प्रअको काम के ? ‘माष्टरलाई हेर्ने कि बच्चा पढाउने ?

सबिना बानियाँ

काठमाडौं । केही विद्यालयमा विषयगत शिक्षण पिरियड छुट्याएर प्रधानाध्यापक(प्रअ) कक्षा लिने गर्छन् भने केही स्कुलका प्रअ विद्यार्थीलाई जीवन र आदर्शका कुरा सिकाउने र शिक्षकलाई अवलोकन गर्ने गर्छन् ।

१५ वर्षदेखि भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलका प्रअ रवि दुवाल दैनिक तीन पिरियड पढाउँछन् । उनी भन्छन्, ‘प्रिन्सिपल आफैमा एक शिक्षक हो तर शिक्षकले जसरी पूरा समय पढाउनतर्फ लाग्न हुँदैन ।’ शिक्षक र विद्यार्थीका समस्या बुझ्न र विद्यार्थीसगँ घनिष्टता बढउनका लागि भन्दै उनले ८, ९ र १० कक्षाका विद्यार्थीलाई पढाउँदै आएका छन् ।

त्यस्तै भक्तपुरको दधिकोटको मोर्डन स्कुलका प्रअ अनिल कसपाल भने नियमित कक्षा लिँदैनन् तर कक्षा ११ र १२ का कमजोर विद्यार्थीलाई भने दिनको दुईघन्टाको दरले समय दिन्छन् ।

‘नेपालको कानुनमै प्रअले पढाउनु पर्छ’ भन्ने व्यवस्था रहेको उनी बताउँछन् । यसरी कक्षा लिँदा विद्यार्थीले प्रअको क्षमताको बारेमा थाहा पाउने र विद्यार्थीको व्यवहार थाहा पाउने उनको अनुभव छ । प्रअले नपढाउँदा विशेष गरी सरकारी विद्यालयका प्रध्यानाध्यपक सधैँ एउटै पदमा नरहने र पछि शिक्षक हुँदा विद्यार्थीलाई पढाउने बानी छुट्न गई गुणस्तरमा कमी आउने उनी बताउँछन् ।

शिक्षण गर्न रुचाउने कसपाल कक्षा लिन सक्दा धेरै राम्रो हुने बताउँछन् । आफ्नो प्रशासकीय र व्यवस्थापनलाई समय दिएर बचेको समयमा पढाउन सकिने उनको राय छ ।‘व्यवस्थापन गर्दा गर्दै पढाउन नभ्याउने हो भने पढाउनु भएन’ उनले भने, ‘प्रिन्सिपलले पढाउँदा व्यवस्थापकीय र शैक्षिक वातावरण राम्रो हुन्छ ।’

तर भक्तपुर व्यासीस्थित एभरेष्ट इङ्लिश स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी भने फरक विचारका छन् । प्रिन्सिपलले किताबका पाठ्यक्रमका कुरा नभई संस्कारका कुरा पढाउनुपर्नेमा उनी जोड दिन्छन् । शिक्षकले पढाएको हेर्ने, उनीहरुको कमजोरीलाई औंल्याई सुधार्न सुझाव दिन्छन् । उनी विद्यार्थीहरुलाई संस्कार, स्वास्थ्य र यौनदुव्र्यवहारको बारेमा रहेको धारणाका बारेमा ज्ञान दिनमा विशेष जोड दिन्छन् ।

‘थोरै शिक्षक हँुदा प्रिन्सिपलले कोर्सका कक्षा सञ्चालन गर्न सक्छन् तर यदि शिक्षक पर्याप्त मात्रामा छन् भने शिक्षकले कोर्सका कुरा नपढाएकै बेश ।’ उनले भने । उनी प्रअले विद्यार्थीलाई मोटिभेसन कक्षा दिनुपर्ने र शिक्षकले पढाएको हेर्ने र निर्देशन दिनुपर्नेमा जोड दिन्छन् ।

काठमाडौं पेप्सिकोलास्थित इन्ष्पायर एजुकेशनका प्रबन्धक इन्द्रकुमार प्रसाईं पनि प्रिन्सिपलले नियमित रुटिङको कक्षा लिनु नहुनेमा जोड दिन्छन् । ४ वटा स्कुलमा प्रिन्सिपल भइसकेका उनी भन्छन्, ‘हेडले नियमित रुपमा शिक्षक जसरी रुटिङ नै राखेर पढाउन सुहाउँदैन किनभने प्रिन्सिपल भनेको एउटा लिडर, हेड हो,।’ नियमित कपी काट्ने, कक्षा मै बसेर फुल टाइम पढाउदाँ अरु धेरै काममा असर गर्ने उनको धारणा छ । उनी भन्छन्, ‘प्रिन्सिपलले विद्यार्थीको कक्षामा गएर किताब पढाउने होइन कि उनीहरुलाई जीवन पढाउनुपर्छ । विषय नै पढाउनु पर्छ भन्ने छैन । विद्यार्थीलाई आदर्श, नैतिकता, चरित्रका बारेमा पढाउनुपर्छ प्रिन्सिपलले ।’

कहिलेकाहीँ प्रिन्सिपलले सबैं कक्षामा गएर विद्यार्थीसगँ घुलमिल हुने, शिक्षकसँगै बसेर को-टिचिङ गर्ने गर्नुपर्छ । टिचरले पढाएको अवलोकन र मूल्याङ्कन मात्र गर्नुभन्दा उनीहरुसँगै बसेर कक्षाको अवस्थालाई कसरी अगाडि बढाउने भन्ने कुराहरु,अनुभव साट्दै बालबालिकालाई पढाउन सकिने उनको सुझाव छ ।

:2424 Views

Leave a Reply