पर्खालभित्रका स्कुल भत्काउनुपर्छ :महानिर्देशक

भक्तपुर १७ भदौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले चार पर्खालभित्र सीमित शिक्षालाई अझ व्यापक बनाउनुपर्ने बताएका छन् । त्यसका लागि ती पर्खाल भत्काउनुपर्ने उनको सुझाव छ ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस, राष्ट्रिय शिक्षा दिवसको सन्दर्भमा केन्द्रले आज आयोजना गरेको पत्रकार भेटघाटका क्रममा महानिर्देशक पौडेलले लाक्षणिक रुपमा चार दिवारभित्र सीमित शिक्षाको दायरालाई फराक बनाउनुपर्ने बताएका हुन् ।
‘चारवटा पर्खालभित्रको स्कुल भत्काएर हामी मिडियामार्फत् जानुपर्छ ।’ उनले भने । त्यसका लागि उनले मिडियालाई नै स्कुलका रुपमा विकास गर्नुपर्ने पनि बताए ।
भेटघाटका क्रममा ३९ औं शिक्षा तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा स्थानीय तहदेखि केन्द्रसम्म विभिन्न कार्यक्रम सम्पन्न गरिने जानकारी दिँदै अहिलेसम्म पनि २ दशमलब ८ प्रतिशत बालबालिका स्कुलबाहिर रहेकोमा चिन्ता व्यक्त गरे ।
‘दुई दशमलब ८ प्रतिशत बालबालिका स्कुलको ढोका देख्नै नपाई प्रौढ निरक्षर हुन्छन्, त्यो स्थिति भएसम्म साक्षरताको लक्ष्य पूरा हुँदैन ।’ सरकारले विगतमै दुई वर्षभित्र साक्षर नेपाल बनाउने योजना बनाए पनि सोअनुसार काम हुन नसक्दा अहिले पनि लाखौं व्यक्तिहरु निरक्षर रहेको उनको भनाइ थियो ।
उनले नेपाललाई साक्षर नेपाल बनाउनका लागि बालबालिकादेखि नै शिक्षित बनाउने काम गर्न जरुरी रहेको औंल्याए । त्यसका लागि स्थानीय तहले अपनत्व लिनुपर्नेमा उनको जोड थियो ।
शिक्षा तथा साक्षरता दिवस सम्पन्न गर्नका लागि शिक्षा सचिव खगराज बरालको संयोजकत्व कार्यक्रम समन्वय समिति गठन गरिएको छ । त्यस्तै उत्कृष्ट विद्यालय छनौट उपसमिति, शैक्षिक स्मारिका प्रकाशन उपसमिति, परिसम्वाद उपसमिति, साक्षरता उपसमिति, सांस्कृतिक उपसमिति, प्रचारप्रसार उपसमिति, कार्यक्रम उपसमिति र खेलकुद उपसमिति गठन गरिएका छन् ।
ती उपसमितिहरुको तत्वावधानमा १७ गतेदेखि २३ गतेसम्म साताव्यापी विभिन्न कार्यक्रम सम्पन्न गरिने केन्द्रले जानकारी गराएको छ । केन्द्रका अनुसार २३ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा साक्षरता डकुमेन्ट्री प्रदर्शन, लोकदोहोरी, सडक नाटक प्रदर्शन, झाँकी प्रदर्शन, वृक्षरोपण, अनौपचारिक शिक्षासम्बन्धी मोबाइल एप सार्वजनिक, समकक्षताबारेमा अन्तरक्रिया, उपत्यकाव्यापी दौडलगायतका कार्यक्रम गरिने छन् ।
हालसम्म ४७ जिल्ला साक्षर घोषणा भइसकेको छ भने अझ ३० जिल्ला साक्षर हुन बाँकी छ ।
:2031 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव