चार महिनामा पनि शिक्षा नीति तयार गर्न असफल शिक्षा आयोगको म्याद थप, राष्ट्रिय सम्मेलन गरेर सार्वजनिक गर्ने योजना

काठमाडौं । शिक्षा मन्त्रालयले संघीय संरचनाअनुसार समग्र शिक्षा नीति तय गर्न गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको म्याद थप गरेको छ । देशको संरचना तथा व्यवस्था परिवर्तन भएसँगै राज्यले अपनाउने शिक्षा नीति निर्माण गर्न गठन गरिएको आयोगले निर्धारित समयभित्र मस्यौदा तयार पार्न नसकेपछि समय थपिएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता बैकुन्ठ अर्यालले चार महिनाको समयसीमाभित्र मस्यौदा तयार गर्न सम्भव नभएकाले थप एक महिना सात दिनको थप गरिएको बताएका हुन् ।
अर्यालले भने ‘तोकिएकै समय काम सक्ने गरी योजना बनाएका थियौं । तर, मस्यौदा निर्माणको प्रक्रिया निक्कै जटिल हुने भएकाले थप समय लाग्ने भएको छ । संगै, यसबीचमा परेका चाडबाडले निक्कै असर पारेको छ । त्यसैले समय लम्ब्याउन लागिएको हो ।’ मन्त्रालयले आयोगलाई दिएको चार महिनाको समय अवधि आगामी आइतबार सकिँदै छ । त्यसैले पुष महिनाभित्र प्रतिवेदनलाई अन्तिम रुप दिने गरी काम सुरु गरिएको उनले बताए ।
प्रवक्ता अर्यालका अनुसार आयोग भित्रको सबै विषय समिति तिव्र रुपमा मस्यौदा निर्माणमा जुटेको छ । ‘सबै समितिले निर्माण गरेको प्रतिवेदन यथासक्य चाँडो संकलन गर्ने योजना बनाएका छौं । त्यसपछि प्रदेश तथा स्थानीय सरकार संग छलफल गर्ने आयोगको योजना छ ।’ अर्यालले अघि भने ‘आयोगले उक्त छलफलका लागि मंसिर १५ गते सम्मको अवधि निर्धारण गर्न प्रधानमन्त्री कार्यालयबाट स्विकृति लिइसकेको छ ।’प्रदेश सरकारबाट समय तय भएसँगै आयोगका सदस्यहरु उक्त अवधिमा सम्बन्धित प्रदेशमा गएर छलफल गर्ने छन् । त्यसपछि, प्राप्त सुझाव सहितको दोश्रो मस्यौदालाई काठमाडौंमा राष्ट्रिय सम्मेलन गरेर सार्वजनिक गर्ने योजना रहेको अर्यालले बताए ।
संघीय शिक्षा निर्माणका लागि आवश्यक सुझब संकलनको लागि गत भदौंमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २१ सदस्यीय आयोगको पुनर्गठन गरिएको थियो । उक्त आयोगका सदस्यहरुमा पूर्व शिक्षा मन्त्रीहरु धनिराम पौडेल र गंगालाल तुलाधर, शिक्षाविद् विद्यानाथ कोइराला, शुसन आचार्य, टंकनाथ शर्मा, मीनबहादुर विष्ट, विमल फुँयाल, तत्कालिन एमाले निकट शिक्षक संगठनका पूर्व अध्यक्ष बाबुराम अधिकारी, तत्कालिन जनमोर्चा निकट शिक्षक संगठनका अध्यक्ष नन्दकुमार थापा र निकट श्याम श्रेष्ठ छन् ।
यस्तै काठमाडौं विश्वविद्यालयका डीन मनिष पोखरेल, कृषि विज्ञ कृष्ण पौडेल, जनस्वास्थका क्षेत्रमा कार्यरत सुजन मरहठ्ठा, दलित आन्दोलनमा सकृय चक्रमान विक र राम स्वगारत रायलाई आयोगको सदस्य रहेका छन् ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव