स्वस्थ नागरिक उत्पादनका लागि विद्यालयमा नर्स

काठमाडौं। विद्यार्थीले आफ्नो स्वास्थ्य प्रति ख्याल राख्ने बानी बसालेमा मात्र स्वस्थ नागरिक उत्पादन हुन्छ, भन्दै प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले २० सरकारी विद्यालयमा नर्सिङ सेवा सुरु गर्न लागेको छ।

मन्त्रालयले स्वास्थ्य उपचारको पहुँच कम, विद्यार्थी संख्या धेरै भएका विद्यालय छनौट गरिएको मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले बताए।

प्रत्येक विद्यालयमा एक जना नर्सको व्यवस्था गर्न लागिएको छ। मन्त्रालयले २० वटा विद्यालयमा नर्स छनोटका लागि सूचना प्रकाशित गरी काम अघि बढाई सकेको छ।

पहिलो पटक प्रदान गर्न लागिएको नर्स सेवा प्रदेश सरकार, स्थानीय तह र विद्यालयको सहयोगमा हुन लागेको हो। विद्यालयमा नमूना परीक्षणका लागि करिब १ करोड बजेट विनियोजन गरेको मन्त्रालयका सूचना अधिकारी कृष्ण थापाले जानकारी दिए।

‘नर्सले विद्यार्थीको स्वास्थ्यबारे दैनिक जानकारी लिने, विद्यार्थीमार्फत समूदायमा स्वास्थ्य सचेतनाको जगाउने, स्वच्छ वातावरण निर्माणका लागि विद्यार्थीलाई उत्प्रेरित गर्नेछन्’ थापा भन्छन्, ‘यसले गर्दा विद्यार्थी स्वास्थ्य भएर आफ्नो पढाईमा ध्यान केन्द्रित गर्न सक्छन्।’

प्रत्येक सामुदायिक विद्यालयमा यो कार्यक्रम पुर्याउने प्रदेश तीनको लक्ष्य छ।

:772 Views

Leave a Reply