यत्ति गरे त शिक्षाको स्तर माथि आइहाल्छ :पूर्व शिक्षामन्त्री

dr paudel

आफ्नो गाउँका सार्वजनिक विद्यालयको स्तरोन्नती, विषयगत शिक्षकको व्यवस्था, विद्यार्थी भर्ना र सिकाइ उपलब्धी सुधार्नको लागि लागिपरेका एक जना साथीले हिजो एक बैवाहिक समारोहमा भेट हुँदा टिप्पणी गर्नुभयो, ‘विद्यार्थी संगठनहरुले आजसम्म सार्वजनिक विद्यालयको स्तरोन्नती गर्नुपर्यो, विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गर्नु पर्यो, विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी बढाउनु पर्यो, भर्ना भएका बालबालिकाहरुलाई विद्यालयमा टिकाउने, सिकाउने र योग्य बनाउने गरी सरकारले विशेष कार्यक्रम ल्याउनु पर्यो भनेर वक्तव्यसम्म जारी गरेको थाहा पाइएको छैन । सरकार र शिक्षा मन्त्रालयको ध्यानाकर्षण गरेको, एउटा पनि कोणसभा गरेको, दबाब, घेराउ, तालाबन्दी, हड्ताल गरेको इतिहास छैन ।

तर हरेक शैक्षिक सत्रको शुरुवातमा निजी विद्यालयको शुल्क नियन्त्रण गर्नु पर्यो, घटाउनु पर्यो, बढी लिएको पैसा फिर्ता गर्नु पर्यो भनेर संयुक्त बैठक गर्ने, वक्तव्यबाजी, दबाब, घेराउ र तालाबन्दी गरिरहेका हुन्छन् । अहिले पनि गरिरहेका छन् । यस्तो किन गर्दारहेछन् भनेर यसो ध्यान दिएको त कुरा अर्थको पो रहेछ । उनीहरु सबैका बच्चाहरु तिनै निजी विद्यालयमा पढिरहेका हुँदारहेछन् । अनि विद्यालयका संचालकहरुलाई आन्दोलनको बलमा दबाब र प्रभावमा पारेर आफ्ना बालबच्चाहरुलाई सके निशुल्क नसके सस्तोमा पढाउनको लागि यो सबै गर्दा रहेछन् ।’

सार्वजनिक विद्यालयलाई राम्रो बनाउने हो भने विद्यार्थी नेताहरु, शिक्षकहरु र राज्यको तर्फबाट तलब, भत्ता र पारिश्रमिक लिने कर्मचारी, सांसद, मन्त्रीका छोराछोरीहरुलाई सार्वजनिक विद्यालयमै भर्ना गर्नुपर्ने नीतिगत व्यवस्था गर्नुपर्ने रहेछ । सरकारले अरु धेरै गर्नैपर्दैन । यत्ति गर्ने हो भने सार्वजनिक विद्यालयको शिक्षा सुधार हुन्छ । अहिलेको शक्तिशाली बामपंथी सरकारले यत्ति गरोस्, उनको सोझो, सिधा र प्रष्ट सुझाव थियो ।

उनको भावना, विश्लेषण र सुझाव मलाई पनि ठिकै लाग्यो ।

पूर्व शिक्षामन्त्री डिआर पौडेलको फेसबुकबाट ।

:560 Views

Leave a Reply