विज्ञान दिवस : सामाजिक रोग विरुद्धको एउटा ‘प्रेसक्रिप्सन’

नेपाली पात्रोमा विज्ञान दिवस जुराउनु पर्ने विषय नेपाली वैज्ञानिकबीच केही समयदेखि चर्चा हुँदै आएको थियो । नेपालको पात्रोअनुसारको राष्ट्रिय विज्ञान दिवस नभएको स्थितिमा नोभेम्बर १० लाई विश्व विज्ञान दिवस मनाउने गरिआएको थियो । सन् १९९९ मा हंगेरीको राजधानी बुडापेस्टमा आयोजित अन्तर्राष्ट्रिय विज्ञान सम्मेलनमा सहभागी राष्ट्रले सो विषयवस्तुलाई उठान गरेका थिए । पछि सन् २००१ मा आयोजित युनेस्कोको साधारण सभाले नोभेम्बर १० का दिनलाई विश्व विज्ञान दिवस मनाउने प्रस्तावलाई अनुमोदन ग¥यो । नेपाल युनेस्कोको सदस्य राष्ट्र भएकाले सोही दिनलाई विश्व विज्ञान दिवसका रूपमा नेपालमा पनि मनाउन थालिएको थियो ।

विश्व विज्ञान दिवसको मूल उद्देश्य मानव समाजमा र उसका लागि विज्ञानको महìवबारे उजागर गर्ने र शान्ति, विकास तथा विज्ञानबीचको अन्तरसम्बन्धलाई बुझ्ने, बुझाउने रही आएको छ । देशहरूले आ–आफ्नो परिवेश र ध्येयअनुसार विज्ञान दिवस मनाउँदै आएका छन् । जस्तै, चीनले मे ३० का दिनलाई राट्रिय विज्ञान तथा प्रविधि मजदूर दिवसका रूपमा घोषणा गरेको छ । रसियाको राष्ट्रिय विज्ञान दिवस फेब्रुअरी ८ हो, क्युबाको जनवरी १५, थाइल्याण्डको अगस्ट २८, स्विजरल्यान्डको मे २६ र भारतमा फेब्रुअरी २८ मा राष्ट्रिय विज्ञान दिवस मनाइन्छ । जर्मनीले पनि विभिन्न देशमा यस्तो दिवस मनाउँछ, गत वर्ष मात्रै उसले भियतनाममा मनाएको थियो, त्यसअघि इरान, इजिप्ट आदि देशहरूमा मनायो । कतिपय देशले विज्ञान सप्ताह मनाउँछन् । बङ्गलादेशले यसै वर्षको जनवरीमा ६२ औँ विज्ञान मेला ग¥यो, त्यो पूर्वी पाकिस्तान हुँदादेखिको निरन्तरता हो । स्विडेनमा विज्ञान मेला अत्यन्तै लोकप्रिय छ, सन् १९९७ देखि उसले विज्ञान मेला आयोजना गर्दै आएको छ । भारत, चीन, क्यानडा, बेलायत, दक्षिण अफ्रिका, अमेरिका, मलेसिया, यी सबै देशहरूले हरेक वर्ष विभिन्न सहरमा विज्ञान मेला आयोजना गर्छन् ।

सन् २०१२ (वि.सं. २०६९ साल) मा नेपाल सरकारले असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसका रूपमा मनाउने निर्णय ग¥यो । यो गणतन्त्रको घोषणापश्चात् पहिलो संविधानसभा हुँदैको कुरा हो, नेपाली वैज्ञानिक तथा प्राविधिकले विभिन्न मन्च र भेलामा उठाउँदै आएको सुझावलाई मनन् गर्दै यो निर्णय भएको थियो । यसलाई नेपाली समाजमा वैज्ञानिक संस्कार हुर्काउँदै लैजाने प्रगतिशील अभियानमा सरकारको प्रतिबद्धता हो भनेर बुझ्न सकिन्छ ।

दिनका सन्दर्भमा असोज १ जनस्तरमा स्थापित नेपालको पहिलो विज्ञान उच्चशिक्षालय पब्लिक साइन्स कलेज (पस्कल) को स्थापना दिन हो । पस्कलको स्थापना २०१३ सालमा भएको थियो, संस्थापक प्राचार्य प्रा. फणिन्द्रप्रसाद लोहनी हुनुहुन्थ्यो । २०२२ सालमा कलेजका अग्रज एवं तात्कालीन प्राचार्य प्रा. अमृतप्रसाद प्रधानको हवाई दुर्घटनामा असामयिक निधन भएपछि अमृत साइन्स कलेज (अस्कल) भनि नामाकरण गरियो नेपालमा लामो राजनीतिक आन्दोलन र उथलपुथलपश्चात् लोकतान्त्रिक मान्यता अनुरूपको गणतन्त्र स्थापना भएको छ । यस आन्दोलनसित नेपालको वैज्ञानिक शिक्षा, रोजगारी र उत्पादनलाई सघाउने प्रविधि उन्नयनको कुरा पनि जोडिएको छ । देशको आर्थिक समृद्धि नेपालीको चाहना हो । नेपाली समाज ज्ञानी, संस्कारित, सुखी र चेतनशील होउन भन्ने सबैको इच्छा हो । आर्थिक समृद्धि र सामाजिक उत्थान विज्ञान र प्रविधिसित जरैदेखि गाँसिएका विषय हुन् । आर्थिक सम्पन्नता, वैज्ञानिक अनुसन्धान र विकाससित जोडिएको कुरा हो । सामाजिक परिवर्तन वैज्ञानिक चेतना र चिन्तनबाट मात्र सम्भव हुने हो । नेपाल स्रोतले धनी भएर पनि विश्व मानकमा निर्धन राष्ट्रमा दरिएको छ । शदियौँ पुरानो सभ्यता र मौलिक ज्ञानले समाज ओतप्रोत छ तर अन्धविश्वास, अन्धपरम्परा, कुरीति र कुप्रथाहरू हट्न सकेको छैन । विज्ञान दिवस यिनै सामाजिक रोग विरुद्धको एउटा ‘प्रेसक्रिप्सन’ हो

राष्ट्रिय विज्ञान दिवसलाई दीर्घकालीन रूपमा नेपालको दिगो विकासमा विज्ञान तथा प्रविधिको भूमिकालाई इन्जिनका रूपमा परिभाषित गर्दै नेपाली समाजमा वैज्ञानिक चिन्तन र संस्कार प्रवद्र्धन गर्ने उद्देश्यसहित मनाइनु वाञ्छनीय देखिन्छ । सन् २०१३ देखि विज्ञान दिवस मनाइँदै गर्दा विगत छ वर्षदेखिको नारा पनि आर्थिक समृद्धि वा विकासकै सेरोफेरोमा तय हुँदै आएको छ । विज्ञान मन्त्रालयको अह्वानमा आम नागरिकबाट प्रेषित उत्कृट नारामध्येबाट राष्ट्रिय विज्ञान दिवसको नारा छानिने गरिन्छ । दिगो विकासका तीन प्रमुख खम्बामा आर्थिक खम्बामात्र नभएर अरू दुईवटा सामाजिक र वातावरणीय पनि भएकाले विज्ञान तथा प्रविधिको भूमिका र यसको प्रयोग ती तीनवटै पाटालाई समेट्ने गरी गर्नु गराउनु सन्तुलित हुनेछ ।

विकासका हकमा नेपालको संविधानले तीन तहका सरकारलाई उत्तिकै जिम्मेवार बनाएको छ, जुन कुरा सङ्घ, प्रदेश र स्थानीय तहका अधिकारसम्बन्धी अनुसूची ५ देखि ९ सम्म उल्लेख गरिएका छन् । तीमध्ये कुनै तहगत छुट्टिएका छन् भने कुनै साझा अधिकारभित्र पर्छन् । अनुसूची ५ मा सङ्घको ३५ वटा अधिकारको सूची छ, जसमध्ये जलस्रोतको संरक्षण र बहुआयामिक उपयोग, स्वास्थ्य र उपचार सेवा, आणविक ऊर्जा, अन्तरीक्ष, खानी उत्खनन, वातावरण व्यबस्थापन, भू–उपयोग, क्वारेन्टाइन, कार्बन सेवा, सिमसार जस्ता विषय छन्, जसले विज्ञान र प्रविधिसित प्रत्यक्ष सरोकार राख्छ । केन्द्रीयस्तरका विश्वविद्यालय, प्रज्ञा–प्रतिठानहरू पनि यही अनुसूचीमा पर्छन् । यस हिसाबले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिठान (नास्ट) जस्ता निकायको स्थान यहीभित्र रहेको अनुमान गर्न सकिन्छ । त्यसो त अनुसूची–५ मा उल्लेखित राष्ट्रिय सुरक्षाजस्ता महìवपूर्ण विषयमा प्रविधिको अपरिहार्यता झनै धेरै हुन्छ ।

संविधानको अनुसूची–६ मा प्रदेशको २१ वटा अधिकार सूची छ, जसमा प्रदेशस्तरीय सबै विकास तथा सेवा पर्छन् । वैज्ञानिक अनुसन्धान, विज्ञान प्रविधि र मानव संशाधन विकासको बुँदालाई अनुसूची–७ अर्थात् सङ्घ र प्रदेशको साझा अधिकारको सूचीमा राखिएको छ । अनुसूची–८ मा स्थानीय तहको २२ वटा अधिकार सूचीकृत गरिएका छन्, जसमा स्थानीय तहका सबै सेवाजस्तै आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइ, स्थानीय वातावरण संरक्षण र जैविक विविधता, कृषि सडक, सिंचाइ, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, खानेपानी, साना जलविद्युत्, वैकल्पिक ऊर्जा, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण, विपद् व्यवस्थापन पर्छन् । यी सबैमा विज्ञान र प्रविधिको प्रत्यक्ष भूमिका हुन्छ । अनुसुची–९ मा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची छ, जसमा समावेश १५ मध्ये आधाले पुनः विज्ञान–प्रविधिको भूमिका खोज्छ ।

नेपालले हासिल गर्ने आर्थिक समृद्धि भनेको माथि उल्लिखित तीन तहका सरकारहरूले कार्यान्वयन गर्ने विकास परियोजनाहरू हुन्, जसका लागि विज्ञान तथा प्रविधिको स्रोत र जनशक्ति अधिकतम परिचालन गर्नुपर्ने हुन्छ । यतिखेर नेपाली समाजले खोजिरहेको अर्को परिवर्तन भनेको सामन्ती युगदेखि जरा गाडेर बसेका जातिभेद, लैङ्गिक असमानता र धर्मले पक्षपोषण गरेका अन्धविश्वासको अन्त्य हो । नेपालको संविधान र कतिपय कानुनले तिनमाथि अंकुश लगाइदिएको छ, तथापि कानुनी व्यवस्था मात्रले ती नहट्ने देखिन्छ । जसरी आकाशमा मडारिएको बादल हटाउन हावाको झोंक्का चाहिन्छ, समाजमा व्याप्त कुसंस्कार पनि स्थापित मान्यतामाथि सन्देह र प्रश्न गर्ने वैज्ञानिक शिक्षाको अभ्युदय भएपश्चात् मात्र सम्भव हुन्छ । वैज्ञानिक चेतना अन्धविश्वास विरुद्धको हतियार हो ।

नेपालको अहिलेको आर्थिक र सामाजिक परिवेशमा विज्ञान तथा प्रविधिको सान्दर्भिकता सम्भवत यति धेरै कहिल्यै देखिने छैन । विज्ञान तथा प्रविधिको विशेषता भनेको यसले हाम्रो आर्थिक विकासको चाहना पूरा गर्न सघाउनुका साथै समाजमा व्याप्त अन्धविश्वास र कुरीति हटाउन पनि मद्दत गर्छ । आर्थिक विकाससित स्रोतहरूको उपयोग, रोजगारी, पूर्वाधार संरचना, उद्योग व्यवसाय, सेवा सुविधा र वित्त प्रवाह जोडिएर आँउछ भने अन्धविश्वास र कुरीतिको उन्मूलनले सामाजिक न्यायसहितको सभ्य र दिगो समाज निर्माण हुन्छ । विज्ञान दिवस, विज्ञान तथा प्रविधिका यस्तै विशेषताबारे चर्चा गर्ने अवसर र विज्ञान तथा प्रविधिको विकासमा प्रतिबद्धता दर्शाउने दिन हो ।

  • gorkhapatra

:672 Views

Leave a Reply