एकजना पनि विद्यार्थी नभएको स्कुल

 

हरिसुन्दर छुकां

भक्तपुर । चौरमा प्लाष्टिकका गिलास, बियरका खाली शिशी मात्र फालिएका छैनन्, त्यहीँ गाईको गोबर छ, त्यहीँ चुरोट, चकलेटका खोलहरु यततत्र छरिएका छन् । यसबाट पनि सो विद्यालयमा विद्यार्थी नभएको पुष्टि हुन्छ । अझ पुष्टि त स्कुलमै बेलाबेलामा आउने गाई, बाख्राको हुलले पनि गर्छ ।

विद्यालय नजिकै चाँगुनारायण नगरपालिकाको चार नं. वडा कार्यालय छ । वडाअध्यक्ष वुद्धिलाल महर्जनको कार्यकक्षबाट विद्यालयमात्र हैन, कक्षाकोठा पनि प्रष्ट देखिन्छ । वडा कार्यालयमा आएका एक सेवाग्राही कान्छा रानामगर विद्यालयमा विद्यार्थी नभएको कुराबाट छक्क छन्, ‘ओहो ! एकजना पनि विद्यार्थी छैनन् , यस्तो पनि स्कूल रहेछ, हाम्रो ठाउँमा, म त अचम्म भएँ ।’ उनले भने ।

उनलाई अचम्म लागेको विद्यालय भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.४ को चाँगुनारायण आधारभूत विद्यालय हो, जहाँ एकजना पनि विद्यार्थी छैनन् ।

स्कुलमा विद्यार्थी नभएको कुरा स्थानीयले बताइरहँदा विद्यालयका सहायक प्रधानाध्यापक दिपक थापा र शिक्षक जयराम आचार्य भने चारजना विद्यार्थी भएको दाबी गर्छन् ।

विद्यालयका सहायक प्रअ दिपक थापा, कार्यालयमा ।

सहायक प्रअ थापाले त्यसरी दाबी गरेपछि चार विद्यार्थीको नाम माग्दा उनले बताउन सकेन र भने, ‘यो रिपोर्ट छोड्दिनुस्, जहाँतहीँ यही त हो नि, के गर्नुहुन्छ यो रिपोर्ट लिएर तपाइँ ?’

त्यतिमात्र नभएर उनले विद्यालयमा विद्यार्थी नहुनुको कारण पनि खुलाए, ‘बोर्डिङका गाडी मात्र ६÷७ वटा आउँछ, हामीले के चेन्ज गर्न सक्छौं र ?’

विद्यार्थी नहुँदा खल्लो लाग्ने अनुभव बाँडे उनले, ‘ खल्लो लाग्छ नि, कक्षाभरी राखेर पढाउन पाए पो आनन्द आउँछ ।’

उनका अनुसार सो विद्यालयमा एक इसिडी शिक्षकसहित अरु चारजना शिक्षक छन् । प्रधानाध्यापक प्रभाकर खनाल, सहायक प्रअ दिपक थापा, शिक्षक जयराम आचार्य, शिक्षिका गीता दाहाल र इसिडी शिक्षिका जुना न्यौपाने ।

दुई शिक्षकहरु क्रमशः जयराम आचार्य र जुना बस्नेत । विद्यार्थी नभएको कक्षामा बसिरहेका छन् । उनीहरुले विद्यार्थी ढिला गरी आउने भएकाले कुरिहेको बताए ।

प्रअ खनाल भने कहिलेकाहिँ मात्र आउँछन्, उनी विद्यालयमा नियमित नआएको करिब दुई वर्षजति भइसकेको छ । ‘हेडसर नआउनुभएको त्यस्तै दुई वर्षजति भो, कहिलेकाहिँ भने आउनुहुन्छ, घरमै आराम गरेर बस्नुभएको छ, उहाँ एकपटक लडेपछि स्कुल आउन कम गर्नुभएको हो, त्यसपछि यहाँको जिम्मा सबै दिपक सरलाई छ ।’ शिक्षिका जुना न्यौपानेले भनिन् ।

शिक्षक जयराम आचार्यले विद्यालय २०१६ सालमा स्थापना भएको बताउँदै आफूले भने २०५६ सालदेखि पढाउँदै आएको बताए । ‘त्यो बेला त २००/२५० विद्यार्थी हुन्थे, २०७२ सालको भूकम्पको बेलामा पनि सिन्धुपाल्चोकका आएर ६० जनाजति पुगेको थियो, अहिले त्यस्तै चारपाँच जना छन् ।’
उनले त्यसो भने पनि बिहानको साढे १० बज्न लाग्दा पनि एकजना विद्यार्थी पनि आइपुगेका थिएनन् । ‘चारपाँच जना विद्यार्थी छन्, कहिले आउँछन्, कहिले आउँदैनन् फेरि आजबाट त सोह्रश्राद्ध लागेको छ, आउँदै होलान् ।’ उनले फेरि भने ।

विद्यालयको चौरमा गाई र बाख्रा आएपछि धपाउँदै शिक्षक जयराम आचार्य ।

नजिकैको वडा कार्यालयमा रहेका एक कर्मचारी भने विद्यालयमा विद्यार्थी नहुनुको कारणबारे भन्छिन्, विद्यालयमा केही सुविधै छैन, किन आओस् त ? अन्य स्कुलमा भए, कस्तो कस्तो सुविधा छ, कत्ति स्याहार छ, यहाँ त….’

विद्यार्थी नहुनुमा आफूहरुको कमजोरी नभएर बोर्डिङकै कारण रहेको शिक्षक आचार्य बताउँछन्, ‘स्याउँस्याउँती बोर्डिङ छन्, एकदुई आना जग्गा बेचेपनि १५/१६ लाख आइहाल्छ, पैसा भएपछि हाम्रोजस्तो स्कुलमा कसले पढाउँछ र ?’

विद्यालयको चौरमा गाईको गोबर

वडाध्यक्ष बुद्धिलाल महर्जनले पनि सो विद्यालयमा चारपाँच जना विद्यार्थी रहेको सुनेको बताउँदै स्कुलमा जान नसकेको बताए । उनले भने, ‘ सबैतिर यस्तै हो, यहो मेरो वडामा चारवटा प्रावि स्कुल छन्, सबै त्यस्तै हो, अहिले एउटा प्रावि श्रीकृष्ण प्राविमा भने अलि बढी विद्यार्थी छन्, नत्र सबैमा यस्तै हो, हामीले केही पनि गर्न सकेका छैनौं ।’

प्रकाशित मिति : २०७५ साल असोज ९ गते ।

:2030 Views

Leave a Reply