निराशाको नामोनिशान नभएका शिक्षक

– हरिसुन्दर छुकां/ पहिला उनी नगरपालिकाको नासु पदमा थिए, त्यही पदमा हुँदा हुँदै पनि उनलाई आयोगको जाँच दिन मन लाग्यो र परीक्षामा सहभागी पनि भए । नभन्दै फ्याट्टै उनको नाम निस्कियो, उनी नुवाकोट जिल्लाको एक प्राथमिक विद्यालयका स्थायी शिक्षक भए अनि उनले नासुको जागिर छाडे, उनी ‘जागिरे’ भएनन् । यसरी उनी शिक्षक भए ।

‘शिक्षण पेशा नै गरेर गाउँमै सेवा गर्ने भनेर लागेँ । पढ्दै पनि थिएँ ।’ २०४२ सालको कुरा सम्झँदै काठमाडौंको तिलिंगाटार माविका ५३ वर्षे प्रधानाध्यापक सरोजकुमार पाण्डेले ३३ वर्षअघिको कुरा सम्झिए ।

उनले त्यहाँ मात्र तीन वर्ष पढाए, कारण सिन्धुपाल्चोकको सिमाना नजिकैको नुवाकोटको पूर्वी बेल्टको तीनडाँडा प्राथमिक विद्यालयमा उनलाई बस्न मन लागेन । ‘त्यता बस्न मन लागेन, आफ्नै गाउँकै नजिक स्कुलहरु आएँ । मावि स्कुलमा काम गरेँ ।’ उनले भने । त्योभन्दा बढी उनलाई ‘गाउँमै बसेर पढाउँदा विद्यार्थीको र विद्यालयको त राम्रो हुने तर आफ्नो राम्रो नहुने कुराले चिमटिरह्यो, त्यही निश्कर्षका साथ उनी काठमाडौंमा सरुवा भए ।

स्थायी नियुक्ति लिँदा उनले रानीपौवाको एक स्कुलबाट लिएका थिए । त्यही बेलामा उनलाई घेराबारी प्राविमा हेडमास्टर बन्न पनि प्रस्ताव आएको थियो । तर त्यो कुरामा पनि उनको खासै मन गएन । ‘२०४५ सालमा म काठमाडौं सरुवा भएँ अनि शिक्षण पेशातिर लागेँ । अब त स्कूलै घर परिवारजस्तो भएको छ , शिक्षणमै स्थायी भएपछि अरु पेशातिर लाग्ने मैले मन गरिँन ।’

हुन त उनले पुल्चोक इञ्जिनियरिङमा पढ्ने अवसर पनि नपाएका हैनन्, अनि सेकेण्ड लेफ्टिनेन्ट पनि नपाएको हैन, तर उनले त्यो दुईटै अवसरलाई पनि ‘ठूलो’ ठानेन । ‘कर्ममै माष्टर हुने लेखेको रहेछ क्यारे, म माष्टरै भएँ । यो पेशासँगै एउटा पदीय जिम्मेवारीमा बसेपछि छोड्न नि अफ्ठेरो । गर्दै गर्दै गर्दै जाँदा ३०÷३२ वर्ष बितेको त पत्तै भएन ।’ उनी पाण्डे भन्छन् ।

नुवाकोटमा जन्मेर अहिले काठमाडौंको धापासीस्थित तिलिंगाटार माविमा २० वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारी निभाइरहेका शिक्षक पाण्डेले सुरुमा तलब भनेर मासिक रु.१ सय ९० पाएका थिए । ‘९० रुपियाँले महिनाभरी खाना, खाजा खाना पुग्थ्यो । म एकसय रुपियाँ त बचाएरै लान्थे ।’

काठमाडौंमा आएपछि उनी निमावि दरबन्दीमा स्थायी भए, पछि मावि दरबन्दीमा स्थायी । त्यतिबेला जम्मा १ सय ३५ जना विद्यार्थी र ३÷४ शिक्षक थिए । पछि विद्यार्थी र शिक्षक संख्या बढाए । अहिले अहिले लगभग १८ सय विद्यार्थी छन् । आफ्नो शिक्षणका क्रममा चढेका सिँढीहरुको क्रम थप्दै गएका पाण्डे प्रअ भएको बखत तिलिंगाटार अहिलेको जस्तो थिएन ।

कस्तो थियो त तिलिंगाटार ? अहिले कस्तो छ ? त्यसका लागि उनले के के गरे ? उनी सम्झन्छन्, ‘म १० वर्ष सहायक प्रधानाध्यापक बनेर बसेँ । त्यति बेला विद्यालय काँचो ईंट्टाका जस्ताका छानो भएको सा–साना भवनमा सञ्चालित थियो । मैले २०५५ साल कात्तिक ३० बाट प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि २०५८ सालदेखि पुरानो भवनहरु भत्काइदिएर नयाँ भवन बनाउन शुरु गरेँ । कोठाको विद्यालय भवन बनाउन सफल उनी अहिले एउटा स्थानमा इसिडि र ६ देखि १२ सम्म र अर्का स्थानमा २९ रोपनी जग्गा भएको क्षेत्रफलको विद्यालयको नेतृत्व गरिरहेका छन् ।

यतिमात्र नभएर उनी जोड्छन्, ‘यो स्कूल निमावि थियो, त्यसलाई मावि बनाएँ, अनि २०४८ सालमा एसएलसी दिलाउने बनाएँ । पहिला जस्ताको टहरामा स्कुल भद्रगोल थियो, भौतिक रुपमा पनि निक्कै समस्या थियो । जिल्ला शिक्षा कार्यालयसँग विभिन्न विषयमा झगडा पनि गरेँ ।

अहिलेको जस्तो अवस्थामा ल्याउन सजिलो भएको थिएन । अहिले अँग्रेजी माध्यममा पनि पठनपाठन भइरहेको छ । अहिले विद्यार्थीको चाप बढेको छ ।’ भौतिक सुविधापछि क्रमशः शैक्षिक सुधारको बाटोमा विद्यालयलाई अघि बढाइरहेको आफूलाई अनुभव भएको उनको भनाइ छ ।
वि.सं. २०२२ साल मंसिर १० गतेका दिन स्वर्गीय बुवा सिद्धिराज पाण्डे र स्वर्गीय आमा सानुनानी पाण्डेका चारभाइमध्ये कान्छो छोरो पाण्डेले व्यवस्थापन र शिक्षा संकायमा स्नातकोत्तर तहको औपचारिक अध्ययन गरेका छन् । विं.सं.२०३८ सालमा नुवाकोटको क्षेत्रपाल माविबाट एसएलसी दिएका उनले सरस्वती क्याम्पसबाट स्नातकोत्तर, ताहाचल क्याम्पसबाट शिक्षामा स्नातकोत्तर गरे ।

वि.सं. २०४२ सालमा शिक्षक सेवा आयोगको परीक्षा दिएर शिक्षण क्षेत्रमा छिर्दा उनको शैक्षिक योग्यता व्यवस्थापनमा आइकम उत्तीर्ण थियो ।
अहिले राष्ट्रिय रुपमै विद्यालयको पहिचान बढ्दै गएको छ । एक सामुदायिक विद्यालयले साँच्चिकै गुणस्तरीय शिक्षा दिन सक्छ भन्ने ज्वलन्त उदाहरण दिने प्रयासमा सफल भएको छ, तिलिंगाटार ।

गुणस्तरीय शिक्षा दिनका लागि साँच्चिकै विद्यालय शैक्षिक वातावरणमा चल्नुपर्ने उनको अनुभव छ, सुझाव छ । ‘विद्यालयका लागि चाहिने सुविधाहरु, विद्यार्थीका लागि चाहिने सबै प्रकारका पूर्वाधारहरु, बढ्दो सूचना प्रविधिको कक्षाको बन्दोवस्त, विभिन्न प्रतिस्पर्धाहरु र तिनीहरुमा विद्यार्थीलाई सहभागी गराउने जस्ता कुराहरु हुन्छन् । विद्यालयका सबै पक्षहरुलाई हेर्दा सुविधा सम्पन्न विद्यालयको रुपमा यो विद्यालयलाई अघि बढाइरहेको छु । यही कारण होला यो विद्यालयलाई आर्कषणको केन्द्र बनाउन सकेको छु ।’ उनी गर्वका साथ भन्छन् ।

सामुदायिक विद्यालयले पनि तिलिंगाटारले जस्तै गरी गुणस्तरीय शिक्षा दिन सक्ने हो भने संस्थागत विद्यालयहरु हातमा गन्न सकिने उनको भनाइ छ । ‘सरकारले यही क्षेत्रमा २०१७ सालदेखि दुईवटा स्कुलभन्दा बढी थपेको छैन ।खाली प्राइभेट मात्र खोल्ने सुविधाहरु दिएको छ । अनि कहाँबाट सामुदायिक विद्यालय फस्टाउँछ ?’ उनको प्रश्न छ ।

सामुदायिक विद्यालयमा त्यही समुदायका सबैले पढाइ दिने हो भने, शिक्षकले राम्ररी पढाउने, विद्यालय प्रशासन र विव्यसले ध्यान दिने हो भने सामुदायिक विद्यालय संस्थागतको भन्दा उच्चस्तरको हुन्छ । राज्यको लगानी भएको ठाउँ भएर पनि कसैले वास्ता नगर्ने, खाली सामुदायिक विद्यालय बिग्रियो भनेर सबैतिरबाट हेपाहा व्यवहार गर्ने काम हुँदा दुखित महसुस गर्छन् पाण्डे । सरकरी स्कुललाई प्राथमिकताको क्षेत्रमा नराख्ने, सरकारी स्कुल बिग्रेको म्यासेज मात्र लाने काम हुँदा, सरकारीमा नपढाउने, आफ्नो निजि बोर्डिङमा राम्रो पढाउने, त्यहीँ बोलाउने, सरकारीमा काम गरेरै बोर्डिङ खोल्ने, राज्य चाहिँ चुप लागेर बस्नेजस्ता विकृतिले सरकारी स्कुल नसप्रिने उनको ठम्याइ छ, र त उनको प्रश्न छ, ‘यस्तै हो भने कहाँबाट सरकारी स्कुल एक्लैले गर्न सक्छ ?’ अनि त्यसको परिणाम पनि उनी सुनाउँछन्, ‘त्यसले त आर्कषण हैन, विकर्षण हुन्छ नै ।’

राज्यले शिक्षामा गरेको लगानीले नै संस्थागत विद्यालयमात्र मौलाउने अवस्था भएकोमा उनी सहमत छन् । राज्य आफ्नो लगानीलाई सुनिश्चित नगर्दा संस्थागत विद्यालय मात्र फस्टाएको छ । क्रमशः सामुदायिक विद्यालय घटाउँदै गएको अवस्था पनि छ । राज्यले शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत कुराहरुलाई राज्य कोषबाटै खर्च गरेर भए पनि जनताहरुलाई सुविधा दिनुपर्ने भए पनि त्यतातिर सरकारको ध्यान नजाँदा उनी दुखित छन् ।

सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुले निःशुल्क पढ्ने, संस्थागत विद्यालयका विद्यार्थीले भने पैसा तिरे पढ्ने कुराले एउटै देशका नागरिक अन्यायमा परेको उनको दुखेसो छ । सरकारी स्कुलमा पढ्नेलाई आफ्नो ठानेर खाजा पनि, युनिफर्म पनि निःशुल्क गर्ने अनि संस्थागतमा पढ्नेले चाहिँ सबै कुरा तिर्नुपर्ने हुँदा तिनीहरु अन्यायमा परेका छन् । तिनीहरु राज्यको लगानीबाट बञ्चित भएका छन् । यो खालको भेद्भाव छ । यसलाई समान बनाउनुपर्छ ।

यसले नागरिकहरुलाई विभेद भएको उनको बुझाइ छ । ‘कसैले निःशुल्क पढ्न पाउने, कसैले बाध्य भएर पैसा तिर्नुपर्ने अवस्था छ । यो खालको शिक्षा प्रणाली राम्रो होइन,’ उनी भन्छन्, ‘त्यसमा एकरुपता कायम गर्न राज्यले कि त शिक्षाबाटै हात झिकिदिने, सबै विद्यालय निजिलाई दिने, कि त सबै विद्यालय राज्यले नै लिने काम गर्नुपर्यो, प्राइभेटलाई पनि बरु अनुदान दिने, सहयोग गर्ने, त्यो भयो भने त्यहाँ पनि शुल्क न्यूनीकरण हुन्छ । अहिलेको हिसाबले जुन खालको व्यापारिक तवरले विद्यालयहरु चलिरहेका छन्, त्यो वास्तवमा जनताहरुमाथि थोपरेको बोझ हो ।’

सरोजकुमार पाण्डे प्रधानाध्यापक तिलिङ्गाटार माध्यमिक विद्यालय धापासी, काठमाडौं

अरुको हेरेर भए पनि राम्रो गरौं,राम्रो कुरा जसको अनुकरण गरे पनि हुन्छ भन्ने कुरा शिक्षकले बुझ्नुपर्छ । राम्रो बनाउने अभ्यासलाई व्यहारमा उतार्नुपर्यो । त्यो भयो भनेमात्र बन्छ, खाली जागिर खाइदिने, हाजिर भैदिने, पढ,पढ भाइ बहिनी भन्ने, सरकारले दिएको ड्रेस लाउने, कोहीले त डे«स पनि नलाउने, मनपरी गर्ने हो भने सम्भव छैन

सामुदायिक विद्यालय सुधार्न केही समस्या छैन, यहाँ नपढाएरै हो, नगरेरै हो । समुदायका सबै अभिभावकले चासो राखेको खण्डमा राम्रो हुन्छ । संस्थागत स्कुलमा के चाहिँ सुविधा छ र ? के पाइन्छ त्यहाँ ? पैसा किन बढी खर्च गर्ने? समुदायमा विद्यालयको संख्या थपिदिएको छैन त ।’ उनी एकश्वासमा भन्छन् ।

अहिलेका विद्यार्थीहरु शिक्षक बन्न चाहिरहेका छैनन् । शिक्षक बनेर के सुविधा पाउँछ ? भन्छन् । यसैले शिक्षकलाई सुविधा दिनुपर्ने उनको भनाइ छ । शिक्षकलाई लाखौं रुपियाँ दिन तयार हुनुपर्यो । जबसम्म शिक्षक बाँच्न सक्तैन, तबसम्म राम्रो पढाइ पनि त हुँदैन । शिक्षकको तलब बढ्नुपर्यो, सुविधा थप हुनुपर्यो ।’

विद्यालयमा दिनका दिन काम गर्ने भनेको शिक्षक र प्रधानाध्यापकले हो । त्यो कारणले पनि अलि बढी जिम्मेवार तिनीहरु हुनुपर्नेमा उनको जोड छ । विद्यार्थीदेखि अभिभावकलाई मोटिभेट गर्ने काम शिक्षक र प्रअ दुबैले गर्नुपर्छ । शिक्षकलाई उत्साहित बनाउने काम प्रअबाटै हुनुपर्छ ।

अरुको हेरेर भए पनि राम्रो गरौं,राम्रो कुरा जसको अनुकरण गरे पनि हुन्छ भन्ने कुरा शिक्षकले बुझ्नुपर्छ । राम्रो बनाउने अभ्यासलाई व्यहारमा उतार्नुपर्यो । त्यो भयो भनेमात्र बन्छ, खाली जागिर खाइदिने, हाजिर भैदिने, पढ,पढ भाइ बहिनी भन्ने, सरकारले दिएको ड्रेस लाउने, कोहीले त डे«स पनि नलाउने, मनपरी गर्ने हो भने सम्भव छैन ।

मैले यो पेशामा लागेर आर्थिक रुपमा कमाउन सकिँन भनेर खाली गुनासो मात्र गरेर हुन्न । यो पेशामा कोहीले करले लगाइदिएको त हैन, कोहीलाई जर्बजस्ती शिक्षक बनाइएको त हैन नि । आफ्नै इच्छाले गरेको त हो । आफ्नै इच्छाले रोजेको पेशामा रमाउनु पनि पर्यो नि, गुनासो गरेर त कहिले उँभो लाग्छ ? यदि काम गर्ने हो भने जागिरको लागि जागिर नभएर सेवामूलक रुपले पनि सोच्नुपर्छ । सेवामूलक पेशामा लागेकाले सेवा भाव त राख्नैपर्छ ।

उनलाई शिक्षाका विकृतिहरु थाहा नभएको हैन, नभोगेको हैन, तर तिनीहरुबाट उनी कहिल्यै दिक्क मान्दैनन् । ‘अरुले के गर्यो भन्ने विषय महत्वको हैन,म चाहिँ के गरिरहेको छु भन्ने कुरा चाहिँ महत्वको हो । हामी आफूले आफ्नो अनुहार आफूले राम्रो गर्ने, आफैले सफा गर्ने भन्ने भावनाका साथ अघि लाग्नुपर्छ ।’

यसैले उनको सुझाव छ, ‘विकृति छ, विसंगति छ, तर हामी निराश हुनुहुन्न । आफ्नो पार्टीका भयो भने जे पनि जायज हुने अरुको भए नाजायज हुने खालको संस्कार बस्न हुँदैन ।’

:1438 Views

Leave a Reply