शिक्षकको दशैं संस्मरण : टीकाको दिन झगडा गर्थें

मेरो बाल्यकालको दशैं सधैँ रमाइलो र बिर्सन नसकिने खालका नै हुन्थे । मेरो बाल्यकाल भारतको आसाम राज्यको डिगबोई सहरमा बित्यो । त्यहाँ नेपालीहरूको निकै राम्रो बाहुल्यता थियो । दशैंमा ठूलाठूला मूर्तिहरू स्थापना गरिन्थे र चारैतिर माइक बजाएर पूरै सहर नै गुञ्जायमान हुन्थ्यो ।

हामी साथीहरूको झुण्ड बनाएर ती मूर्ति हेर्न जान्थ्यौँ, हेर्नुभन्दा पनि सित्तैमा खान पाइने थरिथरिका मिष्ठान्न परिकारले लोभ्याउँथ्यो । त्यस ठाउँमा नेपाली समाजका पनि विष्णु मन्दिर र दुर्गा मन्दिर थिए । त्यहाँ भव्यतापूर्वक पूजाआजा हुन्थ्यो र बली पनि चढाइन्थ्यो । देवीको मूर्ति विसर्जन गर्न जाँदा नेपालीहरू खुँडा र तरबार लिएर नृत्य गर्दै अग्रपङ्तिमा हुने गर्थे । अगाडि हुनुमा हामीलाई गर्व लाग्थ्यो । काठमाडौँ आएपछि भने दशैं अलि सुनसान लाग्छ । गाउँमा जाँदा म अत्यन्तै रमाउँछु । दशैंमा टीका लगाउँदा म कान्छो भएकाले मेरो पालो सबैभन्दा पछि आउँथ्यो । त्यसमा म बेखुश थिएँ । त्यसैले प्रत्येक दशैंको टीकाका दिन म त्यो रोलक्रम भङ्ग होस् भनेर झगडा गर्थेँ ।

तर पछि दाजुहरू पढाइको सिलसिलामा तितरबितर भएपछि घरमा म एक्लै भएँ र मेरो माग आफै सेलायो । अझै पनि यो प्रसङ्ग हाम्रो परिवारमा बेलाबेला रमाइलो गर्नका लागि उठाइन्छ । म खाना खाने मामिलामा अलि कमजोर नै छु तर दशैंमा घरमा थरिथरिका परिकारहरू बनेको देख्दा मलाई खुब रमाइलो लाग्छ । दशैंमा नयाँ लुगा किन्नका लागि जुन व्यग्रता र किनिसकेपछि जुन खुसी हुन्थ्यो त्यो व्यग्रता अब उमेर र जिम्मेवारीसँगै पग्लिँदै गयो ।

मुकुन्दराज शर्मा, प्रिन्सिपल, लिटिल एन्जल्स स्कुल, ललितपुर

:849 Views

Leave a Reply