स्कुले बेलाको स्मरणीय दसैँ

दसैँमा स्कुल बिदा हुन्थ्यो । बिहान सबेरै उठेर देवीका पीठहरूमा दर्शन गर्न पाइन्थ्यो । त्यहाँ कर्णप्रिय मंगल धुन बज्थे । दसैँका बेला शक्तिपीठमा गरिने पशुबलि भने मलाई पटक्कै मन पर्दैनथ्यो । आज पनि बलि प्रथा मन पर्दैन ।

दसैँका बेला दोबाटो, चौबाटोमा डमरु, माटाको भिउँट, पातका मुठा र सिन्का बेच्न राखेको दृश्य साह्रै रमाइलो लाग्थ्यो । नौरथा सुरु हुनेबित्तिकै कपडा किनेर कुर्ता वा फ्रक सिउन दिइन्थ्यो । सूचिकारको पसलमा हरेक दिन सिएर सकियो कि सकिएन भनेर सोध्नुपथ्र्यो । कुनै दिन नसोधी गए आमाले ‘ल ल काइँला दाइको पसलमा गएर सोधेर आऊ, नत्र दसैँमा पुरानै लुगा लगाउनुपर्ला’ भन्नुहुन्थ्यो ।

जुत्ता किन्न भने बुबाको बिदाको दिन मिलाएर जानुपथ्र्याे । न्युरोडमा बाटा कम्पनीको ठूलो पसल थियो । त्यसमा गएर गोडाभन्दा अलिक ठूलो जुत्ता किनिन्थ्यो, आफू ठूलो हुँदा जुत्ता सानो हुन्छ भनेर । बाबा स्कुलमा पनि लगाउन मिल्ने जुत्ता किनिदिनुहुन्थ्यो । आफूलाई चाहिँ अरू नै फेन्सी जुत्ता किन्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर, बोल्न सकिन्नथ्यो ।
दसैँको अर्को रमाइलो पक्ष पिङ खेल्नु र खेलेको हेर्नु हो । मेरो माइतीघरसँगै रहेको ठुलो मसलाको रूखमा पिङ हालिन्थ्यो । पिङ खेल्न र खेलेको हेर्न केटाकेटीदेखि किशोरकिशोरीसम्मको घुइँचो लाग्थ्यो । वर्षमा एकपल्ट धर्ती छोड्नैपर्ने मान्यताले गर्दा पिङ खेल्ने चलनमा मनोरञ्जन र दर्शन दुवै मिसिएको छ ।

नवमीका दिन हनुमानढोकास्थित तलेजु मन्दिर दर्शन गर्न हामी बिहान सबेरै उठ्थ्यौँ । साथीभाइ जम्मा भएर लाम लागी दर्शन गर्दा साह्रै रमाइलो हुन्थ्यो । वर्षको एक दिन मात्रै खुल्ने भएकाले तलेजु भवानीको मन्दिरमा प्रवेश गर्नेको लामो लाइन हुन्थ्यो ।

तामाको छाना, सुन्दर तोरण र टुँडालले गर्दा उपत्यकाको सबैभन्दा आकर्षक मन्दिरमा तलेजु पर्दछ । तलेजुको दर्शनपछि हामी साथीहरू कुमारीघर (अन्तिम मल्ल राजा जयप्रकाश मल्लद्वारा निर्माण गरिएको) गएर कुमारीको दर्शन र पूजा गर्दा साह्रै भावविभोर हुन्थ्यौ ।

दसैँको सबैभन्दा रमाइलो दशमीको दिन हो । यस दिन मान्यजनकहाँ टीका थाप्न जाने भएकाले नयाँ लुगा, जुत्ता लगाएर हिँड्दा शीतल हावाको झोक्काले मन त्यसै प्रफुल्ल र पुलकित हुन्थ्यो । बाबा, आमा, हजुरबा, हजुरआमा, काका, काकी, दाजु, दिदी, मामा, माइजू सबैले टीका लगाएर आशीर्वादसहित जमरा कपालमा सिउरिदिँदा हामी मक्ख पथ्र्यौं । पूजाकोठामा राखिएको जमराले खेतका गरामा रोपिएका धान, गहुँ, जौ र बारीको कान्लामा रोपिएको मकैको आभास दिन्छ । त्यसैले मलाई बाल्यकालमा जमराको मुठा–मुठा लगाउन रहर लाग्थ्यो ।

दक्षिणा पाएपछि त हाम्रो खुसीको ठेगान नै हुँदैनथ्यो । यसरी स्कुले जीवनको दसैँ मलाई निकै रमाइलो र स्मरणीय लाग्छ ।

:505 Views

Leave a Reply