एकै खालका विद्यार्थी पोशाक : शिक्षामा सिन्डिकेटको संकेत

काठमाडौं । विभिन्न नगरपालिका तथा प्रदेश सरकारले विद्यालयमा एकै प्रकारको पोशाक लगाउने नीति शिक्षामा सिन्डिकेट भित्र्याउने तयारी भएको सरोकारवालाले बताएका छन् ।

माध्यमिक तहसम्मको शिक्षालाई समान बनाउने नाउँमा सिकाइको स्तरलाई समान नबनाइ पोशाकलाई समान गरिनुलाई शिक्षामा नयाँ तरिकाले सिन्डिकेट ल्याउने अभ्यास भएको विद्यार्थीको भनाइ छ ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघले काठमाडौं महानगरपालिका र प्रदेश ५ सरकारले सामुदायिक र निजी विद्यालयमा गरेको एउटै प्रकारको पोशाक लागुले ठेकेदारको सिन्डिकेटमा प्रोत्साहन पुग्ने र यसले स्थानीय व्यवसायी विस्थापना हुने ठहर गर्दै सो निर्णय विद्यार्थी केन्द्रित नभएर कपडाका ठेकेदार केन्द्रित भएको विज्ञप्तिमार्फत् जनाएको छ ।

संघले सो कार्यले प्रहरीलाई अपराध नियन्त्रण गर्न कठिनाई हुने जनाएको छ । नेपाली समाजको चिनारी नै विविधता रहेकोमा पोसाक एकरुपताले विद्यार्थीको साँस्कृतिक र सामाजिक विविधतामा असर पुगेको बताउँदै संघका अध्यक्ष सविन ख्वाजूले विज्ञप्तिमार्फत् भनेका छन्, ‘एकै खालका पोसाकले भष्टाचार र कमिशन उत्साहित हुन्छ र ठेकेदारको प्रभुत्वका कारण शिक्षा क्षेत्र भताभुङ्ग हुन्छ ।’

समान विद्यार्थी पोशाकले स्थानीय व्यवसायीलाई ठूला कम्पनीले विस्थापन गर्ने सम्भावना बढ्ने भएकाले यसलाई जोड नदिई प्रदेश र स्थानीय सरकारले शिक्षालाई पूर्ण रुपमा निःशुल्क र अनिवार्य गर्न जोड दिनुपर्ने संघको माग छ ।

:319 Views

Leave a Reply