विद्यार्थीलाई दशैंमा घुम्न र मनोरञ्जनमा सहभागी गराउन शिक्षकको आग्रह

काठमाडौं । काठमाडौंको पुरानो सिनामंगलस्थित बेस्ट गुप्र भिजन इङ्लिश सेकेण्डरी स्कुलमा आज दशै विशेष कार्यक्रम सम्पन्न गरिएको छ । विशेषगरी कक्षा नर्सरीदेखि २ कक्षासम्मका विद्यार्थीलाई लक्षित गरी उनीहरुका अभिभावकलाई बोलाएर उनीहरुको प्रतिभालाई देखाइएको थियो ।

२ कक्षा माथिका केही प्रस्तृति राखिएता पनि उनीहरुलाई अन्य कार्यक्रममा प्राथमिकता दिइएकाले अहिले साना कक्षालाई लक्षित गरिएको विद्यालयका अध्यक्ष सुनिल खत्रीले बताए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, फेसन, राइम्स जस्ता क्रियाकलाप गरेका थिए । शिक्षकले पनि दशै शुभकामना दिदै नृत्य गरेका थिए ।

सो विद्यालयले पहिला १ महिना बिदा दिनेमा यस वर्ष भने १५ दिनको छुट्टी दिइएको छ । धेरै लामो बिदाले विद्यार्थीको पढाइमा असर गर्ने भएकाले यस वर्ष बिदा कम गरिएको विद्यालय अध्यक्ष खत्रीले जानकारी दिए ।

विद्यालयका प्रिन्सिपल चन्द्रकृष्ण गौतम विद्यालयमा बालमैत्री वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए । उनले विद्यार्थीलाई मोबाइलमा मात्र केन्द्रित नबनाउन जोड दिदै भने, ‘आफ्ना नानीबाबुलाई मोबाइलमा भन्दा बाहिरी वातावरणमा घुलमिल गराउनुस्, साथै जुनबेला नि पढ् पढ् मात्र नभनी मनोरञ्जनमा जोड दिन आग्रह गर्दछु ।’ उनले बिदामा विद्यार्थीहरुलाई दिनको २ घण्टामात्र पढाईमा केन्द्रित गराउन अभिभावकलाई सुझाव दिए ।

दशै कार्यक्रममा टिका र जमरा
भक्तपुरको व्यासीस्थित एभरेष्ट इङ्लिश स्कुलमा भने आज टिका र जमरा लगाई शुभकामना दिई दशै बिदा गरिएको छ । १ हप्ता अगाडि रोपेको जमरा आज काटेर विद्यार्थीहरुलाई टिका लगाइदिने कार्यक्रम सम्पन्न भएको छ ।

बिदामा विद्यार्थीहरुलाई दशैं सम्बन्धित गृहकार्य (विज्ञानमा जमरा रोपेदेखी आउने माटो र जमराको रङको विषय, अग्रेजीमा दैनिक क्रियाकलापको समयतालिका, सामाजिकमा चङ्गाको विषय) दिएको विद्यालय प्रिन्सिपल भक्त राज भण्डारीले जानकारी दिए ।

बडा दशै शुभकामना तथा सम्मान कार्यक्रम


काभ्रेको बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानल आज बडा दशैं शुभकामना तथा सम्मान कार्यक्रम गरेको छ ।

बिहानी कार्यक्रममा कक्षा ११ मा अध्ययन गर्न आएका नव आगन्तुक विद्यार्थीलाई स्वागत, त्रिभुवन विश्वविद्यालय अन्तर्गत बी.बी.एस.चौथो वर्षमा, काभ्रे जिल्ला प्रथम हुन सफल विद्यार्थी, राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई बधाई तथा सम्मान गरेको थियो ।

सहायक कलेज प्रमुख नवराज चौलागाई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्यले विद्यार्थीहरुलाई शुभकामना तथा बधाई दिएका थिए ।

सांस्कृतिक कार्यक्रममा कलेज तह तथा विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न नृत्य, गायन तथा आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

 रमाइलो पढाइ मेला तथा दशैं शुभकामना


सिध्दि शारदा आधारभूत विद्यालय ब्रह्मायणी पीठ भक्तपुरमा रमाइलो पढाइ मेला तथा दशैं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । वागीश्वरी माविका कक्षा १२ शिक्षाशास्त्र पढ्ने ५ जना छात्र शिक्षकहरुलाई सम्भावित शिक्षक जीवनको शुभकामना दिंदै विदाइ गरिएको हो ।

उक्त समूहबाट विद्यालयलाई सम्झनाको चिनो स्वरुप भित्ते घडी उपहार प्रदान गरिएको थियो । कार्यक्रममा प्रधानाध्यापक धनेशराज राजोपाध्याय, सहायक प्रधानाध्यापक हरिकृष्ण भैल, विव्यसमा अभिभावक प्रतिनिधि महेश सिजापतिले शुक्रवारे अतिरिक्त क्रियाकलापमा सफल छात्रछात्राहरुलाई पुरस्कार वितरण गरेका थिए ।

:1176 Views

Leave a Reply