‘निजी विद्यालयलाई संसारको कुनै पनि ऐनले छुन सक्तैन’ :एनप्याब्सन पूर्व अध्यक्ष

भक्तपुर । निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन नेपालका पूर्वअध्यक्ष एवं पाणिनी स्कुलका प्रिन्सिपल कर्णबहादुर शाहीले निजी विद्यालयलाई कुनै पनि ऐनले छुन नसक्ने बताएका छन् ।
असोज २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको अनिवार्य तथा निःशुल्क शिक्षा विधेयकले निजी विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरुबीच अन्योलको स्थिति पैदा भइरहेको बेला एनप्याब्सनका पूर्व अध्यक्ष शाहीले उक्त कुरा बताएका हुन् ।
उनले निजी विद्यालय बन्द गर्ने किसिमबाट आएका ऐन, नीति संविधान विपरीत भएकाले त्यस्ता ऐन र नीतिले निजी विद्यालयलाई नछुने दाबी गरे ।
‘विद्यार्थीले पढेको कुरालाई जीवनमा उतार्न सक्ने गरी पठनपाठन गराए, अभिभावकको मन जित्न सके र समयसुहाउँदो र युगसँग प्रतिस्पर्धा गर्न सक्ने गरी पठनपाठन गराए संसारको कुनै पनि नीति र ऐनले निजी विद्यालयलाई बन्द गर्न सक्तैन ।’ भक्तपुरको कमलविनायकस्थित रोम्बस नेशनल स्कुलले विजया दशमी २०७५ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा रोम्बस दर्पणको विमोचन कार्यक्रममा पूर्वअध्यक्ष शाहीले भने ।
उनले निजी विद्यालय सार्वजनिक शिक्षाको विकल्पको रुपमा आइरहेको दोहोर्याउँदै संसारका धेरै देशहरुमा निजी विद्यालयहरुको अस्तित्व रहेको उल्लेख गरे ।
उनले निजी विद्यालयहरुमा पनि समयअनुसारको परिवर्तन आवश्यक भएको चर्चा गर्दै निजी विद्यालयका शिक्षकहरुले कक्षाकोठादेखि पठनपाठन शैलीमा सुधारको आवश्यकता पनि औंल्याए ।
विद्यालयले प्रकाशन गरेको रोम्बस दर्पण स्मारिकाको विमोचन गर्दै उनले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउन र विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धिको क्षेत्रमा विद्यार्थी लक्षित प्रकाशनहरुको महत्वपूर्ण भूमिका रहने बताए ।
एमनेष्टी इन्टरनेशनलका अध्यक्ष विक्रम ढुकुछुलाई सम्मान पनि गरिएको सो कार्यक्रममा अध्यक्ष ढुकुछुले विद्यालय तहदेखि नै मानवअधिकारको विषयलाई पठनपाठन गराउने वातावरण बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्रष्टा एवं सञ्चारकर्मीद्वय विकास प्रहर, हरिसुन्दर छुकां, विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजू, शिक्षक सूर्य तिमिल्सिना, शिक्षक सरिता श्रेष्ठले विद्यार्थीहरुले दशैंलाई सिर्जनात्मक तवरले उपयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा विद्यार्थीहरुले कविता वाचन गरेका थिए ।
:652 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव