प्रावि दरबन्दीलाई माविमा रुपान्तरण गर्ने : शिक्षामन्त्री

New Picture

– हरिसुन्दर छुकां/ काठमाडौं १३ असार । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राथमिक तहको शिक्षक दरबन्दीलाई माध्यमिक तहमा रुपान्तरण गरिने बताएका छन् ।

उनले उक्त कामको लागि गृहकार्य समेत भइरहेको बताए । ‘प्राथमिक तहमा विद्यार्थी संख्याको आधारमा शिक्षकहरु बढी भएका दरबन्दीलाई माध्यमिक तहमा रुपान्तरण गर्ने गृहकार्य पनि भइरहेको व्यवहोरा सम्मानित सदनलाई अवगत गराउन चाहन्छु ।’ बुधबार प्रतिनीधिसभामा विनियोजन विधेयकको खर्च कटौतीबारेमा विभिन्न दलका सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै शिक्षामन्त्री पोखरेलले भने ।

संसदमै शिक्षक दरबन्दीका विषयमा कुरा उठेपछि उनले शिक्षक दरबन्दी मिलानको काम पनि अघि बढेको जानकारी दिए । उनले शिक्षक दरबन्दी व्यवस्थापनमा विषयगत रुपले अपुग भएका विद्यालयहरुको निम्ति शिक्षण अनुदानको रकमको व्यवस्था गरिएको बताउँदै र शिक्षक दरबन्दी तथा शिक्षक अनुदान प्रापत नगरेका सामुदायिक विद्यालयहरुलाई अङ्ग्रेजी, विज्ञान र गणित विषय पढाउने शिक्षक व्यवस्थापन गर्न एकमुष्ट अनुदान पाउने गरी एक अर्ब १० करोड रुपियाँ व्यवस्था गरिएको पनि बताए । उनले भने, ‘दरबन्दी मिलान गर्ने प्रयोजनका लागि मन्त्रीपरिषद्ले ८ सदस्यीय दरबन्दी मिलान कार्यदल गठन गरिसकेको कुरा जानकारी गराउँदछु ।’

शिक्षामन्त्री पोखरेलले आर्थिक वर्ष २०७५÷७६ का लागि शिक्षामा विनियोजन भएको रकमबाट आफू बेखुसी रहेको संकेत गर्दै शिक्षामा छुटिएको बजेटले संघीयता कार्यान्वयनमा समस्या आउने पनि बताए । ‘विनियोजित रकम अनिवार्य, निःशुल्क शिक्षा तथा अन्य शैक्षिक विकासका मुद्धा सम्बोधन गर्न र संघीयता कार्यान्वयन हिसाबले पर्याप्त नभएको मलाई पनि महशुस भएको छ ।’

:493 Views

Leave a Reply