स्कूल–कलेजले विद्यार्थीको सुत्ने समय त चोर्दै छैन?

नयाँ स्कूल । नयाँ शैक्षिक वर्ष । नयाँ माहोल । सबथोक नयाँ भन्दैमा हाम्रा नानीबाबु रमाइरहेका छन् भन्ने ग्यारेन्टी छैन । धेरै स्कूलमा धपेडी पनि धेरै छ । एकाबिहानै दौडधुप । स–साना केटाकेटी ७ बजे आँखा मिच्दै स्कूलबस कुरिरहेका हुन्छन् । कति त स्कूलै पुगिसक्छन् ।

छिटो उठ्न छिटो सुत्नुपर्यो । यसो गर्ने मान्छे स्वस्थ हुन्छ भनेर स्कूलमा पढाइन्छ । व्यवहारमा अमल गर्न गाह्रो । आमाबाबुसँगै धेरै केटाकेटी राति ढिला सुत्छन् । पहिले घरमा एउटा टेलिभिजन हुन्थ्यो । झर्को लाग्दो कार्यक्रम भए केटाकेटी काखैमा निदाइदिन्थे । अचेल त ल्यापटप, ट्याब, हात–हातमा मोबाइल । मन भुल्ने बाटो अनेक छन् । जति भुल्छ मन, उति भाग्छ निद्रा ।

अबेरसम्म उल्लूसरी जागा आँखा कुखुराको डाँकसँगै जागोस् कसरी? नानावली विदा दिने हाम्रा स्कूलमा निद्राविदाको नियम पनि त छैन ! थाकेका आँखालाई जोरजबर्जस्ती तन्काउँदै स्कूल नपुगी धर छैन । त्यही भएर अचेल हाम्रा केटाकेटी निद्राग्रस्त छन् । दुर्गमका बालबालिका पोषण नपाएर कुपोषणग्रस्त, सुगमका सुत्न नपाएर निद्राग्रस्त ।

कम्तीमा आठ घन्टा सुत्नुपर्छ रे । केटाकेटीलाई दस घन्टा । यो स्कूल, कलेजमै पढाइन्छ । त्यही स्कूल, कलेजले हाम्रा नानीबाबुलाई सुत्ने समय दिएको खोइ?

निद्रासम्बन्धी अनुसन्धान गर्ने ‘अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिन’ ले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीको सुताइ अध्ययन गरेको थियो ।

अध्ययनअनुसार प्रत्येक चारमा तीन जनाले आठ घन्टा सुत्न पाएका छैनन् । निद्रा नपुग्नु सुखद् खबर होइन । यसले स्वास्थ्य, करिअर, पढाइ र सोच्न सक्ने क्षमतामा हानी पुर्याउँछ । राम्ररी ननिदाएका केटाकेटीले कक्षामा ध्यान दिन सक्दैनन् । उनीहरूको स्मरणशक्ति कमजोर हुँदै जान्छ । यसले पढाइमै नकारात्मक असर पार्छ ।

अनिँदो केटाकेटीमा भावनात्मक समस्याहरू पनि आउँछन् । मानसिक रोगको जोखिम बढ्छ । मोटाउने समस्या देखिन्छ । मधुमेह, तनाव, मुटुका रोग र क्यान्सरको सम्भावना बढाउँछ ।
अब त तपाईं झस्किनुभयो होला नि ! अनिँदो अवस्थाले ल्याउने यी जोखिमपछि अब यसका कारणबारे चर्चा गरौँ । हाम्रा केटाकेटीलाई किन निद्रा पुर्याउन गाह्रो भइरहेको छ? अभिभावक र स्कूल–कलेजले कसरी मद्दत गर्न सक्छन्?

रोग नियन्त्रणसम्बन्धी एक सर्वेक्षणअनुसार माध्यमिक स्कूलमा पढ्ने ४३ प्रतिशत केटाकेटी रातको औसत तीन घन्टाभन्दा बढी ल्यापटप चलाउँछन् । चाहे त्यो स्कूलकै काम गर्न होस् वा भिडियो गेम खेल्न ।

सबभन्दा पहिला, शरीर विज्ञानको आधारभूत तथ्य । किशोरावस्थामा शारीरिक परिवर्तनहरू आउँछन् भन्ने सबैलाई थाहा छ । त्यसैमध्ये एक हो, निद्रा । सानो उमेरका केटाकेटी छिटो सुत्छन् । छिटै ब्युँझन्छन् । किशोरावस्था लागेपछि त्यति छिटो निद्रा पर्दैन । छिटो ब्युँझन पनि सक्दैनन् । राति अबेरसम्म जागा बस्छन् र ढिलासम्म सुत्छन् ।

छोराछोरीको यस्तो बानीले कति आमाबाबुलाई दिक्क लाग्ला । कतिले त गाली नै गर्लान् । यो उनीहरूको आलस्य होइन । शारीरिक परिवर्तनको उपज हो । किशोरावस्थामा मस्तिष्कले प्रकाशसँग गर्ने प्रतिक्रिया फेरिन्छ । अत्याधुनिक उपकरणहरूले यसमा थप प्रभाव पार्छ । धेरै किशोरहरू अचेल अबेरसम्म स्क्रिनको उज्यालोमा बस्छन् । चाहे त्यो ल्यापटप होस्, या मोबाइल ।

प्यू रिसर्च सेन्टरको यस वर्षको प्रतिवेदनअनुसार १३ देखि १७ वर्ष उमेरका ९५ प्रतिशत केटाकेटी स्मार्टफोन चलाउँछन् । सन् २०१२ मा ३७ प्रतिशत थियो भने २०१५ मा ७३ ।

रोग नियन्त्रणसम्बन्धी एक सर्वेक्षणअनुसार माध्यमिक स्कूलमा पढ्ने ४३ प्रतिशत केटाकेटी रातको औसत तीन घन्टाभन्दा बढी ल्यापटप चलाउँछन् । चाहे त्यो स्कूलकै काम गर्न होस् वा भिडियो गेम खेल्न ।

नयाँ पुस्तालाई स्क्रिनमा झुम्याउने अनेक बहाना छन् । ‘नेटफ्लिक्स’ र ‘युट्युब’ को लोकप्रियता बढ्दो छ । फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याटजस्ता सामाजिक सञ्जालमा समय यसै बित्छ । यसले औसत दिनको छ घन्टाभन्दा बढी समय आँखा स्क्रिनमा टाँसिएकै हुन्छ ।

स्क्रिन र निद्रा एकअर्काका दुश्मन । पानी बराबार । एउटा झुल्किए, अर्को बेपत्ता । बढी समय स्क्रिनमा बिताउनेलाई निद्रा नलाग्ने त्यही भएर हो । मन भुलेपछि आँखामा निद्रा आओस् कसरी ! भागेको निद्रा सजिलै फर्कोस् कसरी !

निद्रा नपर्नु भनेको आराम गर्ने समय घट्नु मात्र होइन । हाम्रो शरीरले निद्रा लगाउन एक प्रकारको हर्मोन उत्पादन गरिरहेको हुन्छ, जसलाई ‘मेलाटोनिन’ भनिन्छ । यो हर्मोनले ‘सुत्ने बेला भयो है’ भनेर मस्तिष्कलाई सन्देश दिन्छ । सन्देश पाएपछि आँखा लोलाउन थाल्छन् । मस्तिष्कको सक्रियता घट्दै जान्छ ।
केही गरी हर्मोन उत्पादनमा गडबडी भयो भने निद्रा खल्बलिन्छ । नयाँ पुस्ताको समस्या यही हो ।

अध्ययनअनुसार एलइडी, टिभी, ट्याबलेट र स्मार्टफोनबाट निस्कने निलो प्रकाशले निद्रा लगाउने हर्मोनलाई दबाइदिन्छ । अबेरसम्म स्क्रिनको प्रकाशमा बस्दा मस्तिष्कलाई रात परेको अनुभूति हुँदैन । मस्तिष्कले रातलाई दिउँसै ठान्छ । फलस्वरूप, शरीरले ‘मेलाटोनिन’ हर्मोन उत्पादन गर्दैन । हर्मोन गडबड भएपछि आँखामा निद्रा पर्दैन ।

यसको समाधान, अभिभावकले केटाकेटीका लागि स्क्रिन (टिभी, ल्यापटप, ट्याब, मोबाइल) समय तोक्दिनुपर्छ । हरेक दिन निश्चित समय मात्र स्क्रिनको उज्यालोमा बस्न प्रेरित गर्नुपर्छ । सुत्ने समयभन्दा एक घन्टाअगाडि कोठामा उज्यालो प्रकाश कम गर्नुपर्छ । यो बेला एलइडीको चम्किलो प्रकाश बन्द गर्नु हाम्रो निद्राको लागि फाइदाजनक छ । स्क्रिनको उज्यालोको समस्यालाई अझ बढाउने काम गर्छ, स्कूल–कलेजमा एकाबिहानै लाग्ने कक्षाले ।

सन् २०१५ को तथ्यांकअनुसार ८६ प्रतिशत माध्यमिक विद्यालय बिहान साढे ८ बजे सुरु भइसक्छन् । दसमध्ये एउटा माध्यमिक विद्यालयमा साढे ७ बजेभन्दा अगाडि नै पहिलो घन्टी लागिसक्छ ।
यति छिट्टै स्कूल लागेपछि केटाकेटी र किशोरहरू ६ बजे आँखा मिच्दै उठिसक्नुपर्छ । उनीहरूलाई तयार पार्न आमाबाबु ४ बजे जाग्नुपर्छ । यो त्यस्तो समय हो, जब चौबीस घन्टामा हाम्रो मस्तिष्क सबभन्दा कम सक्रिय हुन्छ ।

बिहान स्कूल गइरहेका केटाकेटीको चाल हेर्नुस् त! अधिकांश शिथिल र सुस्त देखिन्छन् । कुनै ऊर्जा हुन्न । खरायोझैं उफ्री– उफ्री स्कूल जानुपर्ने उनीहरू कछुवा गतिमा हुन्छन् । पाइलामा गह्रौं ढुंगाको भारी बोकेर हिँडेजस्तै । दोष उनीहरूको होइन । दोष त्यो समयको हो, जब उनीहरूलाई स्कूल डाकिन्छ ।

बालरोगसम्बन्धी अमेरिकी एकेडेमीले सन् २०१४ मा एउटा सिफारिस गरेको थियो, जसमा निम्नमाध्यमिक र माध्यमिक तहको पढाइ साढे ८ बजेभन्दा अगाडि सुरु नगर्न भनिएको छ । यो प्रस्ताव अमेरिकन मेडिकल एसोसिएसन तथा अन्य थुप्रै स्वास्थ्य संगठनहरूले स्वीकार गरेका छन् ।

स्कूल–कलेजमा ढिला पढाइ सुरु हुन थाले विद्यार्थीले धेरै समय सुत्न पाउँछन् । उनीहरूको निद्रा पुग्छ । निद्रा पुगेपछि फुर्तिलो भएर स्कूल जान्छन् । हाजिरी बढ्छ । विद्यार्थीको एकाग्रता बढ्छ । पढाइ सुध्रिन्छ । जाँचको नतिजा राम्रो हुन्छ । महत्वपूर्ण कुरा त, निद्रा नपुगेर कक्षामै झप्प निदाउने समस्या सुल्झन्छ । यसले समग्रमा शैक्षिक उपलब्धि बढ्छ ।

साढे ८ बजेपछि स्कूल खोल्दा एक दशकभित्र राष्ट्रिय अर्थतन्त्रलाई कम्तिमा ८३ अर्ब अमेरिकी डलरको योगदान पुग्ने आरएएन्डडी कर्पोरेसनको अध्ययनले देखाएको छ । बु्रकिङ्स इन्स्टिच्युसनले ढिला स्कूल खुल्दा जीवनभरको आम्दानीमा औसत १७ हजार ५ सय डलर वृद्धि हुने हिसाब निकालेको छ ।

यिनै विभिन्न अध्ययनका आधारमा सन् २०१४ यता अमेरिकाका थुप्रै राज्यले स्कूल खुल्ने समयबारे कानुन पारित गरेका छन् । क्यालिफोर्नियाले अगस्टमा पारित गरेको कानुन एक कदम अगाडि छ । त्यहाँ सन् २०२१ सम्म निम्नमाध्यमिक र माध्यमिक तहका सबै स्कूल साढे ८ वा त्योभन्दा ढिलो सुरु हुनुपर्ने कानुन बनेको छ ।

स्कूलको समय परिवर्तन निम्ति सन् २०११ देखि काम गर्दै आएको संस्था ‘स्टार्ट स्कूल लेटर’ का टेयरा जिपोरिन स्निडर क्यालिफोर्नियाको उक्त कानुनलाई ‘कोशेढुंगा’ मान्छिन् ।

क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले भने स्थानीय अधिकारीको विरोधका बाबजुद उक्त कानुन तत्काललाई फिर्ता लिएका छन् । यसले केटाकेटीको मानसिक र शारीरिक स्वास्थ्यप्रति बेवास्ता गरेको भन्दै आलोचना भइरहेको छ ।

‘बिहान–बिहानै स्कूल खोल्ने चलन अस्वीकार्य हुँदै गएको छ । यो कानुनले त्यही भावना प्रतिविम्बित गर्छ,’ उनले भनिन्, ‘केटाकेटी र किशोरहरूको हितमा ल्याइएको यो कानुन ढिलोचाँडो पारित हुन्छ ।’

यो परिवर्तनमा विद्यार्थीका अभिभावकको पनि महत्वपूर्ण भूमिका रहन्छ । सामुदायिक अभियन्ता, निद्रासम्बन्धी शोधकर्ता, स्वास्थ्यकर्मी र शिक्षाविद्हरूले स्कूल सुरु हुने समयलाई लिएर उठाउँदै आएको एजेन्डामा अभिभावक पनि समाहित हुनुपर्छ ।

आफ्ना नानीबाबुको स्वास्थ्यको पहिलो सरोकार उनीहरूकै हो । यसमा उनीहरूको आफ्नै स्वास्थ्य पनि जोडिएको छ। बिहान साढे ८ बजेभन्दा अगाडि स्कूल सुरु हुनुहुन्न भन्नेमा अभिभावक तर्फबाट पनि जोडदार आवाज उठ्नुपर्छ ।

(यो लेख हामीले न्यूयोर्क टाइम्सबाट साभार गरेका हौँ । लेखक हेनरी निकोल्स विज्ञान शिक्षक र पत्रकार हुन्।)

:644 Views

Leave a Reply