साढे ११ हजार शिक्षकलाई कारबाहीको तयारी

काठमाडौं । सरकारले साढे ११ हजार शिक्षकलाई कारबाही गर्ने तयारी गरेको छ । सम्पत्ती विवरण लुकाएका शिक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत् कारबाही गर्ने तयारी गरिएको हो । सामुदायिक विद्यालयमा कार्यरत कार्यरत ११ हजार ४ सय ९४ स्थायी शिक्षकले सम्पत्ती विवरण नबुझाइकन लुकाएपछि तिनीहरु कारबाहीमा पर्ने भएका हुन् । विद्यालय शिक्षक किताबखानाका अनुसार ७५ हजार शिक्षकमध्ये साढे ११ हजारले सम्पत्ति विवरण बुझाएका छैनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा जारी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण सरकारले तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्छ ।

तर, आर्थिक वर्ष सुरु भएको १ सय २० दिन पुग्दा पनि उनीहरूले विवरण नबुझाएका हुन् । ऐनबमोजिम तोकिएको र पुनः थप गरेको म्यादभित्र पनि सम्पत्तिको विवरण पेस नगर्ने सार्वजनिक पद धारण गरेका व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिबाना गरी निज र निजको परिवारको नाममा गैरकानुनी सम्पत्ति रहेको अनुमान गरी सम्बन्धित निकाय वा अधिकारीले अनुसन्धान गर्न सक्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार शिक्षकहरु पनि कारबाहीमा पर्ने अख्तियारले जनाएको छ ।

प्रत्येक आर्थिक वर्षमा आफ्नो सम्पत्ति विवरण बुझाउनका लागि सरकारी सेवामा कार्यरत राष्ट्रसेवकलाई दुई महिनाको समय दिइए पनि विवरण नबुझाउने शिक्षकको संख्या करिब १४ प्रतिशतको रहेको किताबखानाले जनाएको छ । किताबखानाका उपनिर्देशक रवीन्द्र बुढाप्रिथीले शिक्षक स्वयंले सम्पत्ति विवरणमा गलत नामवाली भर्ने गरेको समेत बताए ।

‘सम्पत्ति विवरण बुझाउँदा शिक्षक आफैँ उपस्थित हुनु अनिवार्य छैन । किताबखानाले तोकेको ढाँचामा नाम, थर, पद र संकेत नम्बर राखेर हुुलाकमार्फत पठाइदिँदा हुन्छ । तर, कतिपय शिक्षकले किताबखानाको नम्बरमा सञ्चयकोषको नम्बर राखेर पठाउने गर्छन् ।’ बुढाप्रिथीले भने, ‘त्यस्ता शिक्षक पनि सम्पत्ति विवरण नबुझाउनेको संख्यामा पर्छन् । उनीहरू कारबाहीको दायरमा आउँछन् ।’

शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले विवरण नबुझाउने शिक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्ने बताए । किताबखानामा कार्यरत कर्मचारी गणेश श्रेष्ठका अनुसार आर्थिक वर्ष ०७४/७५ मा ६७ हजार ४ सय शिक्षकले सम्पत्ति विवरण बुझाएका छन् ।

किताबखानाका अनुसार आर्थिक वर्ष ०७२/७३ मा कार्यरत ७२ हजार ५ सय ७ शिक्षकले सम्पत्ति विवरण बुझाएका थिए भने १० हजार २ सय १५ शिक्षकले सम्पत्ति विवरण बुझाएका थिएनन् । सो आर्थिक वर्षमा १२ दशमलव ३५ प्रतिशत शिक्षकले सम्पत्ति विवरण बुझाएनन् ।

आर्थिक वर्ष ०७३/७४ मा मुलुकभर कार्यरत ८२ हजार ७ सय २२ शिक्षकमध्ये १४ दशमलव २० प्रतिशतले सम्पत्ति विवरण पेस गरेका थिएनन् ।

:4414 Views

One thought on "साढे ११ हजार शिक्षकलाई कारबाहीको तयारी"

  1. Teeka Bhattarai says:

    गैर कानूनी कुरा कसैले गर्नु त भएन तर मेराे विचारमा त उनीहरु सम्पत्ति कमाएकाेमा भन्दा तलब लिएर पनि परिणाम नदिएकाेमा दण्डित हुनु पर्ने हाे । के अख्तियारकाे पहुँच यहाँ सम्म हुन्छ? उनले विवरण देलान् कुरा सकिएला । यथार्थमा याे अख्तियारकाे काम देखाउने हात्ति अायाे हात्ति अायाे फुस्सा जस्ताे कारवाही मात्र हुने छ ।

Leave a Reply