तपाइँ कस्तो शिक्षक ? जागिरे कि…

हरिसुन्दर छुकां / शिक्षाविद् इग्न्यासियो न्याचोले भनेका छन्, ‘यदि हामीले पढाएको तरिकाले विद्यार्थीहरूले बुझेनन् भने शिक्षण विधिलाई उनीहरूले बुभ्mने तरिकामा बदल्नुपर्छ भनेका छन् ।’ यसको अर्थ शिक्षण विधि शिक्षक केन्द्रित होइन कि विद्यार्थीहरूले बुझ्ने तरिकामा आधारित हुनुपर्छ भन्ने हो । हाम्रोमा शिक्षण केवल विषयवस्तुको वर्णन गर्ने, कण्ठस्थ गर्न लगाउने, घोकाउने जस्ता पुरातन शैलीबाट प्रभावित भएकाले हाम्रो देशका शिक्षालयहरू परम्परागत शिक्षण शैलीबाट माथि उठ्न सकेका छैनन् ।

भन्नै पर्दैन कि ‘विद्यालयको समग्र वातावरणमा सिर्जनशीलतालाई फलाउने फुलाउने भूमिकाका माली शिक्षक नै हुन् ।’ एक शिक्षक भन्छन् ।

यसैले उनको ठहर छ, शिक्षकलाई सिर्जनशील बनाउन उत्प्रेरणा चाहिन्छ । भन्छन्, ‘उत्प्रेरणाको सूत्रको साथ लिनुपर्छ । विद्यालयको सेरोफेरोमा उभिएका शिक्षक, विद्यार्थी, अभिभावक र अन्य यसै नातागोताका निकाय समेतलाई यसमा समेट्नुपर्छ ।’

काठमाडौंको पेप्सिकोलास्थित पाणिनी स्कुलका प्रिन्सिपल एवं एनप्याब्सनका पूर्व अध्यक्ष कर्णबहादुर शाही शिक्षक आफै सिकारु भएकाले शिक्षक सिक्नको लागि जागरुक हुनु जरुरी ठान्छन् । शिक्षामा सिर्जनशीलता भित्र्याउने काम स्वयम् शिक्षकबाटै हुनुपर्नेमा दुईमत छैन । उनी भन्छन् । ‘शिक्षकहरुलाई अहिले सहजकर्ता मान्न थालिसकेका छौं । सहजकर्ता भन्नासाथ विद्यार्थीको लागि पनि र आफ्नै लागि पनि सहजकर्ता हो । कुनै कुराको विषयवस्तु विद्यार्थीमाझ पुर्याउनका लािग प्रिहोमवर्क शिक्षकले गर्नुपर्छ । त्यसमा लेशन प्लानका कुरा पनि छ, कक्षाकोठा व्यस्थापन पनि हुन सक्छ । शिक्षकले प्रि होमवर्क र पोष्ट होमवर्क दुबै गर्नुपर्छ । अहिलेको आधनुनिक शिक्षाको लागि सिर्जनशीलता अनिवार्य छ । ’

सञ्जिवनी मावि, काभ्रेका प्रधानाध्यापक सानुकाजी महत शिक्षकमा आफूसग भएको खुबीलाई विद्यार्थीको खुबीसँग मिलाउन सक्ने क्षमतालाई शिक्षकको सिर्जनशीलताका रुपमा परिभाषा दिन्छन् । उनी भन्छन्, ‘शिक्षण सिकाइ क्रियाकलापको लागि जसरी हामी विद्यार्थीलाई सिकाउन अघि जान्छौं, शिक्षकले अगाडि जानका लागि शिक्षकले उसलाई तयार पारेर, विद्यार्थीलाई तयारी अवस्थामा लिएर जान सक्ने अवस्था बनाउन सक्ने खुबीलाइृ नै शिक्षकको सिर्जनशीलता हो ।’

‘शिक्षकमा सिर्जनशीलता भएन भने उसले सिकाउने सीप, पढाउने विषय कमजोर हुन्छ । यसैले यो शिक्षकमा हुनुपर्ने अपरिहार्य गुण नै हो ।’ भन्दै अमरदीप मावि, काठमाडौंका प्रअ सुन्दर पन्त अगाडि जोड्छन्, ‘जति शिक्षक सिर्जनशील हुन सक्यो, त्यति नै केटाकेटीहरुलाई शिक्षण विधिमा नयाँ नयाँ विधिबाट अध्यापन गर्न सकिन्छ र आफूले सिकेका सिर्जनशीलता विद्यार्थीमा सार्न सकिन्छ । केटाकेटीहरुलाई पनि सिर्जनशील बनाउन मद्दत पुग्छ । आफूमा भएको प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्छ ।’

शिक्षक भनेको अरु पेशाजस्तो होइन, यसैले अरु पेशामाभन्दा शिक्षण पेशामा बढी सिर्जनशीलता आवश्यक छ । विद्यार्थीको पठनपाठन र उनीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गर्ने काममा सहयोगीको भूमिका एक सिर्जनशील शिक्षकले मात्र सक्छ । रत, प्रअ पन्त जोड दिन्छन्, ‘शिक्षकमा एक त विषयतगत दक्षता हुनुपर्यो । त्यो आफैमा सिर्जनशीलता हो । त्यसपछि ऊसँग भएका विभिन्न साहित्य, कला आदिको लगावलाई विद्यार्थीसँग जानेका, बुझेका, सिकेका र भोगेका कुराहरु बताउन सकियो भने विद्यार्थीमा कौतुहुलता आउँछ । विद्यार्थीमा त्यो कौतुहुलता, जिज्ञासा बढाउन सकियो भने शिक्षकको सिर्जनशीलता प्रष्ट देखिन्छ । जति शिक्षक सिर्जनशील बन्न सक्यो, त्यति नै धेरै विद्यार्थी सिर्जनशील बन्छन् ।’

यसैगरी सामुदायिक इग्लिस स्कूल, पनौतिका प्रिन्सिपल पूर्णकुमार श्रेष्ठ पनि सिकाई उपलब्धिका लागि नभई नहुने तत्व भएको उल्लेख गर्छन्, शिक्षकको सिर्जनशीलता । ‘जति शिक्षकको सिर्जनशीलता राम्रो छ, त्यति नै बालमैत्री, विद्यार्थीमैत्री ढंगले शिक्षण सिकाइ गराउन सफल भएका छन् । शिक्षकको नयाँ नयाँ सिर्जन कार्य, नयाँ अध्ययन, अनुसन्धान, नयाँ विधिद्वारा पठनपाठनले विद्यार्थीहरुलाई सिक्ने क्रममा धेरै हौसला र मद्दत पुग्ने गरेको छ ।’

केटाकेटीलाई स्वस्फूर्त र रमाइलो वातावरणको कक्षाकोठा निर्माण गर्ने काम शिक्षकको नै हो । उसले दण्डरहित र मायालु वातावरणमा सिर्जनात्मक क्रियाकलाप अपनाई सिकाइएका अभिन्न पक्षलाई आंगीकार गरेको हुनुपर्छ ।

शिक्षकले जहिले पनि आफूलाई सिकारुका रूपमा स्विकारी नयाँ नयाँ कुरा सिक्न उत्सुक हुनु साथै शिक्षण पेसाप्रति हमेसा समर्पित हुन सक्नुपर्छ । यस्तो शिक्षकले नै विद्यार्थीको ज्ञान, सीप र प्रवृत्तिमा परिवर्तन ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ ।

शिक्षकमा सिर्जनशीलता नभएर परम्परागत तरिकाले मात्र पढाइ हुने र त्यो खालको पढाइले शिक्षाको उद्देश्य पनि पूरा नहुने उनी बताउँछन् । गम्भीर समुद्र सेतु मावि, ललितपुर, इमाडोलका प्रअ देवेन्द्र महर्जन भन्छन्, ‘पाठ्यक्रमले तोकेका वस्तुहरु, पाठ्यवस्तुले तोकेका उद्देश्यहरु विद्यार्थीमा सरल र सहज अनि उनीहरुले बुझ्ने भाषाबाट प्रशारित गर्न, सिकाउन सक्ने क्षमता भएका शिक्षक नै सिर्जनशील शिक्षक हुन् ।’

एक शिक्षकले विभिन्न माध्यमले कक्षामा सिर्जनशीलता प्रस्तुत गर्न सक्ने उनको ठम्याइ छ । भन्छन्, ‘कोहीले कथामार्फ्त, कोहीले कविता मार्फत् दिन सक्छ, कसैले चित्रकलामार्फत् । जसरी दिए पनि विद्यार्थीलाई सिकाउन सक्षम हुनुपर्छ ।’

(शिक्षकको सिर्जनशीलतासम्बन्धी थप लेख, विचार नुवागी शैक्षिक मासिकको भदौ अंकमा प्रकाशित छ : सम्पादक)

:1438 Views

One thought on "तपाइँ कस्तो शिक्षक ? जागिरे कि…"

  1. karun says:

    ramro news

Leave a Reply