चर्पी नै प्रयोग नगर्ने विद्यालयले यसरी बदल्यो आफ्नो मुहार

सबिना बानियाँ/

सिन्धुपाल्चोक । अहिले ३ सय १ जना विद्यार्थी पढ्दै गरेको साँगाचोकस्थित रामदेवी माध्यमिक विद्यालयको भित्री वातावरणमात्र हैन, बाहिरी वातावरण पनि सुध्रिएको छ । त्यसरी सुध्रिएको विद्यालयको धेरै परको हैन, जम्माजम्मी ८ वर्ष अघिको विगत हेर्ने हो भने पनि त्यत्ति मज्जाको लाग्दैन । कारण, ‘६५ सालसम्म त यहाँका विद्यार्थीले चर्पी नै प्रयोग गर्दैनथे ।’ विद्यालयका प्रअ केशवलाल श्रेष्ठले सम्झिए ।

विद्यालयले नै विद्यार्थीलाई चपी प्रयोग गर्न मात्र सिकाएन बरु चर्पी बनाउने तरिका पनि सिकाए, त्यसका लागि अभियान नै छेडियो । कोहीले प्रभावमा परेर चर्पी प्रयोग गरे, कोहीले लाजले त कोहीले दबाबमै भए पनि चर्पी प्रयोग गर्न थाले । त्यो कुराको दसी हो, विद्यालय परिसर पुग्ने बित्तिक्कै देखिने सरसफाइ दृष्य ।

त्यतिमात्र हैन, पहिला कुनै शिक्षक अनुपस्थित भएका दिन कक्षा बाहिर आएर बस्ने विद्यार्थीहरु अहिले कक्षाकोठामै बसेर साथीहरुसँग मिलेर पढेर बसेको देखिन्छ । यस स्कुलमा शिक्षकका सबै बालबालिका यहि स्कुलमा पढ्छन् । नर्सरीबाट कक्षा ५ सम्म अँग्रेजी माध्यममा पढाइन्छ यहाँ ।

कक्षा ९ मा पढ्ने गौरव खड्का टिच फर नेपालले विद्यालयमा चर्पी बनाएको सम्झन्छन् । यस संस्था र यसका साथीहरुले विभिन्न कार्यक्रम गर्ने र उनीहरु विद्यार्थीसँग साथीको जस्तो व्यवहार गर्ने हुदाँ आफुलाई खुसी लागेको बताउँछन् । उनी भन्छन्, ‘टिच फर नेपालका शिक्षकहरुले पढाउदाँ समूहमा विभाजन गरी सिकाउने र व्यक्तिगत रुपमा सबलाई प्रयोगात्मक रुपमा कार्य गराउँछन् जसले गर्दा हामीले सजिलै सिक्न सक्छौं ।’

कक्षा १० की छात्रा सुष्मा खड्का टिच फर नेपालका शिक्षकले बिहान र बेलुकामात्र नभएर कहिलेकाहिँ त शनिबार पनि गाह्रो विषयको अतिरिक्त कक्षा लिदाँ आफू दंग परेको बताउँछिन् । टिच फर नेपालबाट आएका स्वयम्सेवक शिक्षकको पढाउने शैली खड्कालाई निक्कै मनपर्छ, ‘उहाँहरु हामीलाई गु्रप डिभिजन गरेर पढाउनु हुन्छ, हामी साथीहरुसँग कुरा गर्दै सिक्न पाउँछौं ।’

उनीमात्र कहाँ हो र ? उनका सहपाठीहरुलाई पनि टिच फर नेपालका शिक्षकहरुको पढाउने शैलीले मन छोएको रहेछ, त्यहीकारण शनिबार पनि स्कुल आउँ, आउँ र कहिल्यै स्कुल बिदा नहोस् भन्ने उनीहरु चिताउँछन् । खासमा विद्यार्थीको मन जित्न सक्नुको पछाडि टिच फर नेपालका स्वयम्सेवक शिक्षकको हँसिलो र उज्यालो अनुहार भने हैन, उनीहरुको व्यवहार, कक्षा लिने तरिका, विद्यार्थीसँग मायालु र मिजासिलो स्वभावले बोल्ने बोली रहेछ । त्यसलाई अझ सहयोग गरेको रहेछ, दैनिक पाठयोजनाले ।

शिक्षकसँग दैनिक पाठयोजना हुँदा शिक्षक पठनपाठनका क्रममा, सिकाइका क्रममा कहिँ पनि अल्मलिँदैनन् । पाठयोजना शिक्षकको ‘रोडम्याप हो ।’ यही रोडम्यापमा शिक्षक चल्दा विद्यार्थीलाई निक्कै सजिलो भएको छ । यसैले कहिलेकाहिँ विद्यार्थी विद्यालयमा गयल भए पनि गयल भएको अनुभव गर्दैनन्। ‘कोही विद्यार्थी अनुपस्थित भएमा उनीहरुलाई छुटेका कुराहरु बुझाउने गर्नुहुन्छ।’ विज्ञान पढाउने शिक्षक रबिन अधिकारीको बानी सम्झँदै विद्यार्थी सुष्मा भन्छिन्, ‘कुनै विद्यार्थी सैद्धान्तिक रुपमा कमजोर भएमा सैद्धान्तिक साथसाथै प्रयोगात्मकमा बढी जोड दिन लगाउनुहुन्छ, त्यसले गर्दा पास गर्न गा¥हो रहेको विद्यार्थीलाई मद्दत भएको छ ।’

विद्यालयमा २ वर्षदेखि काम गर्दै आएकी शिक्षिका निर्मला तिमल्सिना टिच फर नेपालले विद्यार्थीको सरसफाइमा योगदान पुर्याएको औल्याउँछिन् । ‘उनीहरु नयाँ शैलीले कक्षा क्रियाकलाप गराउँछन्, उनीहरुलाई चाइल्ड साइकोलोजी थाहा छ, उनीहरुको ‘लर्निङ बाई डुइङ’ प्रक्रियालाई हामीले पनि अनुशरण गरेर शिक्षाको गुणस्तरमा बृद्धि गर्दै आएका छौं ।’ उनीहरु आएपछि विद्यार्थीको व्यवहारमा परिवर्तन आई विद्यार्थीले आफ्नो काम आफै गर्न थालेको तिमल्सिना बताउँछिन् ।

टिच फर नेपालले विद्यालयमा त्यसो गरेबापत विद्यालयले मासिक रुपमा प्रति शिक्षक बराबर रु. ५ हजार दिँदै आएको प्र.अले बताए । सो रकम विद्यार्थीको परीक्षा शुल्कबाट बचाइँदै अएको छ । अहिले भने टिच फर नेपालले मासिक १७ हजारको माग गरेकामा विद्यालय परिवार दुखेसो पोख्छन् । यसैले स्कुलले स्थानीय तहसँग सो रकमका लागि गुहार मागेको छ ।

टिच फर नेपालको २/२ वर्षे योजनाप्रति प्रअ सन्तृष्ट छैनन् । भन्छन्, ‘१ वर्षभरी विद्यार्थीलाई शिक्षक चिन्न र बुझ्न समय लाग्छ र अर्को वर्ष शिक्षकलाई अब छोड्ने हो भन्ने ध्यान हुदाँ विद्यार्थीप्रतिको शिक्षकको लगावमा कमी आउँछ र विद्यार्थीलाई पनि फरक–फरक शिक्षकलाई बुझ्न कठिन हुन्छ ।’ टिच फर नेपालका शिक्षकले ४ वटा पिरीयड र अन्य विद्यालय शिक्षकले ६ वा ७ पिरीयड पढाउँदा शिक्षकबीच नदेखिने गरी वैमनस्यता बढेको उनको अनुभव छ । छात्रा सुष्मा खड्कालाई पनि सबैभन्दा नरमाइलो लाग्ने कुरा त्यही हो, ‘एउटा शिक्षकले पढाइरहेकोमा त्यो शिक्षकले छोडेर फेरि अर्को शिक्षक आउने हुदाँ अप्ठ्यारो हुन्छ ।’ उनले ६ देखी १० सम्म पढ्दा नै एक विषयमा टिच फर नेपालका ६ जना शिक्षक परिवर्तन भएका छन् ।

:562 Views

Leave a Reply