तपाइँको विद्यालयमा एकहजार बढी विद्यार्थी छन् ?, छन् भने पाउनुहुनेछ रु. १० लाख

भक्तपुर १३ भदौ । सरकारले एकहजार बढी विद्यार्थी पढिरहेका विद्यालयको फेहरिष्ट तयार गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र(साविकको शिक्षा विभाग) ले विद्यार्थी संख्या अधिक भएका विद्यालयहरुको नामनामेसी संकलन गरेको जनाएको छ । विद्यार्थी बढी भएका विद्यालयलाई विद्यालय क्षेत्र विकास योजनाअन्तर्गत रु. १० लाख रकम अनुदान दिनका लागि विद्यालयहरुको नामनामेसी संकलन गरिएको केन्द्रको कार्यक्रम शाखाले जनाएको छ ।

केन्द्रका अनुसार देशभर एकहजार बढी विद्यार्थी संख्या भएका विद्यालयको संख्या ३ सय ८९ रहेका छन् ।

ती विद्यालयहरुलाई आर्थिक अनुदान पनि उपलब्ध गराएको केन्द्रको भनाइ छ ।

केन्द्रका अनुसार एहकजार बढी विद्यार्थी भएका विद्यालयहरुमध्ये उदयपुरमा १, सिन्धुलीमा १, रामेछापमा १, गोर्खामा १, भक्तपुरमा १, लमजुङमा १, बाग्लुङमा १, धादिङमा १, अर्घाखाँचीमा १, प्युठानमा १, रोल्पामा १, सल्यानमा १, दैलेखमा १, मुगुमा १, बाजुरामा १, अछाममा १, दार्चुलामा १, पश्चिम रुकुममा १, सिन्धुपाल्चोकमा १ विद्यालय मात्र छन् ।

त्यस्तै कञ्चनपुरका २, पाल्पाका २, बझाङका २ र ललितपुरका २ विद्यालयमा मात्र हजारबढी विद्यार्थी छन् भने तनहुँका ३, सुनसरीका ३, सुर्खेतका ४, पूर्वी नवलपरासीका ४, पश्चिम नवलपरासीका ४ विद्यालयमा पनि सोको संख्यामा विद्यार्थी छन् ।

केन्द्रले कास्कीका ५, बाँकेका ७, दाङका ८, चितवनका ८, झापाका ११, काठमाडौंका ११, मकवानपुरका ११, रुपन्देहीका १२, मोरङका १३, बर्दियाका १३, कैलालीका १४, सप्तरीका १५, सिराहाका १८, कपिलवस्तुका २०, रौतहटमा २२ विद्यलायमा पनि एकहजार बढी विद्यार्थी अध्ययन गरिरहेको जनाएको छ ।

यतिमात्र नभएर पर्साका २२, धनुषाका २७, बाराका ३२, सर्लाहीका ३७,र महोत्तरीका ३८ विद्यालयमा एकहजार बढी विद्यार्थी रहेको पनि केन्द्रले जनाएको छ ।

देशभरका करिब ३० हजार सामुदायिक विद्यालयमध्ये जम्मा ३८९ वटा विद्यालयमा मात्र एकहजारभन्दा बढी विद्यार्थी अध्ययनरत देखिएको जनाउँदै केन्द्रको कार्यक्रम शाखाका अर्जुन ढकालले विद्यालयको भौतिकदेखि पठनपाठन सुधारमा सहयोग पुर्याउन आर्थिक अनुदान उपलब्ध गराएको बताए ।

अनुदान पाएका विद्यालयमध्ये भक्तपुरको वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले सो अनुदानले विद्यालयमा प्रयोगशाला र पुस्तकालयको विकासमा लगानी गरिने बताए ।

:2741 Views

Leave a Reply