विज्ञान शिक्षकलाई ‘लाइसेन्स’ खै ?

सबिना बानियाँ

भक्तपुर, १ असोज । ‘विज्ञान–प्रविधि : विश्वास र समृद्धि’ भन्ने मूल नाराका साथ यस वर्षको छैटौं राष्ट्रिय विज्ञान दिवस मनाइरहँदा विज्ञान बिषयलाई गा¥हो बिषयको रुपमा सोच्दा शिक्षिका सुजता कोजुलाई दुःख लाग्छ । भक्तपुरको पारागन एकेडेमीमा विगत आधा दशकदेखि विज्ञान अध्यापनरत उनी आफ्ना विद्यार्थीलाई कितावका कुरा पढाउँदै त्यही कुरालाई कक्षामा पनि गरेर देखाउँछिन् तर, कितावी ज्ञान र प्रयोगात्मक कुरा दुबैलाई सँगै लैजान समयको अभाव झेलिरहेकी छिन् उनी ।

नंखेलस्थित भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं विज्ञान शिक्षक के.पी छुस्याकीले विज्ञान बिषयलाई सजिलो र रोमाञ्चक विषयको दर्जामा राख्दै विज्ञानका विषयकेन्द्रीत प्रयोगात्मक कक्षा चलाउन नसक्दा भने आफू पनि दुखी हुने गरेको सुनाए । र त, उनी अन्य विज्ञान शिक्षकझैं विज्ञानलाई प्रयोगात्मक बनाउन जोड दिन्छन् । ‘विज्ञानलाई जिउँदो बनाउने भनेको प्रयोगले हो, तर हामीकहाँ प्रयोगात्मक कक्षा सञ्चालन गर्न मुश्किल छ, समस्याको चाङै छन् तर पनि त्यसका लागि यो विषयलाई प्रयोगात्मक नबनाइ हुन्न ।’

प्रअ छुस्याकीले विज्ञान विशिष्ट बिषय भएपनि अन्य बिषय पढेका शिक्षकले विज्ञान पढाउदाँ भने बिषय अझ जटिल हुँदै गएको पनि उल्लेख गरे । सरकारले सरकारी विद्यालयलाई दक्ष जनशक्ति दिन नसकेको, नि.मा.वि.का शिक्षकले मा.वि तह पढाउनु परेकोमा उनी अझ दुखित छन् । ‘विज्ञान शिक्षकले बिषयवस्तुको खोज गरेर मात्र विद्यार्थीलाई पढाउँछ तर…।’ उनले दुखेसो पोखे ।

सरकारले विज्ञान शिक्षकका लागि पनि शिक्षण अनुमतिपत्र दिनुपर्ने र शिक्षक लाइसेन्स (अनुमतिपत्र) भएकालाई मात्र शिक्षण गर्न दिनुपर्ने नियम बनाउनुपर्नेमा उनी जोड दिन्छन् । ‘सरकारले विद्यालयमा प्रयोगशालाका लागि बजेट दिएको भएता पनि शिक्षकको समय अभावका कारण यसलाई पर्याप्त रुपमा प्रयोगमा ल्याइएको छैन ।’ उनले भने, ‘विद्यालयले प्रयोगात्मक कार्य नगराई विद्यार्थीको जि.पि.ए बढाउन ए प्लस नम्बर दिने गर्छन् ।’

विद्यालयले मात्र नभई अभिभावकहरुले पनि न्युनतम शैक्षिक सामाग्रीे र पढ्ने वातावरणको व्यवस्था गर्न सके अझ पढाइ राम्रो हुने उनको ठहर छ ।

काठमाडौंको कालिका चरणमा.वि का विज्ञान शिक्षक शैलेन्द्रकुमार शाहले नेपालका अधिकांश सरकारी विद्यालयमा विज्ञान बिषयको प्रयोगशाला समेत नरहेको स्वीकारे । ‘विज्ञान बिषयलाई अरु बिषय जसरी कितावी कुरा मात्र पढाउनु गलत हो ।’ उनले भने । तालिम पाएका शिक्षकले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने गरेको उनले बताए । विज्ञान शिक्षकले साधनको अभाव भएता पनि स्थानीय स्तरका वस्तुको प्रयोग गर्न सकिने उनको सुझाव छ ।

केही विद्यालयले विज्ञानको प्रयोगात्मक कार्य देखाउनका लागि मात्र भएता पनि वर्षको एक पटक विज्ञान प्रदर्शन गर्ने गरेको र केहीले त त्यो कार्य गर्दै नगरेको गुनासो उनले सुनाए । विज्ञान बिषय राम्रो बनाउन बिषयगत र तालिम प्राप्त शिक्षकको आवश्यकता पर्ने उनको अनुभव छ ।

विज्ञान शिक्षक समाज नेपालका केन्द्रीय सदस्य युवराज निरौलाका अनुसार नेपालमा लगभग १० हजार बढी विज्ञान शिक्षक रहेका छन् ।

यो पनि हेर्नुुस् : https://nuwagi.com/science-day/

:534 Views

One thought on "विज्ञान शिक्षकलाई ‘लाइसेन्स’ खै ?"

  1. youbaraj niraula says:

    Thik chha…

Leave a Reply