स्कूलको सार्थकता प्रमाणित हुन सकेको छैन

डा. लवदेव अवस्थी, अध्यक्ष, भाषा आयोग
शिक्षा भनेको सिकाइ केन्द्रीत हुनुपर्छ । त्यसमा भाषा कहाँनिर कसरी जोडिन्छ भन्ने विषय पनि भयो । यी दुइटै कुराको अन्तिम गन्तव्य भनेको सिकाइ नै भयो । यदि सिकाइ छैन भने शिक्षाको महत्व छैन, भाषाको पनि महत्व छैन । यसकारण हामी पुग्नुपर्ने अन्तिम विन्दू भनेको सिकाई नै हो ।

म आफ्नै उदाहरणबाट सुरु गर्छु, रत्नराज्य क्याम्पसमा पढाउँदा एकदमै आउँथे, विद्यार्थीहरु । मेरो कक्षामा एकसय ४०, १ सय ५० जना विद्यार्थी हुन्थे । सबैभन्दा ठूलो हलचाहिँ मलाई दिन्थ्यो । म त्यतिबेला अँग्रेजी पढाउँथे । रत्नराज्य भनेपछि सबभन्दा हल्ला हुने ठाउँ थियो । उतापट्टि ल क्याम्पस, उतापछि विश्वभाषा क्याम्पस । सबै विद्यार्थी थुप्रिएर कक्षामा आउने सबैको शरणस्थलजस्तै थियो ।

अनि मेरो कक्षामा संयोगले हल्ला हुन्थेन, पटक्कै हल्ला हुन्थेन । क्याम्पस चिफ भन्नुहुन्थ्यो, हजुरको जस्तो कक्षा भइदिए कति सजिलो हुन्थ्यो सर भन्नुहुन्थ्यो । मलाई एकदमै खुसी लाग्थ्यो, एकदमै राम्रो लाग्थ्यो, विद्यार्थी सबैले बुझ्दा रहेछन् भन्ने मलाई पनि कहिलेकाहिँ अनुभूति हुन्थ्यो । अनि दुईतीन वर्षपछि मलाई कता कता भ्रम जाग्यो । साँच्चिकै विद्यार्थीले बुझेर गर्छन् कि नबुझेर गर्छन् कि ? भनेर मलाई कताकता आफैंप्रति शंका लाग्यो । मैले अनि ती विद्यार्थीहरुको दुईतीन वर्षको रिजल्ट हेरेँ । त्यहाँ त जम्मा २० प्रतिशत मात्र पास भएका थिए । १ सय ५० जति विद्यार्थी भएको ठाउँमा ३० जना भन्दा बढी विद्यार्थी पास भएको रेकर्ड थिएन ।

मैले हेर्दा एकदमै राम्रो थियो, विद्यार्थीहरु चुपचाप थिए, मलाई सबै उद्देश्य प्राप्त भएको जस्तो लाग्थ्यो । मैले शिक्षण त गरेँ तर सिकाइ त बहुतै निराशाजनक भयो त । सबै कुरा मैले बोलेको, विश्वविद्यालयले लगानी गरेको, सबै कुरा व्यर्थ भएको जस्तो रिजल्टले देखियो । ८० प्रतिशत जति विद्यार्थीले पाउनुपर्ने कुरा नपाएपछि हामी त व्यर्थको व्यायाममा रहेछौं भन्ने मलाई ठूलो पीडाबोध भयो ।

हामीले अहिले विद्यार्थीहरुको सिकाइको पक्षबाट बहस गर्नुपर्छ । शिक्षा मन्त्रालयको आफ्नो बुझाइ, सबैको बुझाइ के हो भने हाम्रा विद्यार्थीको सिकाइ राम्रो भएको अवस्थामा ४०÷४२ मा पुगेको छ, अरु विषयमा त त्यति पनि छैन । म कहिलेकाहिँ भन्छु, त्यति त ट्युशन पढेर पनि सिकिहाल्छ नि । अहिले भन्ने हो भने स्कूलको सार्थकता प्रमाणित हुन सकेको छैन,किनभने ३० प्रतिशत ४० प्रतिशत पास हुने भनेको त उसले घरमै बसेर पनि पढ्छ । हामीले गरेको पाठ्यक्रमको निर्माण, शिक्षकको व्यवस्थापन, पठनपाठनका तौरतरिका, भौतिक लगानीको सार्थकता प्रमाणित गर्ने आधार चाहिँ हामीले स्थापित गर्नुपर्छ ।

सबभन्दा मूल प्रश्न यही हो । हामीले सबै कुरा गर्यौं तर गरेको कुराको प्रमाणिकरण त भएको छैन । आजको बुझाइ कस्तो हुनुपर्छ भने हामीले सबै कुराको व्यवस्थापन गर्यौं, तर व्यवस्थापनको परिणाम त केही पनि भएन त । त्यसलाई सिकाइ भन्नुहुन्छ कि, गुणस्तर भन्नु हुन्छ, कसरी व्याख्या गर्ने भन्ने प्रश्न छुट्टै भयो । तर हाम्रो मूल प्रश्न भनेको अहिलेको लागि सिकाइ हाम्रा लागि एकदमै अप्राप्त्य छ अथवा अपूर्ण छ, त्यो कुरामा हामीले पहिलो कदम चाल्नुपर्छ । त्यसमा भाषा पनि जोडिने भो । विद्यार्थीहरुको सिकाइको पहिलो आधार भनेको त भाषा नै हो ।हाम्रो कक्षाकोठाको हिसाबले विद्यार्थीले जे भाषा बुझेको छ, बुझाइको आधारमा विषय र भाषाको प्रयोग गर्नुपर्छ ।

हाम्रो पहिलो गन्तव्य भनेको सिकाइको सिद्धान्त हुनुपर्यो, सिकाइ भनेको घोकाइको बुझाइ हुनु भएन । एसएसलसीमा वा पोष्ट एसएलसीमा पडिष्टिङ्शन ल्याउँछ, तर डिष्टिङ्शन के हो भन्ने थाहा छैन, त्यो त राम्रो कुरा हैन, हामीले खोजेको कुरा त्यो हैन, हामीले खोजेको कुरा के हो भने उसको जुन गुणस्तर छ, सिकाइ छ, सिकाइको सुनिश्चितता भनेको जीवनसितको सम्बन्ध हो । त्यो कति कामियाव छ, कति समाजको लागि सार्थक छ । कति उसले आफ्नो पक्षलाई सशक्त बनाउँछ भन्ने हिसाबले सवलीकरणमा जानुपर्छ ।

समृद्धिको कुरा पनि जोडिन्छ, यससमा । जब हाम्रा विद्यार्थी ज्ञानबाट स्थापित हुँदै जान्छ भने देश त स्वत : समृद्धितिर जान्छ नि । कृत्रिम किसिमको समृद्धि खोजेका हैन हामीले । हाम्रो गन्तव्य भनेको हाम्रा विद्यार्थीहरुको सिकाइ हो । सिकाइ भयो भने त्यहाँ भाषाको चिन्ता गर्नुपर्दैन, सबै कुरा सम्भव छ ।

अँग्रेजी राम्रो गर्ने हो भने, मातृभाषाबेगर अँग्रेजी राम्रो हुनै सक्तैन। अँग्रेजी राम्रो बनाउने, नेपाली राम्रो बनाउने हो भने त उसको भाषा पहिला राम्रो हुनुपर्यो नि । जगमा यदि उसले बुझ्ने भाषा राखिएन भने त त्यहाँ नेपाली पनि टुट्छ, अँग्रजी पनि टुट्छ । अहिले भएको पनि त्यही हो । अहिले हाम्रा विद्यार्थी हेनुस् न कुनै भाषामा उसको दक्षता छैन । खाली सतही छ । सतही रुपमा एकदुई शब्द नेपालभाषाको नि बोल्ला, दुईचार कुरा नेपालीमा नि बोल्ला, दुईचार कुरा अँग्रेजीमा पनि बोल्ला । तर उसको भाषा के हो भन्ने नि थाहा छैन । पकडहीन किसिमको शिक्षा अहिलेको लागि घातक हो । यदि हामीले पकडसहितको शिक्षा दियौं भने नेपालको चिन्तै गर्नुपर्दैन, त्यसले देश हाँक्छ ।

अहिलेका विद्यार्थी बिग्रनुमा अरु नभएर हाम्रै कारणले बिग्रिएका हुन् । हामीले प्रायश्चित गर्नुपर्छ, किनभने हामीले लगत बाटोबाट अगाडि बढायौं, भ्रमको कारणले अघि बढायौं । स्थानीय सरकार भ्रममा छन्, हामी सबै भ्रममा छौं । हामी दिग्भ्रमित भएका छौं ।

कुनै पनि मुलुकले अरुको भाषा ल्याएर विकास गरेको छैन । आफ्नो भाषाबाट शिक्षा दिन्छ, आफ्नो भाषाबाट विकास गर्छ ।

शिक्षा पत्रकार समूहले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा व्यक्त विचारको सार ।

:561 Views

Leave a Reply