एउटा स्कूल जहाँ ‘ मिल्टन’ र ‘एडिसन’ पढाइरहेछन्

हरिसुन्दर छुकां
भक्तपुर । हल्का प्याजी रंग भवन । भवनको तेस्रो तल्लाको बरण्डाजस्तै निकालिएको पर्खालमा निलो रंगमा पोतिएको छ, ‘प्रतिभा वरदान नभएर परिश्रमको उपज हो ।’ अनि त्यसैको मुनि त्यो भनाइ कसको हो भनेर पनि लेखिएको छ । – थोमस एडिसन ।
त्यो भनाइ भक्तपुरको दुवाकोटस्थित चाँगुनारायण माविको भवनको एक भागमा लेखिएको हो । जुन भनाइलाई सो विद्यालयमा दैनिक पढ्न आउने विद्यार्थी नियाल्छन्, कोहीले सश्वर वाचन गर्छन्, कोहीले मनमनै ।
विद्यार्थीले मात्र कहाँ हो र ? त्यसलाई त शिक्षकहरुले पनि नजर लगाउँछन्, मनमनै पढ्छन् पनि । त्यतिमात्र नभएर जो विद्यालय पुग्छन्, तिनले पनि हेर्छन् ।
वैज्ञानिक एडिसनको सो भनाइमा नजर गएपछि निश्चय नै अन्यत्र पनि ध्यान जान्छ, सो क्रममा ती वरण्डाका पर्खालहरुमा लेखिएका अन्य भनाइ र ती भन्ने व्यक्तिहरुका नामसँग साक्षात्कार भइन्छ । सो क्रममा साहित्यकार जोन मिल्टन, डिजराइली र केही अनाम भनाइसँग पनि साक्षात्कार हुन्छ ।
जोन मिल्टन भनिरहेका छन्, ‘एउटा असल पुस्तक जीवन दिने रगत र ओज हो । डिजराइली भन्छन्, ‘मान्छेको सबैभन्दा असल साथी उसका दश औंला हुन् ।’ अनि अनाम व्यक्ति भनिरहेका छन्, ‘ सम्पूर्ण अन्धकार हटाउन सकेपछि पनि एउटा मैनबत्ती बाल्न सक्नुपर्छ ।’
यतिमात्र नभएर भवनका ती बरण्डाहरुमा अँग्रेजी भाषामा पनि भनाइहरु लेखिएका छन् ।
यसरी पर्खाहरुहरुमा भनाइहरु लेख्दा विद्यार्थी मात्र नभएर शिक्षक पनि उत्प्रेरित भइरहेका छन् । ‘उत्प्रेरित शिक्षकले आफ्नो अध्यापन कर्ममा र उत्प्रेरित विद्यार्थीले मात्र आफ्नो अध्यययनमा सुधार ल्याउन सक्छ । विद्यालयहरुले, प्रअ तथा शिक्षकहरुले विभिन्न तौरतरिका अपनाउन सक्छ । यस्तै एउटा तरिका हो, विद्यालयका भित्ताहरुमा, बार्दलीका पर्खालहरुमा विभिन्न मननीय अभिव्यक्तिहरु वा भनाइहरु लेख्नु ।’ विद्यालयका प्रधानाध्यापक दधिराम गेलाल भन्छन् ।
सो विद्यालयले भवनका विभिन्न भागमा उत्प्रेरणा मिल्ने खालका विभिन्न व्यक्तित्वहरुका अभिव्यक्तिहरु लेखेका छन् । खाली ठाउँमा केही अभिव्यक्तिहरु लेख्दा त्यो ठाउँको सदुपयोग मात्र नभएर शोभा पनि बढेको छ । त्यसले विद्यालयप्रति हेर्ने दृष्टिकोणमा पनि फरक आएको छ ।
‘हामीले राम्रा मानिसहरुका भनाइहरुलाई लेखेका छौं, संसारभरी आफ्नो विचार दिएका व्यक्तिहरु त्यत्तिक्कै प्रेरक व्यक्तिहरु हुन्, उनीहरुका भनाइहरु पनि प्रेरक नै भएकाले उनीहरुका भनाइहरु लेखिएका हुन् ।’ प्रअ गेलालले भने ।
उनले ती व्यक्तिहरुलाई चिन्न, उनीहरुबारेमा सोधखोज गर्न पनि ती भनाइले सहयोग पुग्ने बताए । ‘विद्यार्थी र शिक्षकहरु दिनहुँ आउनुहुन्छ, कम्तिमा एकपटक भएपनि सो भनाइ हेर्छन्, त्यसबाट अप्त्यक्ष रुपमा शिक्षकलाई र विद्यार्थीलाई फाइदा पुगिरहेको हुन्छ ।’ उनको भनाइ छ ।
सोही विद्यालयका शिक्षक सुरेश ढुंगानाले पनि विद्यालयमा लेखिएका भनाइको सकारात्मक प्रभाव परेको बताउँछन् ।
प्रकाशित मिति : २०७५ असोज १० गते ।
:765 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव