बढ्दो शैक्षिक विकृतिप्रति शिक्षामन्त्री चिन्तित, समाधानका लागि कर्मचारीसँग हारगुहार

काठमाडौं । शिक्षाको महत्वपूर्ण बागडोर सम्हालिरहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा बढिरहेको विकृतिबाट आफू चिन्तित रहेको बताएका छन् ।विद्यालयदेखि विश्वविद्यालय सम्ममा बढ्दो अराजकता र विकृतीहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसको समाधानका लागि आयोग तथा विश्वविद्यालयका पदाधिकारीहरुले समयमै ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

विश्वविद्यालय अनुदान अयोगको २५ औं बार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा भक्तपुरमा भएको एक कार्यmममा उनले विश्वविद्यालय अनुदान आयोगको तत्काल पूर्नगठन गर्नुपर्ने बताएका छन् ।

परम्परागत शिक्षा प्रणालीले अब काम नगर्ने बताउदैं ज्ञान र सीपमा आधारित उच्च शिक्षा आजको आवश्यता भएकोमा उनको जोड थियो । उनले २५ बर्षको यात्रामा रहेको आयोगले प्राप्त गरेका उपलब्धीहरुको गम्भीर समीक्षा गर्नुपर्ने र भविष्यको योजना अगाडि ल्याउनुपर्ने पनि सुझाए ।

मुलुकको उच्च शिक्षाका उद्देश्य प्राप्तिका लागि विश्वविद्यालयहरूको सञ्चालन तथा विकासका क्रममा विभिन्न स्रोतबाट प्राप्त अनुदानको रकम समुचित तवरबाट वितरण गर्ने, विश्वविद्यालयहरूको शैक्षिकस्तर निर्धारण गर्ने, गुणस्तरयुक्त शिक्षा प्रदान गर्न प्रोत्साहन दिने तथा नेपाल सरकारलाई नयाँ विश्वविद्यालय स्थापनाका सम्बन्धमा उचित परामर्श दिने प्रमुख उद्देश्यका साथ २०५० मंसिर ७ गते विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० संसद्द्वारा पारित भई २०५१ देखि आयोगको कार्य प्रारम्भ भएको थियो ।

कार्यक्रममा आयोगका अध्यक्ष प्रा.डा. भिमप्रसाद सुवेदीले नयाँ संविधान तथा राज्य पुनर्सरंचना अनुसार संघीय संरचनामा विश्वविद्यालय तथा उच्च शिक्षा संस्थाहरुको स्थापना कार्य क्षेत्र लगानीको बारेमा विशेष छलफल गरी आयोगले स्पष्ट रुपरेखा तयार पार्ने बताए । उनले आयोगको भूमिका, कार्यक्षेत्र परिभाषित गर्र्दै अनुदान दिने संस्थाको आम पहिचानबाट उच्च शिक्षामा गुणस्तरीयता सहितको पहुँच विस्तार गरी समय सापेक्ष जीवनोपयोगी शिक्षा प्रर्वद्धन गर्ने महत्वपूर्ण निकायको रुपमा आयोगलाई विस्तार गर्ने योजना सुनाए ।

कार्यक्रममा आयोगका सदस्य सचिव प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षाको बर्तमान अवस्था, चुनौती, समाधानका उपाय तथा भावी कार्ययोजना समेटिएको प्रतिवेदन पेश गरेका थिए । उनले उच्च शिक्षाले रोजगारी तथा सीपलाई प्रमुख आधार बनाई बेरोजगार उत्पादन गर्ने आरोपलाई अन्त्य गर्नका लागि आयोगले विशेष भूमिका खेल्नुपर्ने बताए ।

:786 Views

Leave a Reply