कविता लेखन प्रशिक्षणमा रमाए विद्यार्थी

भक्तपुर १ भदौ । चम्पक विद्यापीठ सेकेण्डरी स्कुल, चाँगुलेले कविता लेखन प्रशिक्षण कार्यक्रम गरेको छ ।

निम्न माध्यमिक तहदेखि माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीलाई साहित्य तथा कविता लेखनबारे जानकारी दिन प्रशिक्षण दिइएको हो ।

विद्यार्थीहरुमा रहेको सिर्जनात्मक क्षमता र प्रतिभालाई वृद्धि गर्न प्रशिक्षण दिइएको विद्यालयका प्रिन्सिपल रमेश सुवालले जानकारी दिए ।

‘विद्यार्थीहरुमा कविता लेखनको सीप विकास गर्न तथा उनीहरुलाई कविता लेख्ने तरिकाबारे जानकारी दिन प्रशिक्षण दिइएको हो ।’ प्रिन्सिपल सुवालले भने ।

प्रशिक्षणमा सञ्चारकर्मी एवं स्रष्टा हरिसुन्दर छुकांले कविता लेखनको विषयमा कक्षा सञ्चालन गरेका थिए । सो क्रममा उनले विद्यार्थीले कविता लेख्नुका महत्व, तरिका र कारणबारेमा बताउँदै कविताले पठनपाठनमा पनि सहयोग पुग्ने बताए ।

कविता लेखन र पठनले विद्यार्थीलाई अध्ययनशीलमात्र नभएर विद्यार्थीको सोच्ने शक्तिमा विकास गर्न सहयोग पुग्ने बताए । विद्यार्थीलाई प्रयोगात्मक रुपमै कविता लेखनको कक्षा सञ्चालन गर्दै उनले विभिन्न कविता वाचन पनि गरेका थिए ।

कविता लेखन सम्बन्धमा विद्यालयका विद्यार्थीहरुलाई दिइएको प्रशिक्षणका क्रममा कविता लेखनले विद्यार्थीलाई पुगेको लाभका विषयमा पनि चर्चा भएको थियो ।

:2045 Views

Leave a Reply