रोगबाट बच्न सानैदेखि खेल आवश्यक

काठमाडौं, १ पुस। एथलेटिक्स खेलका पहिलो गोल्ड मेडलिस्ट एवं खेलाडी जीतबहादुर केसीले अहिलेको समयमा रोग र मोटोपनाबाट बच्न बालबालिकालाई सानै उमेरबाट खेलकुद खेलाउन आवश्यक रहेको बताएका छन् ।

एसियन खेलअन्तर्गत एथलेटिक्समा नेपालका लागि पहिलो गोल्ड मेडल दिलाउन सफल केसीले पढ्नको लागि खेलकुदले सहयोग गर्ने बताउँदै खेलकुदले मानसिक रुपमा पनि स्वस्थ राख्ने जानकारी दिए। नियमित खेलकुद र शारिरीक व्यायामका कारण आफूले अहिलेसम्म कुनै औषधी सेवन गर्नु नपरेको अनुभव सुनाउँदै उनले अहिलेका समयमा बढेको खानपानको सिकारमा बालबालिका परिरहेको बताए।

नेपाल मन्टेस्वरी एशोसिएसनले शुक्रबार आयोजना गरेको ‘खेलकुद मेला’ मा उनले स्वस्थ रहन समय–समयमा खेलकुद प्रतियोगिता हुनुपर्नेमा जोड दिए।

आयोजक एशोसिएसनका अध्यक्ष पवित्रा लिम्बुले खेलकुद शारिरीक क्रियाकलाप मात्र नभएर भावनात्मक र सामाजिक क्रियाकलाप पनि रहेको बताइन्। खेलकुदले बालबालिकामा मित्रता बृद्धि हुने भएकाले खेलकुद जरुरी रहेको उनको भनाइ छ। मेलामा ५० मिटर दौड, अबस्टेकल दौड, रिले दौड, बेलुन फुटाइ, पेपर पेजिङ र फिलिङ द बोतल गरी ६ वटा खेल गराइएको थियो। स्पर्धामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई मेडल प्रदान गरिएको थियो।

कार्यक्रममा मन्टेस्वरी किन्डरवल्र्डले सबैभन्दा बढी मेडल पाएका थिए भने त्यस पश्चात क्रमशः बेबी भिला मन्टेस्वरी र फेरिल्याण्ड मन्टेस्वरीले धेरै मेडल पाउन सफल भएका थिए।

उपत्यकाव्यापी खेलकुद स्पर्धामा काठमाडौंबाट ९,ललितपुरबाट ८ र भक्तपुरबाट ६ गरी जम्मा २३ स्कुलको सहभागिता थियो ।

:436 Views

Leave a Reply