अस्थायीको विद्यालय बन्द :फाइदा चाहिँ कसलाई  ?

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित गुह्येश्वरी माध्यमिक विद्यालय सोमबार दिउँसो १ बजेसम्म मात्र खुल्यो, त्यसपछि भने बन्द भयो ।

त्यसरी पूरै पढाइ नगरीकन स्कुल बन्द गर्नुको पछाडि सोमबार घोषणा भएको बन्दको प्रभाव हो ।

‘आज १ बजेसम्म पढाइ भयो, त्यसपछि हामीले स्कुल बन्द गर्यौं ।’ विद्यालयका प्रधानाध्यापक मेघ बञ्जाराले भने । उनले सोमबार पूरै विद्यालय सञ्चालन गर्न नपाउनुको कारण विद्यालयमा कार्यरत अस्थायी र राहत शिक्षक भएको बताए ।

‘हामीकहाँ ४ जना अस्थायी र ४ जना राहत शिक्षक हुनुहुन्छ, उहाँहरुले आफ्नो माग राखी विद्यालय बन्दको घोषणामा साथ दिनुस् भनेर भन्नु भएपछि १ बजेसम्म मात्र पढाउन पायौं ।’ उनले भने ।

अस्थायी शिक्षकले आफ्ना पूराना माग पूरा नभएको भन्दै गरिएको बन्दले आखिरमा कसलाई फाइदा पुग्यो त ? भन्ने प्रश्न शैक्षिक क्षेत्रमा उठेको छ । सामुदायिक विद्यालयप्रति विभिन्न कोण, प्रतिकोणबाट आक्रमण भइरहेको र विभिन्न नकारात्मक टिकाटिप्पणी भइरहेको बेलामा अस्थायी शिक्षकहरुको आन्दोलनले सामुदायिक विद्यालयप्रति अझ नकारात्मक प्रभाव बढाउन मलजल गरेको विभिन्न विद्यालयका शिक्षक, अभिभावक र प्रधानाध्यापकहरुले प्रतिक्रिया दिएका छन् ।

‘आजको बन्दको फाइदा न अस्थायी शिक्षकलाई भयो, न शिक्षकलाई भयो, न त विद्यार्थीलाई’ सिनामंगलका प्रअ बञ्जारा र ललितपुरको इमाडोलस्थित गम्भीर समुद्र सेतु माविका प्रअ देवेन्द्र महर्जनले भने, ‘यसले त हाम्रो जस्तो विद्यालयप्रति अभिभावकको हेर्ने दृष्टिकोण नै नकारात्मक भएको छ, यसले प्रत्यक्ष रुपमा निजी विद्यालयलाई फाइदा पुगेको छ ।’

सामुदायिक विद्यालय बन्दले अभिभावकको विश्वास जित्नमा बाधा पुगेको ती दुबै प्रअको भनाइ थियो । ‘अनेकौं तरिकाले सम्झाएर, बुझाएर अभिभावकको विश्वास लिएका थियौं, पढाउने शिक्षकले नै बन्द गर्दा त्यसमा धूमिल भएको छ,’ प्रअ बञ्जाराले भने, ‘अभिभावकले त्यही पढाउने, त्यही आन्दोलन गर्ने, त्यस्तो ठाउँमा हामीले किन आफ्नो बच्चा पठाउने ? भनेर सोध्न थालिसके ।’

विभिन्न मागहरुका साथ गरिएको बन्द आह्वानले सोमबार आंशिक प्रभाव परे पनि त्यसले दीर्घकालीन असर पुग्ने प्रअहरुको ठहर छ ।

प्रअ महर्जन र बञ्जाराले शिक्षकले गरेको बन्दबाट प्रत्यक्ष रुपमा सरकारी स्कुललाई घाटा पुगेको र अप्रत्यक्ष तवरले निजी विद्यालयलाई फाइदा पुगेको बताए । ‘सामुदायिक विद्यालय बन्द भएपछि अभिभावकहरुमा निजीमै पढाउनुपर्छ भन्ने सोच आउँछ ।’ उनीहरुको भनाइ छ ।

संघीय शिक्षा ऐनमा विज्ञापन नम्बर ३ का शिक्षकलाई न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा पास गराउनुपर्ने, विज्ञापन नं १ र २ लाई झैं विज्ञापन नम्बर ३ का शिक्षकलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने वातावरण मिलाई दिनुपर्ने, आन्दोलन वा विविध कारणले आन्तरिक परीक्षाबाट बञ्चित भएका अस्थायी शिक्षकहरुलाई पुनः परीक्षा दिन पाउने अवसर दिलाउनुपर्ने, पास हुन नसक्ने अस्थायी शिक्षकलाई अर्को विद्यालय, तह वा राहत कोटामा पुनस्र्थापना गर्नुपर्नेलगायतका माग अस्थायी शिक्षकहरुले राख्दै आएका छन् ।

सोही माग पूरा नगरेको ‘झोंक’ मा उनीहरुले सोमबार र मंगलबार दुईदिन विद्यालय बन्दको घोषणा गरेका छन् । सो घोषणाबाट राजधानी काठमाडौं, भक्तपुर र ललितपुरमा केही थोरै प्रभाव परे पनि राजधानीबाहिर भने अत्यधिक प्रभाव परेको संयुक्त अस्थायी शिक्षक संघर्ष समितिका संयोजक वेदराज अधिकारीले दाबी गरे । ‘उपत्यकामा केही थोरै विद्यालयमात्र बन्द छन् तर उपत्यकाबाहिर भने ८० प्रतिशत विद्यालय बन्द छन् ।’

सोमबारको बन्दले कोहीलाई पनि फाइदा नपुगेको स्वयम् संघर्ष समितिका संयोजक अधिकारी र नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीको पनि स्वीकारोक्ति छ ।

महासचिव सुवेदीले महासंघ आफै आन्दोलनमा रहे पनि विद्यालय बन्द गर्ने सम्मको कार्यक्रम निर्धारण नगरेको र शिक्षकसँग सम्बन्धित अन्य समितिहरुलाई पनि बन्दको कार्यक्रम नराख्न अनुरोध गरिएको बताउँदै अस्थायी शिक्षकले गरेको बन्दको असरको जिम्मेवार स्वयम् अस्थायी शिक्षकले नै लिनुपर्ने बताए ।

‘आफ्नो हक अधिकारका लागि संघर्ष गर्नु, आन्दोलन गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो तर बन्दसम्मको कार्यक्रम तय गर्नु राम्रो होइन, यसले कोहीलाई फाइदा पुग्दैन, आजको बन्दको असर सम्बन्धित पक्षले नै जिम्मा लिनुपर्छ ।’ उनले भने ।

संयोजक अधिकारीले बन्द गर्नु रहर नभएर बाध्यता भएको वाक्य दोहोर्याए ।

फोटो :  ज्योतिनारायण ढकालको फेसबुक ।

:1136 Views

Leave a Reply