काभ्रेको विहावरमा नमूना कक्षा, विद्यार्थी र शिक्षक दुबै दंग

काभ्रे । काभ्रेको पनौतीस्थित विहावर आधारभूत विद्यालयमा यसै वर्षदेखि नमूना कक्षा सञ्चालन गरिएको छ ।

सामुदायिक विद्यालयप्रति समुदायको विश्वास कम भएकाले विद्यार्थी सङ्ख्या कम भएको बताउँदै प्रधानाध्यापक उद्धवप्रसाद बोलखेले विद्यालयको गुणस्तर बढाउनको लागि सो कक्षा सञ्चालन गरिएको जानकारी दिए । ‘हामीले अँग्रेजी माध्यम राखेर पनि हेर्यौं, अतिरिक्त क्रियाकलाप राखेर पनि हेर्यौं तर विद्यार्थी सङ्ख्या नबढेपछि ग्रामीण सामुदायिक संगठन (आरसिएफ)को सहयोग लिएका छौं, त्यसयता विद्यार्थी बढेको छ ।’

उनले नमूना विद्यालय बनाउनका लागि शैक्षिक सत्र २०७५ को बैशाखदेखि कक्षा १ मा नमूना कक्षा सञ्चालन गरेको बताए । उनका अनुसार सो कक्षालाई हरेक वर्ष थप गर्दै लगिनेछ ।

नमूना विद्यालय सञ्चालनपछि अभिभावक पनि खुसी भएको उनको अनुभव छ । उनी प्रत्येक दिन कक्षा अवलोकन गरी शिक्षकहरुलाई आवश्यक सल्लाह र सुझाव दिएको बताउँछन् ।

सो विद्यालयका प्रधानाध्यापक, विव्यस र शिक्षकहरुबाट नमूना कक्षा सञ्चालनका लागि अनुरोध आएपछि सामुदायिक विद्यालय सुधारका लागि आरसिएफले सहयोग गरेको सो संगठनका कार्यकारी निर्देशक श्रीकृष्ण थापाले जानकारी दिए ।

आफ्नो स्कूल नजिकै ३ वटा स्कूल र ६ वटा स्कुल बस आउँदा सामुदायिक विद्यालयमा समस्या भएको उनको भनाइ छ । स्कुलमा आरसिएफले स्वयम्सेवकको रुपमा २ जना शिक्षक र समय–समयमा किताब, झोला र पोसाक सहयोग गरिरहेको छ । रातो बङ्गला फाउण्डेशनले वर्षमा १ पटक स्कूल अवलोकन गरी पुस्तकालय व्यवस्थापनमा सहयोग गर्दै आइरहेको उनले जनाए ।

:883 Views

Leave a Reply