनु भारैछ, अरु विद्यालयले के गर्दै छन् त ?
उहाँले भन्नुभो – लागू गरेको जस्तैजस्तै छ ।
तपाईले त पाँच बर्षसम्म यो अनुभव गरिसक्नु भएको रहेछ, तपाईहरुले सुरु गर्दा जो विद्यार्थी कक्षा १ मा थियो त्यो अहिले कक्षा ५ मा पुग्यो, प्रभावकारी कस्तो देख्नु भा छ त ?
पाँच बर्ष अघिका बच्चाहरु कक्षा ६ मा पुग्दा अँग्रेजी कमजोर थियो मान्छु, तर उनीहरु नेपाली लेख्न सक्थे, पढ्न सक्थे, बुझ्न सक्थे, अहिले उनीहरु अँग्रेजी पनि जान्दैनन् नेपाली पनि जान्दैनन् ।
कति भयावह छ अवस्था !

म कहिले काँही राजनीतिक नेताहरुको ठाउँमा आफूलाई राखेर सोच्छु । मानौ म कुनै मेयर हुँ, अथवा कुनै पालिकाको नेतृत्व गर्छु अथवा वडाध्यक्ष हुँ । मैले सोचेको छु, मेरो पालिकाका सबै विद्यालयमा अँग्रेजी माध्यम शुरु गर्छु, अँग्रेजी यस्तो राम्रो बनाउँछु की शिक्षाको गुणस्तर बढ्छ !

सञ्चार माध्यममा समाचार आउँछन् – अँग्रेजी माध्यमका कारण विद्यार्थी बढे ! गुणस्तरमा सुधार भयो ! कुनै एक पत्रकारले गुणस्तर कसरी जाँच्यो र सुध्रेको कसरी थाह पायो ? होला बच्चाले २–४ वटा शब्द अँग्रेजीमा बोल्न जान्यो होला, के त्यही गुणस्तर बृद्धि हो ?
हामी सबैले स्विकारेका छौं – अँग्रेजी भाषा ज्ञान हैन । त्यो ज्ञान हैन भने गुणस्तर कसरी बढ्यो ? अँग्रेजी माध्यमको पठन पाठनको कुरा माथि देखि लादिँदै लादिँदै पालिकाहरु सम्म आयो ।

पालिकाहरुमा निर्णय गर्ने लहर चलेको छ, पालिकाले शिक्षक माथि ! शिक्षकलाई प्रेसर छ, विद्यार्थी माथि लादियो, अन्ततः यी सबैको प्रेसर थेगेर बसेको छ – एउटा विद्यार्थी ! जो बोल्न सक्दैन, अझ भनौं बोल्नै पाउँदैन विद्यालयमा !

एउटा राजनीतिक नेतृत्वका रुपमा मैले भनेको छु – अँग्रेजी माध्यम बनाएर म शिक्षामा क्रान्ति गर्छु । यो पनि भन्दै छु – ठाउँ ठाउँमा भाषण पनि गर्दै छु – म नेता, मेयर, वडाध्यक्ष भएकाले संस्कृतीको संरक्षणको लागि म ज्यान दिने छु ।तर संस्कृती भनेको त भाषा पनि होला नी !
अनि अँग्रेजीमा पठन पाठन गरेर कसरी भाषा र संस्कृतीको संरक्षण भयो ?यो खालको विरोधाभाषपूर्ण कुरा हाम्रो नेतृत्वले बोल्दै छ ।

शिक्षकहरुलाई बाध्य बनाइएको छ । तर उनीहरु मध्ये कतिले सकेका छैनन् । र उनीहरुलाई अप्रत्यक्ष रुपमा भनिएको छ – यदि अँग्रेजीमा पढाउन सक्दैनौ भने ‘गेट आउट’ ! कि सक्नु पर्यो त्यस्ता शिक्षकलाई गेट आउट गर्न नत्र भने बालबालिकालाई न अँग्रेजी जान्ने न नेपाली जान्ने अवस्थाबाट मुक्ति दिलाउनु पर्छ ।भाषाकै कारणले कति बालबालिकालाई विद्यालय जानु भनेको जेल जानु हो भन्ने भावनाको विकास भएको छ, त्यसबाट मुक्ति दिउँ ।

सामुदायिक विद्यालयमा अँग्रजी माध्यम :आवश्यकता कि बाध्यता ? विषयमा शिक्षा पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा भक्तपुर नगरपालिकाको राममन्दिरमा रहेको शान्ति निकेतन माविका शिक्षक श्रेष्ठले राखेको अभिव्यक्ति ।

:2909 Views

One thought on "स्कुलको भित्तामा हैन, शिक्षक/ विद्यार्थीको मुखमा ‘यु आर नट एलाउड टु स्पिक इन नेपाली’"

  1. manikuber shrestha says:

    Same feel hunxa malai ni
    Yo angreji bhut ani aparipakwa byabasthapanle ketaketiharu gharko na ghat ko vayeko xa
    Aba dekhi play group dekhi nai qualified english teachers all subjects ma appointment garnu paryo jasle bachchaharuko manovawana bujhera padhauna sakos

Leave a Reply