दीपावलीको दीप

दीपावली शब्दको उत्पत्ति संस्कृतको ‘दीप’ र ‘आवली शब्दको संयोजनबाट बनेको हो। जसको नेपालीमा दीपको अर्थ प्रकाश र आवलीको अर्थ श्रृङ्खला भन्ने दिन्छ। घरघरमा प्रकाशको अभिछिन्न श्रृङ्खलाको संयोजनमार्फत् भिलीमिली बनाउने पर्व नै हो दीपावली। दीपावलीको भिन्नभिन्न भाषामा भिन्नभिन्न शब्दमार्फत् पुकार गरिन्छ । तर सबैको अर्थ संस्कृतको यही दुई मूल शब्दबाट बनेको अर्थले नै बोकेको हुन्छ ।

दीपावलीको इतिहास
हिन्दू क्यालेण्डर अनुसार कात्तिक कृष्ण औशीका दिन मनाईने पर्व हो दीपावली। दीपावलीको विषयलाई पद्म पुराण तथा स्कन्ध पुराणले महत्वका साथ उल्लेख गरेको छ। स्कन्ध पुराणको पहिलो परिच्छेदको दोस्रो भागमा यसको वर्णन गरिएको छ। स्कन्ध पुराणले दीपकलाई सूर्यको एक हिस्साको रूपमा वर्णन गरेको छ। मानव जीवनसँगै अन्य प्राणीहरूको लागि पनि उर्जाको लौकिक स्रोतको रूपमा रहेको सूर्य हिन्दू क्यालेण्डर अनुसार कात्तिक महिनामा आफ्नो स्थिती वा स्थान बदल्ने गर्दछन्। यही स्थान बदल्ने समयमा दीपावली पर्व मनाईने गरेको छ। यसरी तिहारबाट मौसममा समेत परिवर्तन हुने हिन्दू संस्कृतिको विश्वास रहेको छ।

आध्यात्मिक महत्व
आध्यात्मिक रूपमा पनि दीपावलीको महत्व छुट्टै रहेको छ। दीपावली पर्व विभिन्न ऐतिहासिक घटना, कहानी तथा मिथकहरूको सम्झनामा मनाउने गरिएको छ। यो विशेषगरी हिन्दू, जैन तथा शिख धर्मालम्बीहरूको पर्व हो।

हिन्दू धर्म संस्कृतिले योग, बेदान्त तथा समाख्या सबै ग्रन्थमा यो कुरा स्वीकार गरेको छ कि भौतिक शरीर वा मन भन्दा पर पनि कुनै कुरा छ जो शुद्ध अनन्त तथा शाश्वत रहेको छ। जसलाई आत्मा भनिन्छ । हिन्दू धर्मालम्बीहरूमा यो विश्वास रहेको छ कि दीपावलीमा एक भक्त र एक चित्त भई आराधना गर्ने मान्छेले अन्धकारलाई आन्तरिक प्रकाशले, अज्ञानतालाई ज्ञानले र असत्यलाई सत्य मार्फत् विजय हाँसिल गर्न सकिन्छ।

सामाजिक महत्व
दीपावली विशेषगरी नेपाल र भारतको लागि एउटा महान पर्व हो। भारतवर्षमा महत्वपूर्ण पर्वको रूपमा रहेको दीपावली पर्व नेपाल र भारतीय मूलका हिन्दूधर्मालम्बीहरूले नेपाल र भारत बाहेक पनि विश्वका विभिन्न मुलुकहरूमा समेत धुमधामका साथ मनाउने गरेका छन्।

यस पर्वमा विशेषगरी हिन्दूधर्मालम्बीहरूले आफ्नो घरलाई सफासुग्घर पारी उत्सव मनाउने गर्दछन्। यस पर्व बजारको लागि पनि धेरै महत्वपूर्ण रहेको छ । यस पर्व नेपालीहरूको दोस्रो महान् पर्व रहेकोले पनि किनमेलको हिसावले यो हिन्दूधर्मालम्बीहरुले सबैभन्दा बढी किनमेल गर्ने पर्व पनि हो। दशैंको लागि मासु लगायतका सामान्य मुल्य पर्ने सामग्रीहरू खरीद गरिएपनि तिहारमा विशेषगरी सुन चाँदी जस्ता महंगा सामग्रीहरू बढी खरीद हुनेगरेको छ। साथीभाइसँगको भेटघाट, देउसी भैलोको रमझम र मिठाई लगायतका शाकाहारी परिकारको लागि तिहार विशेष महत्वको पर्वको रुपमा रहेको छ।

हिन्दू धर्ममा दीपावली
सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ। यसरी रहँदा(बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ ।

तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्का्तिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ।

अन्यधर्ममा भन्दा हिन्दू धर्ममा दीपावली मान्ने प्रचलन अलिक भिन्न रहेको छ। प्राचीन हिन्दू ग्रन्थ रामायणमा बताईएको छ कि कोही मानिसहरू १४ वर्षको बनबास पछि राम, उनकी पत्नी सीता र उनका भाई लक्ष्मण घर फिर्ता भएको खुशियालीमा दीपावली मनाउन थालिएको बताउने गरेका छन् । अर्को प्राचीन हिन्दू ग्रन्थ महाभारतका अनुसार १२ वर्षको बनबास र एक वर्षको उपबासपछि पाण्डबहरु घर फर्किको सम्झनामा दीपावली मान्न थालिएको हो ।

तिहारमा घर–आँगनलाई उज्यालोले सरोबर गरिन्छ । आफ्नो घरलाई सुन्दर र झिलिमिली बनाउन माटोको परम्परागत दियोदेखि लिएर फंकी ल्याम्पको माध्यमजस्ता कैयन् सामग्रीको सहयोग लिन सकिन्छ । हिजोआज बजारमा डिजाइनर दियोको चलन बढ्दो छ । यसले घरलाई उज्यालो त बनाउँछ नै, साथै त्यसको कलात्मक डिजाइन अत्यन्त सुन्दर देखिने भएकाले त्यसले सजावटको कार्य पनि गर्छ ।

:302 Views

Leave a Reply