‘स्थायी’ को विकल्प रोज्दा बदलिएको स्कुल : कुशादेवी

सबिना बानियाँ

काभ्रे । पनौतिको कुशादेवी । त्यही ठाउँलाई नामाकरण गरी वि. सं.२०१६ सालबाट सुरु भयो, कुशादेवी स्कुल । त्यो स्कूल वि.सं. २०२९ सालसम्म विद्यालय प्रावि नै भएर अघि बढ्यो । त्यो क्रमले २०३६ सालसम्म निरन्तरता पायो भने, २०३७ सालबाट कुशादेवी निमावि, माविमा फेरियो ।

स्कुल स्थापनाको १३ वर्ष प्रावि, ८ वर्ष निमावि तहको सञ्चालन भएको उक्त स्कूलले माध्यमिक तहसम्मको पढाइ थालेपछि विद्यालयका विद्यार्थी संख्या खचाखच थियो, २०६० सालसम्म विद्यालयका एकहजार ५ सय विद्यार्थी थिए ।

विद्यार्थी संख्याको हिसाबले मात्र नभएर विद्यालयको नतिजाले पनि राम्रो विद्यालयको छवि बनाएको उक्त स्कुलमा २०६२ सालपछि भने विद्यार्थी संख्यामा क्रमशः गिरावट आउन थाल्यो वा भनौं २०६२ को शैक्षिक सत्रको सुरुवातदेखि विद्यालयमा ‘ग्रहण’ लाग्यो । विद्यार्थी सङ्ख्यामा नसोचेको किसिमले कमी आयो । बजार छेउको राम्रो स्कुल । भवन थियो, चौर थियो, (भौतिक पूर्वाधार हेर्दा त केही पनि समस्या थिएन, समस्या थियो त विद्यार्थीको ।) त्यही नै विद्यालयको लागि पार लगाउन मुश्किल समस्या बन्यो ।

त्यसैले विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई चिन्तित बनायो । अनि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र स्थानीय बसे, कसरी फेरि विद्यार्थी बढाउने भनेर सल्लाह गरे ।

त्यो सल्लाहबाट निष्कर्ष निस्कियो, ‘बोर्डिङले जस्तै गरी अँग्रेजी भाषाबाट पढाउने ।’ त्यसपछि विद्यालयले कक्षा १ देखि ५ कक्षासम्म अँग्रेजी माध्यमबाट पढाउन सुरु गरे ।

त्यति गर्दा पनि विद्यालयमा खासै विद्यार्थी संख्या बढ्न सकेन । फेरि विद्यालयले छलफल गरेर वि.स २०६७ सालबाट प्रावि माथिका कक्षामा पनि बोर्डिङ स्कुलका अँग्रेजी किताब पढाउन थाले । तर अँग्रेजी माध्यममा पढाइ हुदाँ पनि विद्यार्थी सङ्ख्या घटेकोमा विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद भुजु चिन्तित बने ।

अभिभावकको सल्लाह सुझाव लिएर विद्यालयले अँग्रेजी पाठ्यपुस्तक पढाए, माध्यम भाषा पनि अँग्रेजी नै गरे तर, विद्यार्थी संख्यामा भने उल्लेख्य सुधार आउन सकेन । अनि विद्यालय परिवारलाई लाग्यो, ‘विद्यार्थी सुविधा दिएकै भरमामात्र विद्यार्थी बढ्ने होइन रहेछ ।’ अँग्रेजी माध्यमबाट पढाउँदा पनि विद्यार्थी सङ्ख्या घटेपछि उनीहरुले मुख्य कारण फेला पारे, ‘विद्यालयमा विद्यार्थी संख्या नबढ्को कारण त पुराना र स्थायी वा जागिरे शिक्षक पो रहेछन् ।’

अभिभावकले आफूहरुलाई विश्वास नगरेको महसुस भएपछि उनीहरुले निधो गरे, अब शिक्षक फेर्ने । ‘अभिभावकले पुराना शिक्षकलाई विश्वास नै गरेनन्, त्यसपछि हामीले स्कूलमा नयाँ अनुहार, फ्रेस शिक्षक राख्यौं ।’ त्यसयता विद्यालयमा क्रमश ः विद्यार्थी संख्या वर्षेनी बढिरेको छ ।

त्यसरी नयाँ अनुहारका शिक्षकले कक्षालाई नै नमूना कक्षामा बदलेका छन् । विद्यालयमा १० जना मोडल कक्षा पढाउने शिक्षक–शिक्षिका छन् । उनीहरु बिहान नौ बजे स्कुल आइपुग्छन्, पाठ योजना बनाउँछन्, विषयअनुसारका शैक्षिक सामग्री बनाउँछन्, साँझ चार बजेपछि दिन समीक्षा गर्दै बिदा हुन्छन् । ‘अहिले विद्यार्थी सङ्ख्या बढ्दो क्रममा छ,’ खुसी हँुदै प्र.अ भुजु भन्छन्, ‘२०७२ सालमा प्राविमा ६० जना विद्यार्थी रहेकोमा नमुना विद्यालय सञ्चालनपछि हाल विद्यार्थी संख्या ३६० पुगेको छ ।’

दश नयाँ शिक्षक राखेपछि विद्यालयलाई हेर्ने दृष्टिकोणमा फरक आएको छ । त्यही कारण पनि धेरै विद्यार्थी निजी विद्यालयबाट आएका छन्, सो विद्यालयमा अहिले । विद्यालयमा चालू नमुना विद्यालय कार्यक्रम कक्षा ६ सम्म पुगेको छ । सो स्कुल नजिकै अरु ३ विद्यालय छन्, त्यहाँ दैनिक १० विद्यालयका गाडी विद्यार्थी ओसार्छन् । तै पनि प्रावि तहमा अरु विद्यालयको तुलनामा आफ्नो विद्यालयमा धेरै विद्यार्थी भएकोमा शिक्षकहरु दङ्ग छन् ।

विद्यालयमा त्यो खालको परिर्वतनका लागि सोही स्थानमा रहेको संस्था आरसिएफले सहयोग गरिरहेको छ । आरसिएफ (ग्रामीण सामुदायिक संगठन नेपाल) ले नै विद्यालयमा नमूना कक्षाको अवधारणा विकास गरेको हो ।

:1086 Views

Leave a Reply