शिक्षा विधेयक प्रमाणीकरण, कुनै पनि सेवा लिन कक्षा ८ पास भएको प्रमाण जरुरी

काठमाडौं ३ असोज । सन्तानलाई ८ कक्षासम्म नपढाउने अभिभावक अयोग्य हुने व्यवस्था, अब संघ, प्रदेश सरकार वा स्थानीय तहको कुनै पनि सेवा, स्वामित्व, अनुदान लिन छोराछोरीलाई ८ कक्षासम्म पढाएको प्रमाण पेश गर्नुपर्नेलगायतका प्रावधान भएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार सो विधेयकसँगै अरु १६ वटा विधेयक पनि प्रमाणिकरण गरिन् । यसरी प्रमाणीकरण भएको विधेयक राजपत्रमा प्रकाशित भएपछि ऐनको रुपमा कार्यान्वयनमा हनेछ ।
प्रमाणीकरण भएको विधेयकमा कुनै अभिभावकले आफ्ना विद्यालय जाने उमेरका बालबालिका विद्यालयमा भर्ना नगराएमा, विद्यालयले भर्ना लिन इन्कार गरेमा, विद्यार्थीले पढ्न पाउन नसक्ने अवस्था भएमा, त्यसबारे स्थानीय तहलाई लिखित जानकारी नदिएमा वा परीक्षा दिन रोक लगाएमा कसुर हेरेर तीन हजारदेखि २५ हजारसम्म जरिवाना हुने भएको छ । बालबालिका पढ्नबाट बञ्चित भएको विषयमा कसको कसुर हो भन्ने निर्णय स्थानीय तहका न्यायिक समितिले गर्नेछन् र उजूरीका आधारमा जरिवाना तोकिनेछ ।
२०८५ वैशाख १ पछि आधारभूत शिक्षा नपाएको व्यक्तिलाई पनि अयोग्य घोषणा गरिने, त्यस्ता व्यक्ति कुनै पनि संस्थामा नियुक्त, निर्वाचित वा मनोनयन हुन नपाउने प्रावधान पनि विधेयकमा उल्लेख छ ।
विधेयकमा चार वर्ष पूरा भएका बालबालिकालाई अनिवार्य रूपमा एक वर्षको प्रारम्भिक बालशिक्षा दिएपछि मात्र विद्यालय भर्ना गराउनुपर्ने व्यवस्था गरिएको छ ।
विधेयकमा प्रत्येक नागरिकलाई आधारभूत तह र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क प्राप्त गर्ने अधिकार हुने उल्लेख छ । अपाङ्गता भएका तथा विपन्न दलित नागरिकलाई शिक्षा प्राप्त गर्ने सम्बन्धमा यस ऐनमा लेखिएका अधिकारका अतिरिक्त प्रचलित कानूनबमोजिम थप विशेष अधिकार प्राप्त हुने र संघीय सरकार वा प्रदेश सरकारले पूर्ण वा आंशिक अनुदानमा विशेष सुविधा सम्पन्न विद्यालय तथा घुम्ति विद्यालय खोल्न वा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ ।
असोज २ गते भित्रै संविधानमा भएको मौलिक हक कार्यान्वयनका लागि आवश्यक विधेयकहरु प्रमाणित गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाका कारण राति साढे १० बजे राष्ट्रपतिले ति विधेयकहरु प्रमाणिकरण गरेकी हुन् । गत शनिवार प्रतिनिधि सभाले बहुमतका आधारमा विधेयक पास गरेको थियो ।
:2282 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव