‘मन्त्री शिलान्यास गर्ने, वडाध्यक्ष भत्काउने’

हरिसुन्दर छुकां/ काभ्रे । असोज १३ गतेका दिन काभ्रेको बनेपामा रहेर साहित्य साधनासँगै नियमित रुपमा साहित्यिक मासिक ‘जनमत’ प्रकाशन गरिरहेका मोहन दुवाल अन्य दिनभन्दा अलि बढी प्रसन्न थिए । कारण, त्यो दिन नेपालकै पहिलो वाङमय पुस्तकालयको लागि भवनको शिलान्यास रहेको थियो ।

नेपाली लेखकहरुको बारेमा जान्न चाहने, बुझ्न चाहने, खोज, अध्ययन र अनुसन्धान गर्न चाहने जो कोहीलाई पनि खोजेका कुराहरु सहजै उपलब्ध गराउनका लागि, साहित्यको श्रीवृद्धिमा टेवा पुर्याउनका लागि विगत दुई वर्षअघि काभ्रेको पहिलो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसको एक भवनमा ‘जनमत वाङमय पुस्तकालय’ सुरु गरेका उनी सो दिन शिलान्यास हुने भवनसँगै पुस्तकालयबारे सोच्दै रमाएका पनि थिए, हौसिएका पनि थिए ।

वर्षौंदेखि आफूले देख्दै आएको सपना साकार बन्ने भवन बनाउनका लागि स्थानीय राजभाइ प्रधानको पूर्ण रुपमा आर्थिक सहयोग र काभ्रे क्याम्पसले स्थान दिने भएपछि साहित्यकार दुवालमात्र खुसी भएका थिएनन्, क्याम्पस सञ्चालक समितिका अध्यक्ष लम्बोदरप्रसाद कायस्थ र क्याम्पस प्रमुख केजी बैदार पनि खुसी भएका थिए ।

पुस्तकालय बन्ने भएपछि समाजका प्रवुद्ध वर्ग पनि हौसिएका थिए । त्यसरी हौसिएकै कारण सो दिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सो भवनको शिलान्यास गरे । सबैले उत्साहमा थपडी बजाए ।

भवनको जग शिलान्यासँगै काम रफ्तारमा अघि बढ्यो, जग खनियो, पिलर उठाउनका लागि हात्तीपाइले पनि गरियो, त्यही हात्ती पाइलेमाथि बीमका लागि रडहरु उठाइयो ।

हात्तीपाइलेसँगै रडहरु आएपछि उत्साहित साहित्यकार दुवाल, अध्यक्ष कायस्थ, क्याम्पस प्रमुख बैदारलगायतमा अझ खुसीको सञ्चार भयो ।
त्यसरी रमाएका उनीहरुको खुसी भने १५ दिनै टिकेन । मन्त्रीबाट शिलान्यास गरिएको भवन बनाउनका लागि उठाएइका पिलरहरु २७ गते राती डोजरले भताभुंग पारे । कुनै लडाए, कुनै बाँगोटिंगो भए ।

‘पुस्तकालय बनाउन भनी हामीले काम थालेका थियौं, तर केही समूहले डोजर लगाइदिएर सबै भताभुंग बनाइदिए ।’ सोही विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै साहित्यकार दुवालले भने । उनले राणाकालमा पुस्तकालय खोल्नुलाई अपराध मानिएजस्तै अहिलेको गणतन्त्रात्मक मुलुकमा र समयमा समेत पुस्तकालय खोल्नुलाई अपराध सम्झने ‘अपराधी तत्वहरु’ले निन्दनीय काम गरेको बताए ।

काभ्रेको बनेपा नगरपालिका वडा नंं ६ बुडोलमा रहेको सो क्याम्पसको दक्षिण पश्चिम मोहडामा बन्न लागेको सो भवनमा पुस्तकालय विरोधी तत्वहरुको आँखा लागेको क्याम्पसले जनाएको छ । क्याम्पसले सो पुस्तकालय भवनको जग र पिलरसमेत बनेपा नपा वडा नं. ६ बस्ने सचितानन्द केसी, जनक तिमल्सिना र दिपकप्रसाद दाहाल, गोविन्द दाहाल लगायतका व्यक्तिहरुको पहलमा आफ्नो निजी स्वार्थ पूरा गर्न बा २ क ५६६६ नं.को डोजर लगाएको जनाएको छ ।

क्यापसले ती व्यक्तिहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय बनेपा उजुरी पनि गरिसकेका छन् । उनीहरुले सोही वडाका वडाध्यक्ष सचितानन्द केसीको नेतृत्वमा क्याम्पस हातामा बन्न लागेको पुस्तकालय भवनमा क्षति पुर्याएको जनाएका छन् ।

क्याम्पसले ओगटेको सो ठाउँमा भवन बनाएर आवतजावत गर्ने बाटो बन्द गर्न लागेको भन्दै स्थानीयहरुले वडा कार्यालयमा निवेदन दिएपछि वडा कार्यालयले डोजर लगाएको वडा कार्यालयले जनाएको छ ।

क्याम्पस प्रमुख केजी बैदारले क्याम्पसले १६ वर्ष अघि लगाएको पर्खालभित्र पुस्तकालय भवन बनाउने काम अघि बढाउँँदा पनि वडा कार्यालयले विनाजानकारी शिलान्यास गरिएको निर्माणको चरणमा रहेको भवनमा क्षति पुर्याएको बताए ।

एउटै पार्टीका कोही शिलान्यास गर्ने कोही भत्काउने काम भएको छ, वडाध्यक्षको सो कामले सरस्वतीको मन्दिर कहलिएको शिक्षालयमा आक्रमण हुनु राम्रो नभएको स्थानीय रामहरि तिमल्सिना बताउँछन् । उनले स्थानीयलाई बाटोमात्र नभएर शिक्षालय पनि चाहिने भएकाले दुबैले समन्वय गर्नु जरुरी रहेको जनाए ।

‘यो कामले केन्द्र सरकार र स्थानीय सरकारबीच समन्वय नभएको देखिएको छ, आफ्नै पार्टीका मन्त्रीले शिलान्यास गर्ने अनि त्यही पार्टीका वडाध्यक्षले भत्काउने काम गतिलो हैन ।’ उनको भनाइ छ ।

क्याम्पस प्रमुख बैदारले वडा कार्यालयले विना जानकारी बनाउन लागेको संरचना भत्काउने काम गरेकोमा दुःख व्यक्त गर्दै नक्सा पासको प्रक्रियामा रहेको भवनको जगै बिगार्ने काम भएको बताए भने वडाध्यक्ष केसीले नक्सा पास नगरी, सडकको मापदण्ड उलंघन हुने गरी भवन बनाएको विषयमा स्थानीयबाट गुनासो आएपछि डोजर लगाएको बताए । ‘मैले बारम्बार क्याम्पस प्रशासनलाई स्थानीयको गुनासो आइरहेको छ, नक्सा पास पनि छैन, काम रोक्नुस् भनेर अनुरोध गरेका थियौं, तर उहाँहरुले मान्नुभएन, रातारात काम गर्नुभयो, वडाको निर्देशन पटकपटक उलंघन भएपछि यो कदम चालिएको हो ।’ उनले भने ।

:1326 Views

Leave a Reply