‘शिक्षामन्त्रीले फोन गरे, नहुने के छ ?!’

हरिसुन्दर छुकां/ काठमाडौं १ असोज । परीक्षाफल निस्किएको एक महिना बितिसक्दा पनि विद्यार्थीले ट्रान्सक्रिप्ट नपाउँदा शिक्षकहरुले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् ।

प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालले विद्यार्थीहरुले ट्रान्सक्रिप्ट नपाएका कारण उच्च शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिन शिक्षामन्त्रीकै ध्यानाकषर्णका लागि ज्ञापनपत्र बझाएका हुन् ।

‘विद्यार्थीको ओजेटी बाँकी रहेको बहानामा राष्ट्रिय परीक्षा बोर्डले ट्रान्सक्रिप्ट रोकेको छ, यसले गर्दा विद्यार्थीलाई सास्ती भइरहेको छ, हामीले पटकपटक राष्ट्रिय परीक्षा बोर्डलाई अनुरोध गरेका थियौं, त्यहाँबाट नभएपछि हामी शिक्षामन्त्रालयमा पुगेका छौं, सञ्जालका अध्यक्ष एवं भक्तपुरको पद्म माविका प्रअ राम हाडाले भने, ‘शिक्षामन्त्रीले यहाँबाट निर्देशन दिए विद्यार्थीले ट्रान्सक्रिप्ट पाउँछन् ।’

राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीले शिक्षामन्त्रीको फोन आए तत्काल काम हुने सुझाव सञ्जाललाई पाएपछि सञ्जालले बाध्य भएर ज्ञापन पत्रको सहारा लिनुपरेको अध्यक्ष हाडा बताउँछन् ।

सो सञ्जालले मन्त्रीसमझ पेश गरेको ज्ञापनपत्रमा पनि हप्तादिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने वुंदा उल्लेख छ ।

वि सं. २०७० सालदेखि सामुदायिक विद्यालयहरुले कक्षा ९– १२ प्राविधिक धारको पठनपाठन सुरु गरेका थिए । हाल सो प्रकृतिका २ सय ८४ विद्यालय छन् । ती विद्यालयबाट परीक्षा उत्तीर्ण गरेका करिब ८ हजार विद्यार्थीले अहिलेसम्म ट्रान्सक्रिप्ट पाउन सकेका छैनन् ।

‘आज संघीय संरचनामा देशले प्रादेशिक र स्थानीय तहमा कतिपय शिक्षा सम्बन्धी अधिकार विनियोजन गरेको साथै संघीय ऐन, प्रादेशिक शिक्षा ऐन तथा स्थानीय शिक्षा ऐन नियमावली र कार्यविधि निर्माण चरणमा रहेको सन्दर्भमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भइरहेका विद्यालयहरुका सरोकारका विषयलाई के कसरी सम्बोधन गर्ने भन्ने विषयमा चासो देखाउनु जरुरी छ ।’ सञ्जाल अध्यक्ष हाडा भन्छन् ।

उनीहरुले बुझाएको ज्ञापनपत्रमा आधारभूत शिक्षालाई स्थानीय सरकारको तहबाट र प्राविधिक लगायत माध्यमिक शिक्षा संघीय साथै प्रदेश सरकारको तहबाट नियमन गर्नुपर्ने,प्राविधिक धारतर्फको मौजुदा कक्षा ९–१२ को पाठ्यक्रम तत्कालै समयसापेक्ष गुणस्तरीय एवं उच्च शिक्षा अध्ययन गर्न समेत पाउने अवसर प्राप्तिको लागि परिमार्जित गर्नुपर्ने, यसै वर्षमा प्राविधिक धारतर्फबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु उच्च शिक्षा छात्रवृत्तिका अवसर साथ अध्ययन प्राप्तिको लागि अति आवश्यकता भएको हुँदा ओजेटी को प्रमाणपत्र ओजेटी सकिएपछिमात्र दिने सर्तमा हाललाई एकहप्ताभित्र ट्रान्सक्रिप्ट, माइग्रेशन उपलब्ध गराउन व्यवस्था मिलाउनुपर्ने, प्राविधिक धारतर्फ व्यवस्था गरिएको शिक्षक, प्रशिक्षकको स्थायित्वको साथै ल्याब ब्वाई तथा थप फिल्ड म्यान एक समेतको व्यवस्था, अँग्रेजी, गणित, विज्ञान, नेपाली कम्प्युटर विषयहरुको विषय शिक्षक थप गर्नुपर्नेलगायतका मागसहित १४ वुंदा समावेश गरिएका छन् ।

 

:765 Views

Leave a Reply