‘स्कुल चलाउन कति गार्हो ? हामीलाई थाहा छ’

हरिसुन्दर छुकां

भक्तपुर । इटाछेंको एक स्कुलमा भक्तपुर नगरपालिकाका एकजना पनि विद्यार्थी पढ्दैनन् । सो विद्यालयमा पढ्न आउने विद्यार्थी सबै सूर्यविनायक नगरपालिकाको पाण्डुबजार, घलाटेँ, सुन्दरबस्तीबाट आउँछन् ।

त्यहाँबाट आएका विद्यार्थी पनि सूर्यविनायक नगरपालिकावासी भने होइनन्, उनीहरु पनि विभिन्न जिल्लाबाट बसाइँ सरी आएका मजदुरका सन्तान हुन् ।

स्थानीय एकजना पनि नपढ्ने सो विद्यालयमा ती विद्यार्थी ल्याउन विद्यालयका प्रअ, शिक्षकहरुले कम्ता दुःख गरेका छैनन् । ‘तीन चारवटा ठूला ठूला विद्यालयलाई पार गराउँदै ल्याउनुपर्छ, विद्यालय ल्याउँदा विद्यार्थीहरु धेरै विद्यार्थी भएको स्कुलतिर आँखा लगाउँदा पनि हामीलाई डर लाग्छ ।’ उदय प्रावि(आधारभूत विद्यालय) का शिक्षिका दिनु जोशी भन्छिन् ।

विद्यार्थीहरु शारदा प्रावि, शान्तिनिकेतन मावि, मेधा माविजस्ता विद्यालय पार गराएर ल्याउनु पर्ने बाध्यता सुनाउँदै शिक्षिका जोशी थप्छिन्, ‘ठूला स्कुलहरुमाझमा पनि हामीले अहिले ४२ जना विद्यार्थी पढाइरहेका छौं, विद्यालयमा आउने स्रोतव्यक्ति, विद्यालय निरीक्षकले समेत धन्न अन्त हेरी तपाइँहरुकोमा विद्यार्थी छन् भन्नुहुन्छ ।’

त्यसरी आएका विद्यार्थी टिकाउन पनि विद्यालयलाई हम्मेहम्मे छ । त्यही भएर दुई दिनसम्म विद्यार्थी स्कुल आएन कि शिक्षिकाहरुको मनमा खैलाबैला मच्चिहाल्छ । अनि त शिक्षिकाहरु बच्चा खोज्न लाग्छन्, बच्चा आउने ठाउँतिर ।

‘दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका सन्तान पढ्न आउँछन्, दुई दिन मात्र विद्यार्थी आएनन् भने हामी विद्यार्थीको कोठासम्म पुग्छौं ।’ प्रअ रीता जोन्छे, शिक्षिका मीरा धौभडेल र जोशी एकैपटक भन्छन् ।

त्यसरी जाँदा पनि उनीहरुको मन मान्दैन, उनीहरु एक शैक्षिक सत्रभरी नै विद्यार्थीले कम्तिमा कोठा नसरिदिए हुने चाहन्छन् । ‘कतै तिनीहरुले पढाइ त छोडेनन् भन्दा पनि कोठा त छोडेनन् भन्ने चिन्ता लाग्छ, किनभने कोठासँगै उनीहरुले स्कुल पनि फेर्छ, हाम्रोमा आउँदैन ।’ प्रअ जोन्छे भन्छिन् ।

दैनिक ज्यालादारीको काम गर्ने अभिभावकका सन्तान पढिरहेका विद्यार्थीहरुले कोठा छोडे भने विद्यालय पनि छोड्ने पक्का छ । त्यो नहोस् भनेर शिक्षिकहरुले आफ्नो तलबबाट मासिक ५ सयदेखि एकहजार रुपियाँसम्म व्यहोर्ने गरी विद्यार्थीलाई खाजाको पनि बन्दोबस्त गरिरहेका छन् ।

यत्ति गर्दा गर्दै पनि विद्यालयमा विद्यार्थीको आर्कषण नहुनु उनीहरुले व्यहोरिरहेको अर्को दुःख हो । ‘हामीकहाँ विद्यार्थी छैन् कि छैनन् भनी सोधखोज गर्न मात्र आउँछन्, विद्यार्थी ल्याउन र टिकाउन के गरिरहेका छौं, कत्रो दुःख गरिरहेका छौं भन्ने चाहिँ बुझ्न आउँदैनन्, कोहीले हाम्रो दुःख देखेका छैनन् ।’ दुखित हुँदै शिक्षिकात्रय गुनासो गर्छन् ।

शिक्षिकाले विद्यार्थी लक्षित विभिन्न ‘प्याकेज’ ल्याएर ‘लोभ’ देखाउने गर पनि त्यो ‘लोभ’ ले खासै प्रभाव पारेको देखिँदैन । विद्यालयमा आर्कषण नबढ्नुमा विभिन्न कारण लुकेको उनीहरु बताउँछन् ।

‘अहिले त अँग्रेजीमा पढाउने स्कूलहरुतिरै बढी विद्यार्थी गएका छन्, हाम्रोजस्तो स्कुलमा त…..’शिक्षिका धौभडेलले वाक्य नै पूरा नगरी अर्को कारण पनि सुनाइन्, ‘अँध्यारो छ कक्षाकोठा, खेलाउने ठाउँ पनि छैन, घाम नलागे टुकी बाल्नुपर्ने अवस्था छ । यस्तो भएपछि आएका पनि बस्न मन पराउँदैनन् ।’

जम्माजम्मी दुई आना १ दामको क्षेत्रफलमा फैलिएको उदय प्राथमिक विद्यालयमा ५ जना शिक्षक छन् । वि.सं. २०१८ सालमा स्थापना भएको सोही विद्यालयबाट कखरा सिकेका व्यक्तिहरु राष्ट्रको उच्च ओहोदामा पुगेका छन् ।

 

विद्यालयका शिक्षिकाहरु विद्यार्थीको आर्कषण बढाउनका लागि विद्यालय नै सार्नुपर्ने देख्छन्, ‘यस्तो गुच्चमुच्च, घाम नआउने, खेल्ने ठाउँ नभएको विद्यालयमा आउन कसलाई मन लाग्छ र ?’ प्रतिप्रश्न गर्दै प्रअ जोन्छे स्कुल कतै राम्रो ठाउँमा सारे राम्रा हुने बताउँछिन् ।

:1858 Views

Leave a Reply