विद्यालयमा पालिकाको अनुगमन, शिक्षक थुरुरुरु..

– हरिसुन्दर छुकां/भक्तपुर । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा आएपछि शिक्षामा सुधार गर्न भन्दै भक्तपुरका विभिन्न नगपालिकाहरुले आफू मातहतका सरकारी तथा संस्थागत विद्यालयमा अनुगमन थालेका छन् ।

शिक्षामा सुधारका लागि भन्दै अनुगमनमा गएका टोलीले कक्षाकोठामै पुगेर अनुगमन थालेपछि शिक्षकहरु भने तर्सेका छन् ।
साविकको शिक्षा कार्यालयबाट खटिएका विद्यालय निरीक्षक र स्रोतव्यक्तिहरुको अनुहारैसम्म नदेखेका शिक्षकहरुले आफ्नै क्षेत्रका वडाअध्यक्ष, सदस्यलगायतको टोलीलाई अनुगमनकर्ताका रुपमा देखेपछि शिक्षकहरुले के के न गर्न आए, के के सोध्ने हुन्, के के खोज्ने हुन्, के के हेर्ने हुन् ? भन्ने प्रश्न पालेर सजग भएको अनुगमनकर्ताले बताएका छन् ।

जिल्लामा रहेका चार नगरपालिकामध्ये शिक्षामा राम्रो गरिरहेको नगरपालिकाको रुपमा चिनिएको भक्तपुर नगरपालिकाले विद्यालयमा नियमित रुपमा अनुगमन गरिरहेको अनुगमन समितिले जनाएको छ ।

समितिका सदस्य एवं वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले विद्यालय सुधार, स्तरोन्नतिको लागि अनुगमन गरिरहेको र आवश्यक सल्लाह, सुझाव दिइरहेको बताए । पूर्व शिक्षक र स्रोतव्यक्ति समेत रहेका कर्माचार्यले स्थानीय तहमा आएको शिक्षाको मर्मअनुसार, शिक्षालाई राम्रो गर्नका लागि अनुगमन गरिएको बताए ।

‘पहिला खासै अनुगमन हुने गर्दैनथे, अहिले भने नियमित हुन थालेका छन्, यसले राम्रो गर्ने र गरिरहेका शिक्षकहरु उत्साहित छन्, खुसी छन भने अलि बढी बद्मासी गर्ने शिक्षकहरु अनुगमन शब्दबाटै तर्सेका पनि छन् ।’ उनले भने । सूर्यविनायक नगरपालिकाले पनि नियमित रुपमा विद्यालय अनुगमन गर्ने गरेको नगरप्रमुख बासुदेव थापाले बताए । उनले शिक्षालाई उच्च प्राथमिकतामा राखेर विद्यालयको भौतिक, शैक्षिक पक्षलार्य बलियो बनाउनका लागि शिक्षा शाखाका कर्मचारीबाट अनुगमन भइरहेको र त्यसको रिपोर्ट आफूले पाइरहेको बताउँदै भने, ‘भक्तपुर नगरपालिकाले शिक्षामा राम्रो गरिरहेको छ, त्यो ज्यादै राम्रो कुरा हो, हामी पनि हाम्रो नगरपालिकालाई भक्तपुर नगरपालिकामा रहेका विद्यालयजस्तै बनाउन चाहन्छौं, त्यस निम्ति अनुगमन गर्ने, निरीक्षण गर्ने काम भइरहेका छन् ।’

उनले शिक्षामा सुधारका लागि शिक्षकहरु नै बढी चनाखो र सक्रिय हुनुपर्ने बताउँदै बद्मासी गर्ने शिक्षकहरुलाई नगरपालिकाले कारबाही पनि गर्ने बताए । अनुगमनको क्रममा कोही शिक्षक ढिला आउने, चाँडै जाने, पूरा दिन नपढाइ जाने, राजनीतिक कार्यक्रममा जाने कामहरु भएको खण्डमा हामी तत्काल कारबाही गर्छौं, हामी शिक्षामा सम्झौता गर्नुहुन्न भन्ने भावनाका साथ अघि बढिरहेका छौं ।’

चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले पनि आफ्नो क्षेत्रका विद्यालयहरुको स्तरोन्नतिको लागि नगरपालिकाले काम गरिरहेको जानकारी दिए । पूर्व शिक्षक समेत रहेका मेयर मिश्रले भने, ‘जिल्ला शिक्षा कार्यालयमा शिक्षाको गुणस्तर कसरी विकास गर्न सकिन्छ, कुन कुन स्कुलको पाटिकुलर विषयको केके गर्न सकिन्छ भन्ने छलफल भएको मैले कहिले पाउँदिनथेँ । को शिक्षकलाई सरुवा गर्ने, कसलाई बढुवा गर्ने, कसलाई जिल्लान्तर सरुवा ल्याउने, के तालिम गोष्ठी, आएका तालिमलाई कसरी चलाउने जस्ता कुराहरुमात्र हुन्थ्यो, मसिनो अनौपचारिक कुुराकानी नै हुँदैनथ्यो । स्कुलमा पनि त्यो कुरा भएपछि कुनै पार्टीको पक्षमा लागिसकेपछि, कुनै नेताको कार्यकर्ता भइसकेपछि वा जिल्ला शिक्षा कार्यालयका कुनै कर्मचारीको आर्शिवाद, हाकिमको आर्शिवाद पाइसकेपछि, शिक्षकहरुले पनि राम्रो मिहिनेत नगरिदिने, यो खालको पनि एउटा समस्या हो, विधिविधान, नियमको हिसाबले अहिले उपयुक्त छ ।स्थानीय तहमा अधिकार आएपछि हिजोको भन्दा अलि बढी मिहिनेत गर्नुपर्छ, ज्यादा खट्नुपर्छ ।’

त्यसका लागि उनले अनुगमन गर्ने, सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि शिक्षण पद्दतिमा सुधार गर्ने, व्यवस्थापन समिति, शिक्षकले खास किसिमको अनुशासन कायम गर्नुपर्ने नीति बनाएको बताए ।

फोटो साभार: प्रेमगापाल कर्माचार्य

:612 Views

Leave a Reply