शिक्षकका समस्या ज्युँका त्युँ : महासंघ चाहिँ दलकै चंगुलमा

काभ्रे । विभिन्न जिल्लाबाट काभ्रेमा भेला भएका शिक्षकहरुले नेपाल शिक्षक महासंघ दलकै चंगुलमा रहेको बताएका छन् ।

महासंघले शिक्षकका मुद्दालाई नछोइ पार्टीगत विषयलाई मात्र प्राथमिकता दिँदा शिक्षकका वास्तविक समस्या अझै पनि ज्यूँका त्युँ रहेकोे निश्कर्षका साथ नेपाल क्रान्तिकारी शिक्षक संघको तेस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

नेपाल मजदुर किसान पार्टीको पेशागत संगठन नेपाल क्रान्तिकारी शिक्षक संघको सो सम्मेलनमा सहभागी १५ जिल्लाका शिक्षकहरुले महासंघले आफूहरुलाई परेको समस्या समाधानको पहल नगरेको बताएका हुन् । काभ्रेको मण्डन देउपुरको नगरकोटमा भेला भएका उनीहरुले महासंघले पेशागत हकहितलाई भन्दा पनि दलगत स्वार्थ बलियो हुने गतिविधि गरिरहेको आरोप लगाए ।

शिक्षा मन्त्रालय र शिक्षा मन्त्रीलाई अफ्ठ्यारो नपर्ने विषयलाई नै आफ्नो मुद्धा बनाएर अघि बढिरहँदा वर्षौंदेखि बाँकी शिक्षकका समस्या समाधान उन्मुख नभएकोमा उनीहरु एक भए ।  ‘महासंघ विदेशी सहयोगीहरुको पछि मात्र लागेको छ, महासंघ जस्तो संघले सरकारको पक्षमा मात्र काम गरेको र पेशागत हक हितको नाममा टे«ड युनियनको वकालत गरिरहेको छ’ भेलामा सहभागी भएका शिक्षक प्रितमबहादुर तामाङले भने, ‘सोही कारण पनि हामी महासंघबाट अलग छौं र हामी शिक्षकका साझा समस्याबारेमा सचेत छौं ।’

‘शिक्षकका लागि भनेर कक्षा छोडेर हिँडेका छन्, नपढाए नि सरकारी सरकारी सेवा लिएका छन्, शिक्षकको नाममा आफ्नो स्वार्थ पूरा गरेका छन्,’ शिक्षक संघका अध्यक्ष ज्ञानसागर प्रजापतिले भने, ‘विचारले चलाउनुपर्ने महासंघ भीडको चंगुलमा परेका छन् ।’ उनले क्रान्तिकारी शिक्षक संघकै कारण स्थायी शिक्षकले सञ्चयकोषको सुविधा पाएको, स्थायी शिक्षकलाई स्थायी लाइसेन्स दिलाउन सफल भएको बताउँदै शिक्षकलाई राजनीतिबाट मुक्त गर्ने पक्षमा आफूहरु नरहेको बताए ।

सो सम्मेलनलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित), सांसद प्रेम सुवाल, प्रदेश नं. ३ का सांसदद्वय सुरेन्द्रराज गोसाइँ र सिर्जना सैंजू, नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्य, नेमकिपा भक्तपुर नगरका अध्यक्ष नारायणबहादुर दुवाल, नेमकिपा मण्डन देउपुर नगरपालिकाका कृष्णबहादुर तामाङलगायतले सम्बोधन गरेका थिए ।

सम्बोधनको क्रममा अध्यक्ष बिजुक्छेंले भने, ‘जुन देशका शिक्षक क्रान्तिकारी हुन्नन्, त्यो देशमा साँचो अर्थमा क्रान्ति सम्भव छैन ।’
अध्यक्ष बिजुक्छेंले देशमा बढिरहेको विकृति र विसंगतिको जिम्मा सरकारले नलिए पनि शिक्षकले भने त्यसको जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए । उनले नयाँ पुस्तालाई जागरुक र जिम्मेवार बनाएर विकृति, विसंगति न्यूनीकरणका लागि पहल गर्नु जरुरी रहेको औंल्याए ।

विद्यार्थीलाई पढाउनुपूर्व शिक्षकले अध्ययन गरी विद्यार्थीलाई देशको समसामयिक विषयमा अवगत गराउनुपर्नेमा पनि उनको जोड थियो । उनले विद्यालयलाई क्रान्तिको बारुदखानाको संज्ञा दिँदै विद्यालयको उक्त मर्मअनुसार शिक्षकले शिक्षण गर्नुपर्ने पनि चर्चा गरे ।‘विद्यार्थीहरुलाई हामीले कितावका सैद्धान्तिक रुपमा तयार गरेर मात्र पुग्दैन, उनीहरुलाई कोर्षबाट बाहिर ल्याउने उपाय शिक्षकले अवलम्बन गर्नुपर्छ’ अध्यक्ष बिजुक्छेंले भने, ‘त्यसका लागि शिक्षकले कोर्स सकिएपछि पनि हरेक दिन नयाँ विषय र सन्दर्भबारे कक्षा सञ्चालन गर्नुपर्छ ।’

सांसद सुवालले समाजवादी व्यवस्थाका लागि विद्यार्थीलाई तयार गर्ने काममा शिक्षकले नै अगुवाइ गर्नुपर्ने पनि बताए ।

:727 Views

One thought on "शिक्षकका समस्या ज्युँका त्युँ : महासंघ चाहिँ दलकै चंगुलमा"

  1. ज्ञानसागर says:

    धन्यवाद

Leave a Reply