इसिडी शिक्षकलाई प्रावि शिक्षक र प्रअलाई छुट्टै दरबन्दी

काठमाडौं ५ असोज । प्रारम्भिक बाल विकासमा कार्यरत सहयोगी कार्यकर्तालाई प्राथमिक तहको शिक्षक दरबन्दीमा कायम गर्न तथा कक्षा १–१२ सञ्चालन भएका माध्यमिक विद्यालयमा प्रधानाध्यापकको छुट्टै पद सिर्जना गर्नुपर्ने सुझाव दिइएको छ ।

शिक्षक दरबन्दी मिलान र पुनर्वितरण गर्नका लागि गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनमा शिक्षक दरबन्दी मिलानको लागि दिइएको विकल्पमा ती वुंदाहरु पनि उल्लेख छन् । गत असार ४ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । ४५ दिनभित्र प्रतिवेदन दिनेगरी गठन भएको कार्यदलले निर्धारित म्याद भित्र काम नसकेपछि पुनः ४५ दिन थपिएको थियो । सोही कार्यदलले मंगलबार शिक्षा मन्त्रीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले प्रस्ताव गरेका विकल्पमध्ये प्रारम्भिक बाल विकास कक्षाको शिक्षकको न्यूनतम् योग्यता कक्षा १२ उर्तीर्ण हुनुपर्ने, विशेष शिक्षा कक्षामा कार्यरत शिक्षक अनुदानलाई दरबन्दीमा परिणत गर्नुपर्ने पनि सुझाव समेटिएको छ । यस्तै दुर्गम क्षेत्रमा जान चाहने शिक्षकहरुका विशेष प्रोत्साहनको व्यवस्था गर्ने, चैत्र महिना भित्रको स्वचालित प्रणालीका आधारमा शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण गर्ने, तल्लो तहमा बढी भएको शिक्षक दरबन्दी माथिल्लो तहमा पुलमा राखी पुनर्वितरण गर्ने, धार्मिक विद्यालयहरुमा प्रदान गरिदै आएको अनुदानलाई शिक्षक दरबन्दीमा कायम गर्ने पनि वुंदा समावेश छ ।

तल्लो तहमा बढी देखिएका शिक्षक दरबन्दीलाई माथिल्लो तहमा रुपान्तरण र प्राथमिक, निम्न माध्यमिक, माध्यमिक, उच्च माध्यमिक तहमा प्रदान गरिदै आएको शिक्षक कोटा र शिक्षक अनुदान कोटा संख्यालाई शिक्षक दरबन्दीमा रुपान्तरण गर्न सुझाव समेटिएको कार्यदलका संयोजक महाश्रम शर्माले जानकारी दिए ।

कार्यदलमा शिक्षा मन्त्रालयकी पूर्व सह–सचिव देविना प्रधानाङ्गसहित केशवप्रसाद भट्टराई, गंगाराम यादव, रमाकान्त सापकोटा, भोला सापकोटा, जीवन गौतम र शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा सदस्य रहेका थिए । यसैगरी, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल कार्यदलको सदस्य–सचिव थिए ।

शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४०, पहाडमा ४५ र तराई तथा उपत्यकामा ५० हुनुपर्ने व्यवस्था गरेको छ । नियमावलीमा ‘पूर्व प्राथमिक विद्यालयमा एकजना, प्राथमिक विद्यालयमा पचास जनासम्म विद्यार्थी भएमा कम्तिमा दुईजना र सोभन्दा बढी विद्यार्थी भएमा कम्तिमा तीनजना, निम्न माध्यमिक विद्यालयमा ६ कक्षा देखि ८ कक्षासम्म भए चारजना र १ कक्षा देखि ८ कक्षासम्म भए सातजना शिक्षक हुनुपर्ने’ व्यवस्था छ ।

:11747 Views

2 thoughts on "इसिडी शिक्षकलाई प्रावि शिक्षक र प्रअलाई छुट्टै दरबन्दी"

  1. govinda says:

    तल्लो तहका दर्बन्दिलाई माथिल्लो तहमा रुपान्तरण भनेको बुझिएन।

  2. श्रीकृष्ण पनेरु says:

    सुझाव ठिक छ , कार्यान्वयन होस

Leave a Reply