आइसियुबाट विद्यालयको पुकार : ‘म पुनर्जीवित हुन चाहन्छु’

मेरो नाम श्री सिध्दि शारदा आधारभूत विद्यालय हो । मेरा जन्म विसं २०२७ जेष्ठ १ गते गोल्मढी टोलको चोर्चा क्षेत्रमा भएको हो ।
त्यस क्षेत्रका समाजसेवी, शिक्षाप्रेमीहरुको प्रयासबाट मेरो प्रादुर्भाव भएको हो । चोर्चा क्षेत्रकै स्थान गणेश सिध्दि गणेश र विद्याकी अधिस्थात्री सरस्वती (शारदा एक नाम) दुबै मिलाई सिध्दि शारदा भनेर नाम जुराउने व्यक्ति संस्थापक प्रधानाध्यापक जीवनराज राजोपाध्याय हुन् । तिनै सिध्दि गणेशको ‘द्यःछें’मा मलाई संचालन शुभकामना २०३८/०३९ सालतिर चोर्चा ननिग: को किनं ६९, क्षेत्रफल ०–३–१–१ को जग्गा प्राप्त गरि तात्कालिन भक्तपुर विकास परियोजना, स्थानीय जनश्रमदान र जिविसको भौतिक सहयोगबाट मलाई द्यःछेंबाट आफ्नै भवनमा स्थानान्तरण गर्न निर्माण कार्य अघि बढाइयो । त्यतिबेला पूर्व प्राथमिकदेखि कक्षा ५ सम्ममा ३०० जति विद्यार्थी पढ्न आउँथ्यो । सेवा दिँदै गइयो । २०४६ सालको जनआन्दोलनपछि संस्थागत विद्यालयको उपस्थिति बढ्दै गयो ।
त्यसले दिने सेवाको तुलनामा मैले सेवा दिन सकिँन । स्थानीयले आफ्ना बच्चाहरु मकहाँ पठाएनन् । बच्चाहरुले मलाई माया नै गरेनन् । अरु विद्यालयलाई नै रोज्न थाले । सुक्दै गयो । वि.सं २०६६ को अन्त सम्ममा ११ जना मात्र विद्यार्थी बाँकी थियो । नयाँ ढंगबाट जानुपर्छ भन्ने मन र मस्तिष्कमा गुनेर प्लेगु्रप र नर्सरीदेखि अध्यापन शुरु गरियो । तात्कालिन जिशिका (जिशिअ–रमाकान्त शर्मा)ले कक्षा १ मुनिका विद्यार्थी, विद्यार्थी नै होइनन् भनेर वागीश्वरी माविमा गाभ्ने उद्देश्यले प्रधानाध्यापक धनेशराज राजोपाध्याय लगायत अन्य शिक्षकहरुलाई अर्काे व्यवस्था नभएसम्म भनी मकहाँबाट वागीश्वरी मावि पठाइयो २०७१ फागुनमा ।
वागीश्वरी माविले गाभिएर लिन्न र स्थानीयले गाभ्न नदिने भनेपछि अर्काे व्यवस्था नभएसम्म भनी काज सरुवा मात्र गरे । २०७३ असार ३ गतेदेखि प्रअ धनेशराज राजोपाध्यायलाई काजफिर्ता गरी रोक्का रहेको बैंक खाता फुकुवा पनि गरियो । त्यसपछि श्रावण महिनामा बाँकी तीनजना शिक्षकहरुलाई पनि काज फिर्ता गरियो । कात्तिक महिनामा इसीडी कोटा–१ उपलब्ध गराइएको पत्र जिशिकाबाट प्राप्त भयो र मंसिर १ गतेबाट कामकाज गराउने गरी रीतपूर्वक सर्जिना ताम्राकारलाई नियुक्त गरियो ।
२०७२को मध्यभागदेखि वागीश्वरी मावि, ब्रह्मायणी पीठ विकास समिति र श्री सिध्दि शारदा प्राथमिक विद्यालय सहयोग समितिबीच एक वर्ष मलाई निःशुल्क आश्रय दिने सम्झौता भयो । प्लेगु्रपदेखि कक्षा तीनसम्म नानीहरु अध्ययन गर्छन् । शुरुमा वागीश्वरी माविकै कक्षा १,२ र ३ का १/१ सेक्सन ल्याएर मलाई फेरि ब्युँताइ दियो । मलाई आइसियुबाट साधारण वार्डमा ‘सिफ्ट’ गरी उपचार गरियो । २०७५को बैशाख सम्ममा वागीश्वरी माविबाट मकहाँ पढ्न आएका नानीहरु ३ कक्षा उत्तीर्ण गर्दै वागीश्वरीमै फर्किसकेका छन् । आजको मिति सम्ममा मकहाँ ८६ जना नानीहरु पढ्दैछन् । सम्झौताभन्दा पनि बढी समय पीठ विकास समितिले मलाई आश्रय दियो । त्यसका निम्ति म पीठ विकास समितिप्रति आभारी छु । त्यो ठाउँ स्थानीय जनताले चन्दा उठाएर श्रमदान गरेर भोजभत्तेर खुवाउने भोजघरको रुपमा विकास गर्न बनाएको स्थानमा म बडो अफ्ठ्यारो मानीमानी बसिरहेको छु । मलाई त्यहाँ आश्रय दिन वागीश्वरी माविले ३ लाखभन्दा बढी खर्च गरेको छ । वागीश्वरी माविप्रति म आभारी छु । एक प्रकारले वागीश्वरी मावि मेरो दोस्रो जीवनदाता नै हो ।
वागीश्वरी माविले यसै वर्षको नयाँ आवदेखि आफै सक्षम भएर अगाडि बढ्न सकून् भनेर शुभकामना र आशिष पनि दिए । त्यही ऊर्जा लिएर आफू यही ब्रह्मायणी क्षेत्रमा पुनस्र्थापित हुन जग्गा दिलाई पाउँ भनी हाम्रा नगरपिताकोमा निवेदन गर्न गएँ । मलाई हौस्याउन नेक्राशिसंका अध्यक्ष ज्ञानसागर प्रजापति, विव्यस अध्यक्ष कृष्णगोविन्द लाखाजू, विद्यालय सहयोग समितिका सदस्य विष्णुप्रसाद दुमरु, शिक्षक तथा चोर्चाका स्थानीय राजेन्द्र दुमरु र राजन लाखा पनि आउनु भएको थियो । नगरपिताज्यूले साथीहरुसँग सल्लाह गरेर कुरा अगाडि बढाउँछु भन्नुभयो ।
जग्गा प्राप्त भएमा भवन बनाउन रकम व्यवस्था गर्नुपर्छ भनेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बालकोटमा नियमानुसार प्रस्ताव पनि पेश गरेँ । समयमा जग्गा देखाउन नसकेर पहिलो लटमा नपर्ने जस्तो देखियो । चोर्चाको भवनले चर्चेको जग्गा रापुप्राको मापदण्डभित्र परेन । त्यहाँ बनाउन सम्भव भएन । नयाँ ठाउँ नै चाहियो । १५मिटर लम्बाइ र १० मिटर चौडाइमा चारकोठे भवन बनाइदिने भनेको छ । ६ झ्याल र २ ढोका भएको ४ कोठे भवन दिन तयार छन् । तर बनाउने जग्गा देखाउन सकिरहेको छैन । के मैले साँच्चिकै नवजीवन पाएर सेवा गर्न पाउँछु ? आशा त देखाइयो, तर फेरि आइसियुमा पुगेर पुनः मृत्युशैय्या पो पाइने हो कि भन्ने लाग्न थालेको छ । शिक्षक टीम खट्टिएर लागि परेका छन् । यही समयमा होस्तेमा हैंस्से भयो भने काँचुली फेर्नेका दुईमत नहोला । त्यसैले म सबै सरोकारवालासँग सोध्न चाहन्छु, के म साँच्चिकै पुनर्जीवित भएर सेवा गर्न पाउँछु ?
:948 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव