ख्वपमा शैक्षिक प्रदर्शनी, वक्ता भन्छन्, ‘पुलिस, प्रशासनमात्र हैन, प्राध्यापक पनि बिकाऊ’

भक्तपुर । शिक्षामा सुधार नहुनुको थुप्रै कारणहरु सतहमा आइरहेका छन् । यसैबीच विश्वविद्यालयका प्राध्यापकहरु पनि बिक्दा शिक्षामा सुधार हुन नपाएको थप एक विषय पनि बाहिर आएको छ ।

भक्तपुरको ख्वप इञ्जिनियरिङ कलेजको १७ औं र ख्वप कलेज अफ इञ्जिनियरिङको १० औं बार्षिकोत्सवको अवसरमा आयोजित शैक्षिक प्रदर्शनीको उद्घाटन तथा अवलोकनको क्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सो बिषय बाहिर ल्याएका हुन् ।
‘पूँजीवादी बन्दोबस्तमा संघर्ष गर्न धेरै गाह्रो हुन्छ, प्रशासन किन्छन् , पुलिस किन्छन्, अहिले त हाम्रा प्राध्यापकहरु नै किन्ने भो । विश्वविद्यालय नै किन्ने भो तर त्यो सधैं चल्दैन । एक दिन जनताको आँखा खुल्नेछ।’

कार्यक्रममा उनले नयाँ पुस्ताले राजनीति गर्नुपर्नेमा जोड दिए । भने, ‘नयाँ पुस्ताले राजनीति गरेन भने त्यस्ता तत्वले राजनीति गर्नेछन्, जुन योभन्दा खराब स्थितिमा पुग्नेछौं, राजनीतिक नेता र कार्यकर्ताहरुको काम अपराधी छुटाउने, ठेकेदारहरुलाई सिफारिश गर्ने, परीक्षामा नक्कल गराउने नेताहरु नै हुन् । कुनै परीक्षा भइरहेको ठाउँमा कुनै कडाई गर्यो भने नेताहरुले, मन्त्रीहरुले फोन गरेर, केन्द्रका मुख्य चिफलाई अलिकति खुकुलो पारिदिनुस न भन्ने नेताहरु नै हुन् । अयोग्य भएकालाई पदमा राख्न दबाब दिने पनि नेताहरु नै हुन् । परीक्षामा असफल विद्यार्थीलाई सफल गराउने पनि नेताहरु नै हुन् ।’ पूँजीवादी बन्दोबस्तमा संघर्ष गर्न निक्कै मुश्किल हुने बताउँदै समाजका वुद्धिजिवी कहलिएका प्राध्यापकहरु बिग्रनुमा नेताहरु जिम्मेवार रहेको बताए ।

पूँजीवादी बन्दोबस्त भएका कारण पैसा कमाउनका लागि विद्यालयहरु पसलजस्तै खोलिएकोले त्यो प्रभावमा विद्यार्थी, शिक्षक पर्दै गएकोमा उनले चिन्ता जनाए ।

कार्यक्रममा सांसद प्रेम सुवालले भक्तपुरले सस्तोमा गुणस्तरीय शिक्षा दिएर देशकै सेवा गरिरहेको बताउँदै सरकार संविधानको मर्मअनुरुप चलन नसकेको बताए ।

कलेजको शैक्षिक उन्नयनमा विगत १० वर्षदेखि निरन्तर काम गर्दै आएका कर्मचारी, प्राध्यापकहरुलाई नगदसहित सम्मान गरिएको सो कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, उपमेयर रजनी जोशी, इञ्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. त्रिरत्न बज्राचार्य, इञ्जिनियर प्रेमनाथ मास्के तथा प्रदेश नं. ३ का सभासदद्वय सुरेन्द्रराज गोसाइँ, सिर्जना सैंजूलगतयले कलेज स्थापनाले शैक्षिक क्षेत्रमा पुगेको योगदानको चर्चा गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा कलेजले शैक्षिक प्रदर्शनीको पनि आयोजना गरेको छ । विद्यार्थीहरुले बनाएका विभिन्न शैक्षिक सामग्रीहरुसँगै रोबोटको समेत प्रदर्शनी गरिएको कलेजले जनाएको छ ।

कलेजका इञ्जिनियर रवीन्द्र फोँजूले प्रदर्शनीमा ६० वटा स्टल रहेको बताए । उनका अनुसार रोबोटका ७२ वटा स्टल रहेका छन् । प्रदर्शनी शुक्रबार पनि जारी रहनेछ ।

:574 Views

Leave a Reply