स्कुलमा ‘घन्टी’ हैन, टिपरको ‘हर्न’ बज्छ

– हरिसुन्दर छुकां/ काभ्रे । प्रत्येक स्कुलमा हरेक पिरीयड सकिएपछि, पिरीयड सुरु हुनुअघि घन्टी बज्छ, टिङ, टिङ टिङ…… गरी । कुनै विद्यालयमा भने इलेक्ट्रोनिक्स प्रविधिबाट घन्टी बज्छ । घन्टी बज्छ, निश्चित समयमा तर काभ्रेको एक विद्यालयमा भने बेला न कुबेला घन्टीजस्तै बज्छ, टिप्परको ‘हर्न’। अनि त्यही ‘हर्न’लाई विद्यार्थीहरु पिरीयड सकिएको सम्झछन्, चौरतिर, खेल्नमा मन लगाइहाल्छन्, टिपर आएतिरै नजर लगाउँछन् ।

तर, वास्तवमा भने कुनै विषयको पिरीयड सकिएकै हुँदैन ।

‘हर्न लाउँदै, अनि ठूल्ठूलो श्वर क्यासेटमा गीत बजाउँदै टिप्पर आउँदा विद्यार्थीहरुको ध्यान उतैतिर गएको छ, पढाउनै समस्या छ ।’ विद्यालयका शिक्षक मधुसुदन नेपालले भने ।

उनले काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं. ९ मा रहेको डेडीढुम्का माध्यमिक विद्यालयमा पढिरहेका साढे पाँचसय विद्यार्थीको मनमा विगत केही दिनदेखि यस्तै भइरहेको बताउँदै विद्यालयको आँगनबाटै टिपर गुड्दा दैनिक पठनपाठनमा समस्या भएको बताए ।

‘विद्यार्थीहरु खाजा खाने समय, स्कुल लाग्नुअघिको समय र स्कुल छुट्टी भइसकेपछि विद्यालयकै चौरमा खेल्छन् । कोही फुटबल, कोही भलिबल, कोही चुुंगी । कोही दौडादौड पनि गर्छन् । विद्यार्थीहरु त्यसरी फुर्सदको बेलामा चौरमा दौडिरहँदा जिउ नै सिरिङ्ग हुन्छ’ उनी भन्छन्, ‘एक ध्यान लगाएर पढाइरहँदा, विद्यार्थी पढिरहँदा अचानक भ्वँ…… गरी बज्ने हर्नले कानै खान्छ, ध्यानै भंग हुन्छ, विद्यार्थी पढ्नै मान्दैनन् ।’
पढाइसँगै चौरमा आफ्नै धुनले खेलिरहेका विद्यार्थी भएकै ठाउँबाट हुत्तिँदै र विभिन्न गाना बजाएर टिप्पर गुड्दा सुरक्षाको पनि चिन्ता लागेको विद्यालयले जनाएको छ । ‘हुत्तिएर आएका टिपरको कारण कुनै अप्रिय घटना हुन्छ कि भन्ने डर लाग्छ, जिउ सिरिङ्ग हुन्छ ।’ उनले भने ।
विद्यालयको आँगनबाटै टिपर चल्न थालेपछि शिक्षक र विद्यार्थी दुबैले धूलो खानु परेको उनको भनाइ छ । कक्षाकोठा, अफिस कोठा सबैतिर धूलाम्य भइसकेको छ ।

उनले सो नगरपालिकाअन्तर्गतका विभिन्न सडकहरु मर्मतको क्रममा रहँदा टिपर लगायका साधनहरु छोटो बाटो भन्दै स्कुल छेवैको मैदानबाट जाँदा समस्या भएको बताए । नगरपालिकामा गुनासो गर्दा पनि सम्बोधन नभएको स्थानीयको भनाइ छ ।

शिक्षक नेपालले विद्यालय आउने विद्यार्थीहरुलाई सजिलो बनाउन भनी खनिएको बाटोमा टिपर गुड्डा धूलो उड्नेमात्र नभएर दुर्घटनाको पनि जोखिम बढेको बताए ।

फोटो : मधुसुदन नेपाल

:689 Views

Leave a Reply