विद्यार्थी शून्य विद्यालयको हालः प्रअ, काठमाडौंमा, शिक्षक छोरी भेट्न घरमा

-हरिसुन्दर छुकां/भक्तपुर । भक्तपुर नगरपालिकाको वडा नं. ६ याछेंमा छ, याछें पाटी । त्यही पाटीमा बोर्ड राखिएको छ, श्री आधारभूत विद्यालय । पाटीमा रहेको ढोकाबाटै देखिन्छ, दुई विद्यार्थी (एक छात्र, एक छात्र) । उनीहरु दायाँबायाँ बसेर हात जोडेर उभिरहेका छन्, तर वास्तवमा नभएर चित्रमा ।

विद्यालयमा आउने जो कोहीलाई स्वागतका लागि भित्तामा बनाइएका दुई चित्रका विद्यार्थी बाहेक त्यो स्कुलमा अहिले एकजना पनि पढ्न आउँदैनन् तर शिक्षकहरु तीन जना(क्रमशः निमित्त प्रअ विष्णुकेशरी दुवाल, विनिता कायस्थ र रेश्मा ढुकुछु) र एक कार्यालय सहयोगी(गंगा रञ्जितकार) आउँछन् ।

समाचार संकलनको क्रममा शुक्रबार सो विद्यालयमा छिर्दा त्यहाँ कार्यालय सहयोगी गंगा मात्र थिइन् । याछेंपाटीबाट भित्र छिर्ने बितिक्कै एक व्यक्ति हतारिँदै पछिपछि लागे । पछिपछि लागेका सो व्यक्ति स्थानीय तुल्सीप्रसाद खाताखो रहेछन् । यतिमात्र नभएर उनी सोही विद्यालयको व्यवस्थापन समितिका पूर्व अध्यक्ष पनि रहेछन् ।

‘हामीले नगरपालिकामा विद्यार्थी छैनन् नै भनेर रिपार्ट गरेका छौं, यहाँ इँटा पार्ने मजदुरका सन्तान, चटपट बेच्ने, गाडामा तरकारी बेच्नेका सन्तान पढ्न आउँथे, तिनीहरु यताउति गएपछि अहिले एक जना पनि विद्यार्थी छैनन्, तर अहिले भने नगरपालिकाले नयाँ सिस्टमले चलाउने कुरा गरेको छ ।’ पूर्वअध्यक्ष खाताखाले भने । उनले नयाँ सिस्टमले चलाउनका लागि वडासदस्य रोशनमैंया सुवालको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको पनि बताए ।

सो क्रममा एक जना पनि शिक्षक नभएपछि सहयोगी गंगाले भनिन्, ‘हेडमिस र एकजना अर्को मिस चैं बच्चालाई खेलौना किन्न भनी काठमाडौं जानुभएको छ, अर्को मिस घरमा छोरी आएकी छन् भेटेर आउँछु भनी जानुभएको छ ।’

सहयोगी गंगाका अनुसार सो विद्यालयमा गत असार सम्ममा १२ जना विद्यार्थी थिए तर साउन लागेपछि भने एक जना पनि विद्यार्थी आएनन् । त्यसयता अरु कोही पनि विद्यार्थी नआएको उनको भनाइ छ ।

सोही विद्यालयमा कक्षा ५ सम्म पढेकी गंगाले आफू पढेको समय २०५६ सालतिर एउटै कक्षामा २२ जनासम्म हुने बताउँदै त्यो बेला सबै विद्यार्थी स्थानीय भएको जानकारी दिइन् । तर अहिले त स्थानीयका एकजना विद्यार्थी पनि पढ्दैनन् । नजिकैको बोर्डिङ पढ्न जान्छन् ।

सो विद्यालय नजिकै द राइजिङ स्कुल, स्कलर होम, क्रियटिव इंग्लिश स्कुल छन् । ती विद्यालयमा टनाटन विद्यार्थी हुँदा वि.सं. २०३० सालमा स्थापना भएको विद्यालयमा भने विद्यार्थी संख्या शून्य भएको छ ।

विद्यार्थी शून्य भएपछि भक्तपुर नगरपालिकाको नगर शिक्षा शाखाले सो विद्यालयमा रहेका शिक्षकलाई अन्य विद्यालयमा काज सरुवा गरेको शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले बताए ।उनले विद्यालयले समुदायको विश्वास जित्न नसक्दा गुचमुच्च बस्तीबीचमा रहेको विद्यालय अहिले विद्यार्थी शून्य अवस्थामा पुगेको बताउँदै नगरपालिकाले नयाँ नीतिका साथ विद्यार्थी कम भएका विद्यालयलाई शसक्त बनाउने उपाय खोजिरहेको बताए ।

सोही विद्यालयका पूर्व विव्यस अध्यक्ष खाताखाले भने स्थानीयवासीकै सन्तान पढ्न पढाउने विद्यालयका रुपमा फर्काउनका लागि मापदण्ड मिचेर खोलेका संस्थागत विद्यालयलाई निमयन गर्नुपर्ने पनि बताए ।

:880 Views

Leave a Reply