‘मैले भनेको मान्छे अध्यक्ष भए विद्यालय राम्रो हुन्छ’

विव्यसमा नगर कार्यपालिकाको ‘हस्तक्षेप’

काभ्रे १५ भदौ । ‘मैले भनेको मान्छे अध्यक्ष भए विद्यालय सुधार हुन्छ’ भन्ने सोचका साथ नगर शिक्षा कार्यविधि तयार गरिएको छ ।

स्थानीय तहमा माध्यमिक तहको शिक्षाको अधिकार आएको १५ महिनापछि बल्ल काभ्रेको बनेपा नगरपालिकाले कार्यविधि तयार गरेको हो ।
कार्यविधिमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नगरपालिकाले भनेको व्यक्ति हुने प्रावधान छ ।

बनेपा नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी नगर कार्यपालिकाले कार्यविधि जारी गरेको बताउँदै नगर शिक्षा शाखा प्रमुख शिवराज त्रिपाठीले ‘बनेपा नगरपालिका विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमन कार्यविधि, २०७५’ तयार भएको जानकारी दिए ।

सो कार्यविधिको परिच्छेद ५ मा विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्था गरिएको छ । सोही व्यवस्थामा ‘ सदस्यहरुमध्येबाट आधारभूत तहको विद्यालयको अध्यक्ष सम्बन्धित वडा समितिले र माध्यमिक तहको विद्यालयको अध्यक्ष नगर कार्यपालिकाले तोक्नेछ ।’ भन्ने वाक्यांश समावेश गरिएको छ । यसले विद्यालयको सञ्चालन, रेखदेख, निरीक्षण र व्यवस्थापन गर्ने, विद्यालयको लागि चाहिने आर्थिक स्रोत जुटाउने, शिक्षक तथा कर्मचारीलाई तालिमको लागि छनौट गर्नेलगायतका अधिकारमा नगरपालिकाले ‘हस्तक्षेप’ गर्ने नीति बनाएको नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकले बताए ।

‘विद्यालयलाई नियमन गर्ने मुख्य निकायमै नगरपालिकाले आफूले चाहेको व्यक्ति अध्यक्ष हुँदा विद्यालय सञ्चालनमा समस्या हुन्छ, यसले शिक्षासम्बन्धी नबुझेका व्यक्ति पनि आउन सक्छ ।’ अर्का एक विद्यालयका प्रधानाध्यापकले भने ।

समितिमा अभिभावकहरुले आफूहरुमध्येबाट छानी पठाएका दुई जना महिला सहित चार जना सदस्य, नगरपालिकाको सम्बन्धित वडाको वडाध्यक्ष वा वडा समितिले तोकेको वडा सदस्य एकजना सदस्य हुने व्यवस्था कार्यविधिले बनाएको शिक्षा शाखा प्रमुख त्रिपाठीले बताए ।

नगरपालिका उपमेयरले कार्यविधि भदौको २ गते पास भएको जानकारी दिँदै कार्यविधिमा नगरपालिकाले तोकेको व्यक्तिलाई नै विव्यस अध्यक्ष बनाउनु पर्नाको कारणबारे आफूलाई थाहा नभएको बताइन् । ‘नगरपालिकाले तोकेकै व्यक्तिलाई अध्यक्ष बनाउनुपर्नाको कारणबारे मेयरसाबलाई सोध्नुस्, मसँग नसोध्नुस् ।’

मेयर लक्ष्मीनरसिँह बादेश्रेष्ठले नगरको शिक्षालाई अझ राम्रो बनाउनका लागि नगरप्रमुखले भनेकै व्यक्ति अध्यक्ष हुनुपर्ने प्रावधान राखिएको बताए । ‘यो व्यवस्थाले यो नगरपालिकामा म मेयर हुनु र अरु मेयर हुनुमा फरक परे जस्तै हो, त्यही भएर मैले भनेको व्यक्ति अध्यक्ष भए, त्यसले विद्यालयलाई राम्रो गर्छ ।’

:833 Views

Leave a Reply